सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नववर्ष अभिवन्दना (पौने दुईदर्जन कविता)

Nepal Telecom ad

नववर्ष २०७१ को मङ्गलमय शुभकामना व्यक्त गर्दै फित्कौली डटकम वैशाख १ गतेको यो शुभ्र बिहान प्रस्तुत गर्दछ सष्टाहरूका शब्द सिर्जना

 

००००००००००००००००

ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
प्रल्हाद पोखरेल
मनप्रसाद वाग्ले
देव भट्टराई
लीला उदाशी
रमेश पोख्रेल
गणेश घिमिरे ‘मार्मिक’
नवीन बन्धु पहाडी
वेदमणि घिमिरे
गोवर्धन पूजा
लिलाराज कार्की
हिरा सर्वनाम
नम्रता गुरागाइँ
सुरेश आर. कटवाल
रमेशचन्द्र घिमिरे
देव सागर
आनन्द श्रेष्ठ
चर्चित ढुङ्गेल
ज्ञाननिष्ठ ज्ञवाली
चूडा निर्भीक
दुर्गाप्रसाद ग्वालटारे

००००००००००००००००

 

नयाँ वर्षको शुभकामना : ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

आयो वर्ष नयाँ भयो अब नयाँ झन् झन् भयो झन् नयाँ
सारा सृष्टि नयाँ र सिर्जन नयाँ सत्प्रेरणा भो नयाँ
छायो हर्ष नयाँ उमङ्ग मनमा आशा– भरोशा नयाँ
धर्ती भो हरियो नयाँ, कुसुमले शृङ्गार भर्दा नयाँ ।।१।।

गर्ने काम नयाँ बने मगजमा झन् योजना भो नयाँ
भर्ने लक्ष्य नयाँ हुँदा अझ नयाँ फेर्ने पुरानो नयाँ
हेर्ने दृष्टि नयाँ समग्र दुनियाँ–सिद्धान्त आयो नयाँ
फेर्ने जीवन भो, विचार र नयाँ आदर्श उस्तै नयाँ ।।२।।

खेल्ने खेल नयाँ र उन्नति नयाँ गर्ने इरादा नयाँ
बोल्ने बोल नयाँ वसन्त धुनको आयो जमाना नयाँ
चल्ने चालसमेत भो जब नयाँ इच्छा अनेकौं नयाँ
आकाङ्क्षा दिलमा हजारथरि भो संसार हेर्ने नयाँ ।।३।।

लागे पात नयाँ भए तरु नयाँ झर्दा पुराना नयाँ
खोला, खोंच, नदी बगे हुन नयाँ झाडी विराना नयाँ
पानी, घाम नयाँ हुँदै दिन तथा राती भए झन् नयाँ
तारा व्योमविषे नयाँ, जलपले शोभा भए चन्द्रमा ।।४।।

फुल्दा फूल नयाँ, उने कुसुमले बुट्टा नयाँ बान्किला
वर्षा–बादल भो नयाँ प्रकृतिमा खुल्दा सुनौला छटा
बल्दा दीप नयाँ, बढे हिमचुली, धप्के धरा धप्धप
भर्दै रङ्ग उषा झरिन् धरणिमा भो मङ्गलै–मङ्गल ।।५।।

निद्रा भङ्ग भयो, तरङ्ग मनका उक्ले उँभो द्यौस्थल
पूर्णे झल्मल देखिए गगनमा फाटे घना– बादल
चारैतर्फ बढाइँ भो धुनसँगै बाजा बजे नौमती
लाए मानिसले बसेर दिलमा एकान्तमा पीरति ।।६।।

जो जो वृद्ध थिए असक्त दुनियाँ फर्के जवानीतिर
लागे बालक–बालिका हुन नयाँ आकाश बोकी शिर
रोगी मानिस ठीक भैकन उठे आयो नयाँ जाँगर
गर्ने देश विकास भो मनसुवा लौ हेर चारैतिर ! ।।७।।

पृथ्वी टक्क अडिन्, घुमी पलकमा मारेर फन्को सरिन्
इच्छा शान्ति फलाउने मन हुँदा सङ्कल्प नौलो गरिन्
प्राणीमाथि दया भरेर करुणा वर्षासँगै ओर्लिइन्
आफैं स्वर्गसरी भएर धरती झन् स्वर्गबाटै झरिन् ।।८।।

हामीबाट बिदा भएर अहिले गैगो उसै सत्तरी
लाग्दो साल छ एकहत्तर नयाँ छाएर धर्तीभरि
ल्याओस् शान्ति र संविधान पहिलो स्थायी गरोस् निर्णय
भन्ने यो शुभ–कामना दिउँ भनी मैले गरें उत्तर ।।९।।

महाकवि देवकोटा आश्रम, काठमाडौं ।

00000

 

विभेदपूर्ण नयाँवर्ष : मनप्रसाद वाग्ले

तिम्रो घरको छाना चिल्लो मेरो घरको फुस,
मलाई खाने पानी छैन तिम्रो घरमा जुस ।

तिम्रा बच्चा बोर्डिङ पढ्छन् मेरा झुत्रे स्कुल,
मेरा बच्चा ढुङ्गेधारा तिम्रा स्विमिङ पूल ।

एक महिनाको तिम्रो खर्च मेरो एक जुग,
झुत्रा लुगा टाल्दै लाउँछु तिमी पाइन्ट सुट ।

रुघा मात्रै लाग्दा पनि डाक्टर तिम्रा घरमा,
मेरा भने मर्नै लाग्दा स्वास्थ्य चौकी भरमा ।

ठूला ठूला डिपार्टमेन्टल स्टोर धाउने तिमी,
म त दैनिक ब्यस्त हुने गुन्द्रुक भटमास सिमी ।

कुनै कुरा मिल्दा छैनन् छाना नाना खाना,
नयाँ वर्ष के को हर्ष कुन शुभ कामना ।

काठमाडौं

00000000

 

नववर्षको शुभकामना !: देव भट्टराई

एकाएक अचम्म आज घरमा पात्रो नयाँ झुण्डियो
आयो वर्ष नयाँ अरे शिव हरे कस्तो अनौठो छ यो
पात्रोले नववर्ष ल्याउँछ यहाँ बेला छ यो हर्षको
साथी हो शुभकामना छ सबमा नौलो नयाँ वर्षको ।

बग्रेल्ती शुभकामना हरघडी बाँड्छन् टिभी रेडियो
छापा पत्र र पत्रिका जति सबै रङ्गीन भो रङ्गियो
चर्चा यै छ जताततै सुरसिलो बेला छ यो हर्षको
साथी हो शुभकामना छ सबमा नौलो नयाँ वर्षको ।

ब्याई गोरु दिनेछ दूध रसिलो हट्नेछ बाँझोपन
बोकाले पनि जोत्दछन् अब यहाँ बढ्नेछ उत्पादन
क्या मीठो सपना छ मित्र जनको बेला छ यो हर्षको
साथी हो शुभकामना छ सबमा नौलो नयाँ वर्षको ।

मिल्छन् बाँदर बाघ भालु चितुवा भेडा र बाख्रा यहाँ
साझा सुन्दर संविधान यिनले पक्कै दिनेछन् नयाँ
मान्छेको सपना छ क्या गजबको बेला छ यो हर्षको
साथी हो शुभकाना छ सबमा नौलो नयाँ वर्षको ।

सक्छौ देख्न अभूतपूर्व सपना तिम्रो ठुलो आँट छ
इच्छा जो छ अचम्मको अब छिटै पूरा हुने छाँट छ
देखेको सपना सही ठहरिने बेला छ यो हर्षको
साथी हो शुभकामना छ सबमा नौलो नयाँ वर्षको ।

लमजुङ, हाल : अमेरिका

00000000

यो नयाँ वर्ष : लीला उदाशी

स्मृतिहरूका डोबमा
अनेक नयाँवर्षहरू
अलपत्र परेकाछन्–
तिनलाई चढाएका
उत्साहहरू, स्वागतहरू, फूल–माला र अविरहरू
रोगन खुइलिएको, जवानी भिडकिएको र बैंश पनि अतित भएको
कान्लाको सुकेको बूढो रुख जस्तै
अलपत्र छन्–
दुलही बनेर आएको
बैशाख– टिकेन
पल भरमै
फुङ्ग उडेको चैत बनेर–बाहिरियो
मुलुक सम्भ्रान्त बनाउने
शुभकामनाको खेती
सधैं भयो
तर सधैं बिपन्नता फल्यो
जे भने पनि मुलुकमा
इमानका बेर्नाहरू सरेनन्
जे सुकै बाली लगाए पनि
केही फलेन
न संविधान बन्यो !
न नेताहरूलाई अलिकति इमानको पोष लाग्यो !
न सद्चरित्रको हुने होस जाग्यो !
केही पो भएन त
फगत जर्जर भयो ।

त्यसैले–
यसपल्टको नयाँवर्षलाई–
मेरो सलाम छैन,
स्वागत छैन,
यसपल्टको नयाँवर्षप्रति
मेरो विश्वास छैन
आउने वर्ष
मलाई नयाँवर्ष जस्तै लागेको छैन ।
आदरणीय मित्रहरू !
माफ गर्नुहोला
हरेक नयाँ वर्षहरूमा
शुभकामना बाँड्दा बाँड्दा
रित्तिएर हो कि किन ?
यसपल्ट–
मलाई शुभकामना भन्न पनि
मन लागेको छैन ।

चन्द्रगढी, झापा
(गतवर्ष नै लेखिएको कविता)

00000

 

शुभकामना : रमेश पोख्रेल

समृद्धि होस् मुलुकको शान्ति छाओस् देशमा
हाँसी खुसी बाँच्न पाइयोस् नयाँ परिवेशमा
सगरमाथासरि आस्था, निष्ठा नि चुलियोस्
चट्टान झैँ अनुशासन सदैव खडा होस् ।

हत्या, हिंसा, अपहरण हुँदै नहुन् कहिल्यै
सबै जाति, भाषा, धर्म एक ढिक्का हुन् जहिल्यै
अखण्ड होस् देश भन्ने जन भावना छ
फेरि आयो नववर्ष शुभ कामना छ ।
हाल :काठमाडौं

00000000

 

नयाँवर्षको शुभकामना !! : गणेश घिमिरे ‘मार्मिक’

सत्तरी साल गै आयो नेपाली नववर्ष यो
सुख, शान्ति र समृद्घि बोकी सन्देश हर्षको
पुरानै वर्षमा जाउन् गरीबी, दुःख, सङ्कट
संविधान बनोस् राम्रो समावेशी अकण्टक ।

जातीय द्वन्दमा फेरि नफसोस् साल क्यैगरी
भ्रातृत्व भावमा आओस् सधैँभन्दा बढोत्तरी
बिसाई द्वन्दको भारी सुल्झाउँँ सब दुष्कर
नेपालै नरहे कोही नेपाली बन्न सक्छ र ?

नेपाली जनका निम्ति सुरक्षा र सुशासन
विहानी लालिमा जस्तै झुल्कियोस् सब आँगन
मुस्कुराउन् सबै मान्छे प्रफुल्ल हुन् सबै मन
यो नयाँ वर्षमा जागोस् सबैमा शुभ–चिन्तन ।

संघर्षशील भै धर्म, स्वाभिमान बचाउने
राष्ट्र, राष्ट्रियता निम्ति रातो झण्डा उठाउने
सिर्जनाकर्मका योध्दा स्रष्टामा अभिवन्दना
यो नयाँ–वर्षका भागी सबैमा शुभ–कामना !

साना ठूला सबैलाई भेदभाव कतै नहोस्
गणतन्त्र पनि सारा जनका पक्षमा रहोस्
मिलोस् शक्ति सबैलाई दुःखकोे गर्न सामना
दीर्घायु, सुख, समृद्वि, शान्तिको शुभकामना !

काठमाडौं

00000000

 

शुभेच्छाका आँकुरा बोकेर : नवीन बन्धु पहाडी

(नयाँ सम्बतका २०७१ को हार्दिक शुभकामना सहित)

जून चुहिएर लछ्प्रै उज्यालो पोखिएजस्तो
कैलेकाहीँ सखारै घाम छरिएर पाखाभर
बिहानी चहक झल्मलाएजस्तो
बोकेर कताकती
समयले सपनाको बैश
नयाँ पात पाउलिएर मुचुरका
एकाबिहानै
तरुना तन्नेरीहरूको
इन्द्रेनी जवानी जस्तै
फुलेर ढकमक्क मनको बारीमा
फुलिदिएको छु एक झुप्पो गुराँस शुभेच्छाका आँकुरा बोकेर
स्युरिदिनु है चुल्ठा र कन्सिरीहरूमा
झपक्क फुलून्, वर्षैभर
जीवन जाइजुहीहरू
दिलका अन्तरकुन्तहरूमा
म अन्जुलीमा उबाएर
खुसीका शब्द सयपत्रीहरू
छरिरहन्छु बैशाखको दैलो उघारेर ।

धादिङवेसी

00000000

 

नयाँ वर्षको शुभकामना : वेदमणि घिमिरे

आयो वर्ष नयाँनयाँपन लिई जाओस् बनाई नयाँ
सारा सृष्टि नयाँनयाँ प्रकृतिको सौन्दर्य छाओस् नयाँ ।
नेपाली सबको बनोस् मन नयाँ उत्साह छाओस् नयाँ
तारा चन्द्र र सूर्य झैँ अटल भै नेपाल जागोस् नयाँ ।।

कालो वादल देशको जटिलता वैविध्य वैषम्यता
नाना जात र पातका कुटिलता अज्ञानको अन्धता ।
जाओस् दूर अझै अझै पर पुगोस् यो वर्षमा प्रष्टतः
छाओस् वैभव पालुवा घरघरै आशा पलाओस् स्वतः ।।

नेपाली जनको मुहार हँसिलो यो वर्ष ल्याओस् नयाँ
आऊन् राष्ट्रियभावमा सबजना होस् एकता नै नयाँ ।
चाँडै होस् नव संविधान सजिलै जीवन्तता होस् नयाँ
सिंगो राष्ट्र पुगोस् नयाँ प्रगतिमा होस् एकढिक्का नयाँ ।।

नेपाली कविता पुगोस् शिखरमा आशा उदाओस् नयाँ
भाषाभेष र सभ्यता जगभरी फैलाउँने होस् नयाँ ।
नेपाली उपन्यास कञ्चन कथा छानाभरी फैलियोस्
आभा वर्षिरहोस् नयाँ गजलको सञ्जीवनी गीत होस् ।।

साँचो नाटक चुट्किला चुलबुले पानाभरि सुक्तक
छोटा नैतिक मूल्यका गहकिला वाणीभरी मुक्तक ।
ल्याओस् वर्ष नयाँनयाँ प्रगतिको ढोका खुलावोस् नयाँ
देशै स्वस्थ बनाउँदै अघि बढोस् यो वर्ष झन् होस् नयाँ ।।

काठमाडौं

00000000

 

चैतको अन्तिम दिन : गोवर्धन पूजा

पालुवा पलाउन थाले पनि
निरस हाँसोको पाखोजस्तै मुहार लिएर
आशाको असार पर्खेको
यो चैतको अन्तिम दिन र
फूलका कोपिला कोपिलामै
अडिएको जीवन–क्षण
काँडाका मृत्यु चित्रहरू
हुरीका गुफाभित्र
कैदी बनेको मित्रता र
आगो नजीकको नौनी या मैन
घामको हत्केलामा बिलाउँदै गरेको हिमांशु
गुरुत्वाकर्षणको हस्तछेपले
बिच्किएका पतकरहरू
सबैसबै समयको सहनाई बजाउँदै
जीवनगीत गाइरहेका यात्रीहरू र
हिँड्नुको न कुनै सिमाना छ
न पुग्नुको कुनै बिश्रामस्थल
भाँचेर वृक्षको हाँगो
झारेझैं हुरीले
लाछिएर आफै खसेझै भुँईमा र
हरेक रातले आत्महत्या गरेपछि
हरेक दिनले चोखिन श्राद्ध गरेझैँ
निरस तर रस पर्खेको
यो समय
नयाँवर्षले तोड्ने पर्ने
समयको अन्तिम चक्रव्यूह
चैतको अन्तिम दिन… !

बोस्टन, अमेरिका

00000000

 

नयाँ साल तिमीलाई ! : लिलाराज कार्की

स्वागतम्
स्वागतम् छ स्वागतम् नयाँवर्षलाई
नयाँ नौलो जोश देओस् यसले यहाँ आई
थकित भई बसेका सब जुर्मुराई उठुन्
छरपस्ट भएका ती एक भई जुटुन् ।

निदाएका पन्छीहरू चिरबिर कराउन्
आपसका दुरीहरू सबै हराउन्
हलो जोत्ने किसानको बालि फलोस् फुलोस्
हाँसीखुसी उमङ्गले सिङ्गै देश झुलोस् ।

स्वस्थ रहुन् नदी–नाला पहाड र हिमाल
गीत गाउँदै नाचिरहुन् पन्छी डाँफे–मुनाल
सोचेभन्दा बढी मिलोस् नयाँ सालभित्र
विश्व मानचित्रमा नेपाल शान्ति क्षेत्र ।

एकै ढिक्का गरी सबल बनाऊ हामीलाई
मुटुबाटै स्वागत नयाँ साल तिमीलाई ।
झापा, हाल: जर्मन

00000000

 

बसन्त आगमन : हिरा सर्वनाम

चर्को चल्छ हुरी उदास झुपडी आकाशमा बादल !
खै ? चर्दैन चरी निरीह–नगरी डाली भरी काफल !!
लाखौं फूल छरी वसन्त पगरी उन्दै गरेको पल !
आ–आफ्नै दिल बज्छ बन्छ कविता चाहिन्न भो मादल !!

डाँफे नाच छिटो वसन्त वनमा क्वैली बजा मादल !
छर्दे कोमल शान्ति–भाव जगमा मेची र काली जल !!
प्यारा पुष्प फुलुन् नयाँ सफलता, ऐश्वर्य, आनन्दका !
साथी लौ शुभकामना छ दिलको शार्दूल यो छन्दमा !!

धनगढी

0000000

 

केमा खुसी हुनु खै : आर. आर. चौलागाईं

हाम्रो मन भत्किएको छ केमा खुसी हुनु खै !
घाउ पुनः बल्झिएको छ केमा खुसी हुनु खै !
यो नयाँ वर्ष यस्तै रहेछ हामी कहिल्यै रमाउन पाएनौँ
पात्रो मात्रै फेरिएको छ केमा खुसी हुनु खै !

हेटौडा, मकवानपुर

 

0000000 

 

नयाँवर्ष मङ्गलमय बनिरहोस् : नम्रता गुरागाइँ

आजदेखि हाम्रो कलमले
शब्दहरूका झुण्डलाई मन्थन गरेर
वाक्यबाट विजुली निकाल्नु पर्छ
सम्भावनाका एक्जिटहरू
यतैकतै लुकेका छन्
आउनुहोस्
उज्यालैमा आशाको स्टेरिङ समाउनु पर्छ ।
सबै सबैमा नयां जोस र जाँगरको विकास होस्…
नयाँवर्ष हार्दिक र मङ्गलमय बनिरहोस् ।

हाल: अमेरिका

00000000

 

गयो सत्तरी, आयो एकहत्तर : सुरेश आर. कटवाल

गयो
उत्पात मच्चाएर
साँढेहरू कज्याएर
बेतमासले उड्दै
अनि अलिकति धकेलेर
एउटा खाडल खन्दै
एउटा खुड्किलो भर्याङमुनि
ईटाकार अट्ने गरी
त्यो दुई हज्जार सत्तरी ।

आयो
गोरु नारिए जस्तै
जुवा छ हलो छैन
हलो छ हली छैन
हली छ बिउ छैन
बिउ छ काम छैन
काम छ किसान छैनन्
राहदानीमा ठप्पा लगाउँदै,
नेपाल छ नेपाली छैनन्
धन्न संसार छैन तर मेरो देश छ,
स्विजरल्याण्ड बनेको छ
सबै स्विस बनेका छन्
नेपाली बन्ने कोही छैनन्
सायद यस्तै भन्नु हुन्छ
मेरो दुई हजार एकत्तरले ।

झापा

00000000

 

नयाँ वर्ष  : रमेशचन्द्र घिमिरे

बढ्न नछोड्ने अभावसित भिड्नु पर्ने
घट्न नजान्ने महङ्गीसँग लड्नुपर्ने
यो बेला सङ्घर्षको हो
उमेर छोटिँदा पनि रमाउनै पर्ने
अलिकति बूढो हुँदा पनि हाँस्नै पर्ने
यो समय हर्षको हो
आखिर जेसुकै भए पनि
तँ, तिमी, तपाईं, हजुर
सबैलाई शुभकामना नदिई नहुने
सबैबाट शुभकामना नलिई नहुने
यो बाध्यता नयाँ वर्षको हो ।

भोर्लेटार, लमजुङ

00000000

 

मन रमाओस्, नयाँ वर्षमा : देव सागर

सबको ओठमा खुशी छाओस नयाँ वर्षमा
अधुरा काम बन्दै जाओस् नयाँ वर्षमा ।

देश बनाउन्, नलागेर कुर्सी मोहमा
ती नेताका बुद्धि आओस् नयाँ वर्षमा ।

मुगू, डोल्पा, कर्णालीका भोका नाङ्गाले
पेटभरी खान पाओस् नयाँ वर्षमा ।

जहानमा वर्षैभरी खुसीयाली छाओस्
तन रमाओस्, मन रमाओस्,नयाँ वर्षमा ।
कामना छ यही मेरो, प्याराहरूमा
गजलको वर्षा ल्यओस्, नयाँ वर्षमा ।

स्याङ्जा, हाल :कोरिया

00000000

 

देश यो मुस्कुराओस् : प्रल्हाद पोखरेल

उदाई नयाँ सूर्यको तेज आज
जुरुक्कै उठोस् यो सुतेको समाज
युवाशक्तिको जोसमा होस आओस्
नयाँ वर्षमा देश यो मुस्कुराओस् ।

नयाँ भावना गीतमा गुन्गुनाऊँ
नयाँ काव्य–भाषा सभामा सुनाऊँ
नयाँ वर्षमा आइलाग्लान् चुनौती
समस्या समाएर टाढा भगाऊँ ।

नहोस् देश अन्योलको राजधानी
बनून् देशवासी सबै स्वाभिमानी
भगाएर आलस्यको सुस्त बानी
युवा–भावनासाथ जागोस् जवानी ।

हाल: चरिकोट दोलखा

00000000

 

 नयाँ वर्षको शुभकामना : चूडा निर्भीक

फेरिएर पुरानो त्यो नयाँ साल भयो शुरु
केवल मिति पात्रामा नविन लेखियो गुरु ।

यो वर्ष नयाँ भई आए हुने विकास लीकन
पर्खिबस्यौ सँधै हामी खुशी बन्छ कि जीवन ।

मेरो देश बनोस् धेरै परिपूर्ण र सुन्दर
आशा लिएर बाँच्दैछु अहो बनेन यो तर ।

जसरी पात फेरिन्छ पलाई नव मन्जरि
फेरिउन् नयाँमा थोत्रा विचार ति उसैगरि ।

प्रगति पथमा लम्कि दुवोसरि त भैकन
उन्नतिका उकालामा बढौं हामी सबै जन ।

गीत गाउँछ कोईली निकालेर मिठो स्वर
आयो बैशाखको मैना सुवास चल्छ हर्हर ।
फूल फुल्दछ बागैमा रंगीन बन्छ जीवन
छ शुभकामना धेर खुशीमा डुब्नु रे मन ।

00000000

 

नयाँ पात्रो समाउँदै : आनन्द श्रेष्ठ

आयो आयो रमाउँदै आयो नयाँ वर्ष
नयाँ पात्रो समाउँदै आयो नयाँ वर्ष

हुने खाने उफ्रिएलान् हुँदा खाने रोलान्
ऋणको भारी थमाउँदै आयो नयाँ वर्ष

शून्य हुँदा पुरानो साल हातमा लाग्यो शून्य
पछाडि एक कमाउँदै आयो नयाँ वर्ष

कति बिक्ला मदिरा र नशा थरि–थरि !
फ्रिजमा बरफ जमाउँदै आयो नयाँ वर्ष ।
काठमाडौं

00000000

 

 

किन आम्छ यो: चर्चित ढुङ्गेल

छोराछोरीले बुवाआमा
श्रीमानले श्रीमती

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’