साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Untitled

Nepal Telecom ad

श्री रमेश खरेलजी !

प्रस्तुत विषयमा एमालेजस्तो प्रगतिशील, अग्रगामी, सामन्तवादको प्रखर विरोधी कम्युनिस्ट पार्टीका वरिष्ठ उपाध्यक्ष, चर्चित नेता कमरेड वामदेवलाई तिमीले चिनेका छैनौ होला भनेर विश्वास गर्न सकिन्न। पटक-पटक सांसद, सभासद्, मन्त्री र उपप्रधानमन्त्री भएका उहाँ पुराना प्रभावशाली र हक्की स्वभावका हुनुहुन्छ। गएको संविधानसभामा दुई-दुई ठाउँबाट चुनाव जितेपछि त उहाँको व्यक्तित्व र महत्त्वाकांक्षाले शिखर छोएको छ। उहाँ गृहमन्त्री र उपप्रधानमन्त्री मात्र होइन, निकट भविष्यका स्वघोषित प्रधानमन्त्री पनि हुनुहुन्छ। त्यस्ता भीमकाय व्यक्तित्व गृहमन्त्री भएको दुई महिना बितिसक्दा पनि तिमीले अझै उहाँलाई भेटेर दर्शन टक्र्याएका छैनौँ भन्ने कुरा स्वयं मन्त्रीज्यूको मुखारविन्दबाट सुन्नुपर्दा हामी सम्पूर्ण नेपाली जनता लज्जित एवं आश्चर्यचकित भएका छौँ। धिक्कार छ तिमीलाई।

गृहमन्त्री कमरेडलाई दुनियाँले भेटिसके, तिमीले तर्साएकाहरूले भेटिसके। अख्तियारले अत्याएकाहरूले भेटिसके। लालबाबुले ललकारेकाहरूले पनि भेटिसके। कालाबजारीहरूले भेटिसके, डनहरूले भेटिसके, पाकेटमारहरूले भेटिसके। तस्करहरूले, ठगहरूले, डीभीवालाहरूले, पीआरवालाहरूले, घुस्याहा, चुसाहा सबैले भेटिसके। उनका सामु धेरैले रोइकराइ गरसिके। सरुवाका लागि बिन्ती बिसाइसके, बढुवाका लागि पाउ मोलिसके, ठेक्काका लागि चिल्लो घसिसके, रिहाइका लागि रुवाबासी गरसिके, सबैले सबै थोक भ्याइसके। तिमी लन्ठू त अहिलेसम्म भेट्न पनि पो गएका रहेनछौ। तिम्रो कस्तो मूर्खता ! कस्तो घमन्ड ! जो भो सो भो ! अब ढिलो नगर, अब कमरेडलाई दर्शन टक्र्याउन जाऊ। गइहाल।

तिमीलाई थाहै होला, गृहमन्त्रीको राज कि सिंहदरबारमा हुन्छ कि मन्त्री निवास पुल्चोकमा। पुल्चोकै जानू। पुल्चोकमा जाँदा उहाँलाई सपरिवार भेट्न पाइन्छ। त्यहाँ उहाँको बेडरुम हुन्छ, किचन हुन्छ, उहाँका नातागोताका मानिस हुन्छन्। त्यहाँ भेट्दा उहाँबाट माफी पाइने सम्भावना ज्यादा हुन्छ।

भेट्न जानुअघि हनुमानढोकाअगाडिको हनुमानको मूर्ति परिक्रमा गर्नू र आफूमा अपार हनुमानगिरी प्राप्त होस् भनेर प्राथना गर्नू। हनुमानढोकाबाट निस्किएर वसन्तपुरस्थित दुग्ध विकास संस्थानको दुग्ध उत्पादन बिक्री कक्षमा जानू, त्यहाँ रसवरी, लालमोहन, घिउ आदि स्वादिष्ट परिकारहरू पाइन्छन्। स्पेसल दही र चिज पनि लिनू। त्यहाँबाट सोझै कमलादीमा रहेको गिफ्ट पसलमा पुगी महँगा, आकर्षक र बजारकै राम्रा बुके र कलरफुल खादा खरदि गर्नू। खसीको ताजा मासु, बासमती चामलको बोरा इत्यादिको झमेला यसपालि नगर्ने होला, विचार गर्नू। यति गरेपछि सोझै मन्त्री निवास पुगेर गाडी रोक्दा हुन्छ।

मन्त्रीज्यूका निवासबाहिर भेटिएका भुसतिघ्रेहरूलाई डन सम्झिएर आँखा नतर्नू। मन्त्रीज्यूका सहयोगी कार्यकर्ता सम्झिएर नमस्कार गर्नू। रुन्चे हाँसो हाँस्दै हात मिलाउनू र मन्त्रीज्यूको दर्शन गर्न आएको भनेर बिन्ती गर्नू।

धेरै बेर पर्खिएपछि उहाँ आउनुहुनेछ। उहाँ अग्लो, गोरो, मोटो ठूल्ठूला पिँडुला र पाँसुला भएका अजंगको हुनुहुन्छ। राताराता ठूला गाला, मोटो गर्धन, झट्ट हेर्दा कुनै ठूला जिमिनदारजस्तो हुनुहुन्छ, तिमीले चिनिहाल्छौ। हत्तपत्त खादा र पुष्पगुच्छा अर्पण गर्नू र भुइँ नै भत्केलाजस्तो गरेर बुट बजार्नू, नसै छिन्लाजस्तो गरेर हात तन्काउनू र अदबका साथ स्यालुट दन्काउनू। त्यसपछि आफू नबोल्नू, उहाँले जे जे भने पनि हजुर हजुर भन्नू, हस् हस् भन्नू, ज्यू ज्यू गर्नू, गर्छु हजुर, छाड्छु हजुर, समाउँदिनँ हजुर, बोल्दिनँ हजुर, मान्छु हजुर भन्नू। उहाँका अगाडि लुगलुग काम्नू, बल्लतल्ल पिसाब थाम्नु र जसोतसो फर्किएर आउनू।

हाम्रा गृहमन्त्रीज्यूले खोज्नुभएको त्यस्तो इमानदार एसएसपी हो खरेलजी, तिमीजस्तो खडजंगे होइन। ख्याल गर्नू। जागिर बचाउनू ।

\’नेपाल\’ अंक ५९१,०७० चैत्र ३०

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x