मीनप्रसाद लामिछानेसांसद मन्त्री संवाद
सांसद– १
बाढी पहिरोमा पर्नेहरूले राहत कति पाए ?
घरबार बिहीनले भन के के खाए ?
मानव अधिकारवादीहरूबाट मन्त्री किन तर्से ?
उनीहरूका जुलुशमाथि लाठी किन वर्षे ?
मन्त्री–
पहिले प्रश्नको उत्तर ने. टि. भी. मा आ’को छ,
घरबार बिहीनहरूले आश्वासन पा’को छ ।
मानव अधिकारवादीहरूले मन्त्री अधिकारलाई बिर्सिए
पुलिसको लाठी खान स्वयम् आफै तम्सिए ।
सांसद– २
के सत्य हो सांसदका पेन्सन काट्ने कुरा ?
के सत्य हो उनीहरूका तलब र भत्ता घट्ने कुरा ?
के अब सांसदहरू जोगी हुने हो कि ?
हामी सबै डाँको छोडी रुनै पर्ने हो कि ?
मन्त्री–
सांसदको पेन्सन काट्ने सोह्रै आना झुठ हो,
तलब भत्ता घट्दैन यो त ब्रह्मलुट हो
जोगी होइन मान्नेज्यू भोगी हुने बिल आउनेछ,
पर्दैन रुन धक फुकाएर हाँस्ने दिन आउने छ ।
सांसद– ३
विदेशको भ्रमणमा मन्त्री ज्यू मात्रै किन ?
हाम्रो पनि अधिकार हो लुटमा सामेल हुन ।
लाखौँ खर्च चुनावमा हाम्रा पनि भा’छन् ।
हाम्रा पनि परिवार मुख बाई रा’छन् ।
मन्त्री–
अब हुने भ्रमणमा बाँडी चुँडी खाउँला,
ठेक्का, घुस, कमिसन सबैलाई दिउँला ।
पाँच बर्ष हाम्रो म्याद यति कुरा बुझौँ
हल्ला सबै बन्द गरौँ चुपचाप लुटौँ ।
सांसद– ४
जागिरमा सांसद कोटा तोक्न किन ढिलो ?
भन्सारको संसारमा लाग्ने पर्छ बिलो ।
मन्त्री मात्रै नेता होइनन् सांसद पनि नेता,
चुनाबमा सिद्घेका छन् हाम्रा पनि जेथा ।
मन्त्री–
जागिरमा नेता कोटाको कानुन अब बन्छन्,
भन्सारमा सांसदकै मान्छे मात्र जम्छन्
हामी त होइन हजुर तपाईं ठूलो नेता,
यहाँकै आडमा जोडेका हौँ हाम्ले पनि जेथा ।
सांसद– ५
जनतालाई झैं हाम्लाई ढाँट खबरदारी गर्छौं,
अब पनि नटेरे त विरोधी नै बन्छौँ
छिटो लगाऊ मन्त्रीज्यू सांसदको भाग,
होइन भने राख्नु पर्ला पुर्पुरोमा हात ।
मन्त्री–
सत्य सत्य सांसदज्यू अब ढाँट्ने छैनौँ,
तपाईं सबका वचनलाई कहिल्यै काट्ने छैनौँ
बिन्ति गर्छौँ विरोधी त बन्नु हुन्न हुन्न,
‘लखनौ लुट’ मा भुइँचालोलाई पस्न दिनु हुन्न ।
सांसद– ६
सयल गर्छौ तिमी सधै हाम्लाई भने भोलि
अब पनि नटेरे त भिराइ दिन्छौँ झोली
मन्त्री–
तपाई मारे हत्ते हजुर हुनेछैनौ ढिलो,
हाम्रा सबै लुटानलाई लगाईदिन्छौँ बिलो ।
गोरखा
Subscribe
Login
0 Comments
Oldest






































