साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरक्षा

Nepal Telecom ad

पुरानो बसपार्कमा उत्रिँदा साँझको नौ बजिसकेको थियो । विशालनगर जाने टेम्पो खोज्न धरहरा जानु पर्छ । त्यो पनि यति बेला कहाँ पाउन सकिन्छ र ? पैदल जाने हो भने एक घण्टा लाग्दछ । समयभन्दा पनि सुरक्षाको कुरा छ । कसैले बाटोमै लुटिदिन सक्छ । आजकाल के भरोसा छ र ? ४/५ सय रुपियाँ गोजीमा छ, घडी बाँधेको छु । यसको पनि सुरक्षा हुनै प¥यो । भएन, टेक्सीमै जान्छु भनेर सडकमा निस्केँ । टेक्सी खाली रहेछ । नजिकै गएर सोधें–
“ड्राइभर साहव विशालनगर जाने ?”
“जाने, तर डबल लाग्छ ।” ड्राइभरको उत्तर थियो । अरू सहारा थिएन, ४०/५० को मुख हेर्ने समय पनि भएन ।
“हुन्छ ।” भनेँ ।

अगाडि सिटमा मान्छे थियो । रातीको समय भएकोले साथी राखेको होला, यस्तो चलन अरू टेक्सीमा पनि हुने गर्दथ्यो । त्यसैले त्यति महत्व दिइनँ । म चुपचाप पछाडि बसेँ । भृकुटीमण्डप, पुतलीसडक, कमलादी, जयनेपाल हुंँदै आएको टेक्सी नागपोखरीनिर आएर उत्तर लाग्यो । त्यो बाटो पनि विशालनगर गइने हुनाले म केही बोलिनँ । अलि अगाडि बाँसको झाङ मुनि आएपछि टेक्सी रोकियो । ड्राइभरको नजिक बसेको मान्छेले एकाएक मेरो छातीमा चक्कु सोझ्याएर भन्यो–
“सिक्री, औंठी, रुपियाँ–पैसा के कति छ झिकिहाल्, बोलिस् भने चक्कु धसिन्छ ।”

सुनसान अन्धकार थियो म चिच्च्याए पनि नजिकमा सुन्ने कोही थिएन । त्यसैले भएभरको पैसा दिएँ र भनेँ–
“मसित औँठी, सिक्री केही छैन ।”
त्यसै वेला अगाडि मोडबाट पुलिस आएको देखेर बेस्सरी चिच्च्याएँ “पुलिस !” भनेर । टेक्सी मोड्न खोज्दै थियो । दुई जना पुलिस नजिकै आए ।
“मलाई यिनीहरूले लुटे ।” भन्दै टेक्सीबाट बाहिर निस्केँ ।
“हो ! कति लुट्यौ ?” एक जना पुलिसले भन्यो ।
“केही छैन साप् ! यही हो ।” भन्दै सय सयका दुई वटा नोठ दियो ।
“यसरी एक्लो मान्छेलाई लुट्ने हो ? मोरा हो !” भन्दै पुलिसले नोठ पाइण्टको बायाँ खल्तीमा घुसारेर टेक्सीको छतमा डण्डाले हान्यो । टेक्सी उत्तरतिर लाग्यो ।
“ल, अब केही छैन” भन्दै पुलिसहरू दक्षिणतिर लागे ।

त्यहीँ नजिकै केको मूर्ति रहेछ अँध्यारोमा चिनिनँ । तैपनि “धन्य परमात्मा मेरो रक्षा गर्ने तिमी नै रहेछौ ।” भनेर म पनि लुरुलुरु पैदलै घरतिर लागेँ ।

पाल्पा, हाल : बसुन्धरा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
0
Would love your thoughts, please comment.x
()
x