सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धन्य प्रजातन्त्र

जनतासित नजिक पर्न डर लाग्यो भने चुनावको कुरा ढोँग हो, हामी चुनावमा जान्नौँ, भन्न पनि पाइन्छ । सोझै संसद् गठन गरेर आन्दोलन गर्न पनि पाइन्छ ।

Nepal Telecom ad

हामी प्रजातन्त्रका लागि किन मरिमेट्यौं ? आज त तपाइँको घैंटोमा घाम लागेहोला नि ! खास गरेर नेताहरू जनताको लागि प्रजातन्त्र दिन कसरि ज्यान फाल्छन् , अब पनि तपाईंले बुझ्नुभएन भने कृतघ्नै भन्नुपर्छ तपाईंलाई । २०४६ सालको परिवर्तनपछि नेपालमा कुन क्षेत्रमा विकास भएन सम्झनुस्त ! अलिकति खस्केको भनेको नैतिकता र अनुशासन न हो ! त्यसले के भयो त ? त्यो खस्कोस् कि बिलाओस् । त्यसैको झन् विकास भएकै छ क्यारे !

हेर्नुस् आज हामी कति स्वतन्त्र छौँ । मन लागेको कुरा बोल्न सक्छौं, मनमाफिक काम गर्न सक्छौँ, हामीलाई रोक्ने कसले ? दश/वीस जना हाम्रा पछाडि रहनुपर्छ अथवा एक दुई जना टाउको माथि हात रखिदिने मान्छे हुनुपर्छ, बस् ! त्यति भयो भने हामी जे पनि गर्न सक्छौँ ।

हाम्रा पछि लाग्ने कुनै राजनैतिक कार्यकर्ता मात्र हुनुपर्छ भन्ने छैन । लट्ठी र मुड्की उठाउन सके पनि हुन्छ । अरू त अरू मुड्की उठाएकै भरमा लेक्चरर त बन्न सक्छौं भने माध्यमिक शिक्षक जस्ता पदमा नियुक्ति लिनलाई “अंश लेखियोस् कि अंस” छुट्याइरहनुपर्छ र ? “विद्यालयलाई जोड गरि गरि विध्यालय” “विद्यार्थीलाई विध्यार्थी”, “अत्यन्त”लाई “अत्यान्त” आदि उच्चारण गरेर त काम चलेको छ । हिन्दी समाचार पढ्नेले “बारिस होगा, बस गया था” भने पनि भएकै छ । आखिर बारिस हुनु भनेको पानी पर्नु न हो ! यति त श्रोताले आपैm बुझिहाल्छन् नि ! जब नेपालका ठूला विद्वान्हरूले बोल्दा जे बोलिन्छ त्यही लेखे हुन्छ । भनिसकेका छन् भने धेरै किन बिचार गर्नु पर्‍यो ? त्यसले कसैसित खान मागेको हुँदैन क्यारे ! कुरा बुझ्नु हो बुझिहालिन्छ ।

हिन्दीको त झन् कुरै गर्नुपरेन । हिन्दी पढ्ने सुन्ने सधै नेपालमा बस्ने होनन् त । नेपाली भाषा त झन् आफ्नै भाषा । नेपाली बोल्न नजान्ने कति होलान् त ? प्रजातन्त्रमा बहुमतलाई मान्यता दिने त हो । बिभक्ति जोडिएन, ह्रस्व दीर्घ मिलेन भनेर किन टाउको दुखाइ ? यो त चाहिएको बेलामा आफैं मिलिहाल्छ नि !

हाम्रो नैतिकता र अनुशासन घटेको छ ! भन्नेले बुझ्नुपर्ने के भने त्यसले कसको के बिगारेको छ ? खान मागेको छैन, लाउन मागेको छैन । बरू खान नपाउनेलाई रोजिरोजि खान र लाउन नपाउनेलाई मनलागेको लाउन सक्ने मात्र होइन आलिशान महलमा बसेर व्ल्याकलेवल र रेडलेवलको चुस्की लिन सक्ने बनाएको छ ।

तपाईंसँग बल छ र चेन चक्कु देखाउन सक्नु हुन्छ वा अलिकति राजनैतिक समर्थन छ भने तपाईंलाई पैसाको पनि कमी हुनेछैन । पैसा भएपछि तपाईंले चाहेको काम गर्न सक्नुहुन्छ । आखिर भुक्ति मुक्ति जे भने पनि त पैसैमा छ । हो, अलिकति देशको आत्मा बेच्नुपर्ला । त्यसले के विग्रिन्छ र ? कोशी बेचिए, गण्डकी बेचिए, महाकाली जान तयार भएकै छ भने सुस्ता, लखनियाँले के पो लछारेका छन् र ? आखिर चाहिने धनै रहे छ । राजनीति गर्न पनि धनै चाहिएको छ, पत्रकार बन्न पनि धनै चाहिएको छ । वकिल, डाक्टर, इञ्जिनियर सबैलाई धनै चाहिने भएपछि देश र जनता भनेर कति दिन बस्ने ? शिक्षक लेक्चरर हुनु परेको पनि त धन कै लागि हो । घुक्र्याएर हुन्छ वा चेन कुखुरीले हुन्छ, आन्दोलन गरेर हुन्छ वा तोड्फोड् र गालीगलोच् गरेर हुन्छ ।

“विद्याददाति……..ततः सुखम् ।” भन्ने नैतिक शिक्षाले रूप बदलिसकेकोछ । किन कि यो त संस्कृतमा लेखिएको शिक्षा हो । संस्कृत भाषा त मरिसकेकोछ । धत् ! मरेको भाषामा लेखेको शिक्षा पनि शिक्षा हो र ? अब त परिवर्तन भइसकेकोछ । त्यसैले भाषा मात्र होइन सैद्धान्तिक शिक्षामा पनि परिवर्तन भइसकेकोछ । अबको नैतिक शिक्षा त यस्तो भएकोछ —
विद्याले हीनता दिन्छ, मुड्कीले पात्र बन्दछ ।
पात्रले धन वर्षन्छ धनले स्वर्ग बन्दछ ।

आजभोलि चलेको शिक्षा यही हो । समय अनुसार चल्न सकेनाँै भने पछि परिन्छ । हेर्नुस् हाम्रा अग्रजहरू कति अगाडि गैसके । हामी जस्ता धेरै नेपालीले विकास गर्न नसकेको कारणै यही हो । आउनुस् अब हामी पनि नेताको अनुशरण गरौँ । हाम्रा नेताजीहरूले सवै नेपालीलाई समान बनाउन कति मेहनत गरेका छन् ? खै हामीले बुझेको ? पढेर मात्र को ठूलो भएको छ र ? मन्त्री बन्नलाई शैक्षिक योग्यता तोकिएको छैन क्यारे ! शिक्षाका प्रमाणपत्र त लोक सेवा आयोगले मात्र हेर्ने न हो ! प्रमाणपत्र आवश्यक परे सीमापारीबाट ल्याए भइहाल्छ । आखिर लेक्चरर बन्न त मुड्की बलियो भए पुग्छ भने पढेर को ठूलो भएको छ र ?

हेर्नुस्, पत्रकार बन्न त ज्ञान, शीप, नैतिकता, इमानदारिता केही चाहिँदैन रे ! अरुलाई के चाहिन्छ ? आउनुस् राजनीतिको पक्ष लिनुस्, तपाईँको समर्थन सबैले गर्छन् । डाक्टर, वकिल, इञ्जिनियर सबै पत्रकार बन्न सक्छन् । यत्ति मात्र होइन, आवश्यक पर्‍यो भने पत्रकार पनि वकिल मात्र होइन डाक्टर र इञ्जिनियर बन्न सक्छ । कार्यालय सहयोगीले त हेल्थपोष्ट चलाइराखेका हुन्छन् भने पत्रकार त बुद्धिजीवी प्राणि । हो, पालोको पैँचो, ऋण त तिर्नै पर्छ । आज तपाईँले सहयोग गर्नुभयो भने भोली तपाईंलाई सहयोग नगरेर हुन्छ र ? कर्मचारीको जुलुसमा पत्रकार र राजनैतिक कार्यकर्ता गएपछि पत्रकारको जुलुसमा कर्मचारी नगएर हुन्छ ?

तपाईंलाई के चाहिएको छ ? तपाईं त्यही पाउन सक्नुहुन्छ । तर तपाईंले के भुल्नुहुन्न भने त्यसलाई तपाईंले अलिकति राजनैतिक जलप लगाउनै पर्छ । आजकाल पित्तलमा सुनको जलप लगाएर बजारमा कस्ता कस्ता गहना आएका छन् ? तपाईंले देख्नुभएकै होला । त्यसैले तपाईंले पनि जलप लगाउन बिर्सनुहुन्न । तर त्यस्तो जलप अरूको लाएर भने हुन्न नि ! राजनीतिकै लगाउनुपर्छ है । धोका खानुहोला नि !

हेर्नुस् राजनीतिमा जे पनि हुनसक्छ । नेपोलियनले कुनै कुराको असम्भव नदेखे जस्तै राजनीतिमा असम्भव भन्ने कुनै कुरा हुन्न । राजनीति भनेको जे पनि बोल्न पाइने र जे पनि गर्न पाइने पवित्र स्थल हो । वागमतीमा लगेर ढल सोझ्याइदिए पनि भयो, पवित्र गङ्गा सम्झेर डुबुल्की मारे पनि भयो । राजनीति पनि त्यस्तै हो । जनतासित नजिक पर्न डर लाग्यो भने चुनावको कुरा ढोँग हो, हामी चुनावमा जान्नौँ, भन्न पनि पाइन्छ । सोझै संसद् गठन गरेर आन्दोलन गर्न पनि पाइन्छ । योभन्दा सजिलो पेसा अरु के हुनसक्छ ?

हेर्नुस् आज राजनीतिमा नलाग्ने को छ ? यो प्रजातन्त्र मात्र होइन गणतन्त्र समेतको देन छ यसमा । अस्पतालमा छट्पटाइरहेको विरामी छोडेर डाक्टर साहबहरू त्यसै निजी क्लिनिकमा गएका हुन्छन् र ? सरकारलाई राजस्व बुझाउन आएको मानिसलाई पर्खाएर कर्मचारी आन्दोलनमा भाग लिन किन सडकमा पुगेका थिए ? उनीहरूको पनि त हक छ, अधिकार छ । के कर्मचारीले राजनीति नगर्नु भन्ने छ र ? बीच सडकमा गाडी पार्किङ्ग गर्न नपाए सडक जाम गर्न हुन्छ भने कर्मचारीले राजनीति गर्न किन नपाउने ? प्रजातन्त्र भनेको यही त हो । आपूmखुसी गर्न नपाए केको प्रजातन्त्र ? त्यसैले आउनुस् प्रजातन्त्रलाई धन्यवाद दिउँ र आफ्नो अधिकार प्रयोग गरौं । लोकतन्त्र, गणतन्त्र सबैलाई बलियो बनाऊँ ।

धुम्बाराही-४, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’