डा.हरिप्रसाद सिलवालप्रेमशालामा आगो
आफ्ना बाचा र घोषणा जलाएका छन् ! मानवताका मर्महरू जलाएका छन् ! सत्ताका सत्यहरू जलाएका छन् तर ! गद्दाका गाथहरू चलाएका छन् !

हामी सेरिएका छौँ …तरबारले
हामी घेरिएका छौँ …..नजरले
हामी बेरिएका छौँ ……लहराले
हामी थिचिएका छौँ ……पहराले
हामी मूर्छित छौँ…….दुर्गन्धले
हामी कुण्ठित छौँ …. उकुसमुसले
…
कति शताब्दी सेरिने हामी ?
कति शताब्दी जिउँदै जल्ने हामी ?
कति शताब्दी जिउँदै शरीरलाई पोलेर आत्था आत्था भन्दै बाँच्ने हामी ?
जसले कानुन, नुन र खुनको गुन बैगुन जानेको छ, उसैले राज्य रमितामा अस्मिता हानेको छ !
जसले इमान र इज्जतलाई मानेको छ उसैलाई नियमको नखरा बजाएर तानेको छ !!
श्रम र सीपमा बाँच्ने नम्रताका नयनहरूलाई पन्छाएर हाम्रोलाई राम्रोमा छानेको छ !!!
कहिले बिर्सने हामीले हिरोसिमा र नागासाकीको एटमशाला ? हिटलरको चिम्नीशाला ? जेरुसेलमको काँटीशाला ? अफगानको आत्मघातीशाला ? इराकको वारुदशाला ? सोमालियाको भोकशाला, नेपालको अकर्मण्यशाला, भुटानीको शरणशाला, तियानमियानको डोजरशाला, स्टालिनको जनकारबाहीशाला, हुँणको आक्रमणशाला, माओको गुरिल्लाशाला, कतै तानाशाहशाला, क्रूरशाला, षडयन्त्रशाला, …क्रमश…क्रमश… बनिरहेका बन्दै गरेका यी सबै मारणशाला अनि मरणशाला फेरि मरणशाला र फेरि मरणशालाहरू..! धर्तीमाता आरम्भमा पवित्र प्रेमशाला थिइन् । रेखाचित्रमा नबिटुलिएकी साझा थिइन् । कामक्षुधाले नडसेकी कौमार्य थिइन् । वयको पयमा युवती नबन्दैदेखि बलात्कारमा परिन् र रक्त दाना चुहाउँदै, अश्रुधारा खसाउँदै, धपेटिँदै, लपेँिटदै ज्वालामा परेकी छिन् आगोको ज्वालामा । त्यसैले आज प्रेममा आगो दन्केको छ । प्रेममा शान्ति छैन र प्रेमले निस्साएिर भाग्ने स्थान पनि नपाएर रापिएर जिउँदै जल्नु परेको छ । प्रेम अर्थात् जीवन जीवन अर्थात् प्रेम सख्त घायल छ आगलागीमा परेर ।
प्रेमलाई साँपको विष पिइयाइएको छ । प्रकृति थिइन् । कहिले धर्मशाला भइन् । कहिले युद्धशाला भइन् । कहिले उद्योगशाला भइन् र कहिले सामन्तशाला भइन् । घरिघरि आमा मुण्डमुण्डका मस्तिष्कमा परेर प्रयोगशाला भइन् । शान्ति, भ्रान्ति, कृति र आकृति हुँदै अनेक प्रवृत्ति भइन् र फेरिँदै फेरिँदै आगोधारीको लप्कामा परेपछि विकृति भइन् । यसरी विशाल आमाको अंशमा पारेर पनि नपुगेर आगोमा होम्ने चरु बनाइएको छ । यसरी पृथ्वी ममतामा आज दन्कुटी सल्केको छ आक्रोस, विद्रोह, विध्वंश, विद्रुपता, विपत, विकराल, अनिकाल, शोषण, लुट, चुट, मस्ती, सास्ती, बन्दी… सबै आगोका आकार प्रतिनिधि हुन् । प्रेमशालाका आक्रमणकारी असती आगाहरू ! मस्तिष्क खुस्केर पनि कोरलीका पछिपछि दौडिरहेका तिखा सिङ बोकेका भााले साँढाहरू र बैँसले उन्मत्त मातेका हान्ने राँगाहरू । वा मानव बस्ती एक सिंहशाला बनेको छ । मत्स्यन्याय, खरायो खरबारीको नेता, बाघ बाख्रीको खोरको नेता, बिरालो दूध कुँडेको नेता, छेपारो परिवर्तनको नेता, सिंह मृगको नेता, मन्साप्लो माहुरी घारको नेता, मुसो भकारीको नेता, गबारो केरा घरीको नेता … अनि प्रेम यज्ञको नाटक घरमा शिरमा चढाएर जिब्रो चाट्ने पवित्र पञ्चामृत बनेको साँपका सेता विष घोलेर । विषामृत छर्केर प्रेमशालाको प्रेमयज्ञमा पनि विषको आगो झोसिएको छ पुत्लो बनाएर ।
आमा, म तिमीलाई बोक्सिनी आरोपेर तिम्रा सुनकेस्रामा आगो लगाएको दृष्य देख्न र सहन सक्दिनँ । तिम्रा वात्सल हृदयगामी मुटुलाई बगरेले अचानोमा राखेर टुक्रा पारेको खपन सक्दिन । तिम्रा छातीका प्वालमा चिहाने धुवाँका मुस्लो हुलेर स्वाँस्वाँ पार्दै छटपटछटपट घिसारेको हेर्न सक्दिनँ । तिम्रा शरीरलाई बधशालामा भाग लगाएका चोक्टा जस्तै पारेर विभाजित गरेका पनि खप्न सक्दिनँ । मलाई दूध पिलाउने मायालु तिम्रा अधरमा धामीले भेदन डामेर तातो झिर रोपेको देख्नै सक्दिनँ । तिमीले कति करोड सन्तान जन्मायौ हुर्कायौ र आज के पायौ ??? निसाफ गर्ने आमा अदालत चाहिएको छ मलाई । आमाको न्याय गर्ने आमा अदालतको घोषणा हुनुछ छुट्टै र छिट्टै !
गुलाफी फूललाई घातकी तरबारको म्यान बनाउनेहरू,
प्रेमका पत्रभित्र मृत्युका भाला लुकाएर सुकिला प्रेमका तन्नालाई कात्रो बनाउनेहरू,
धर्तीमाता अर्थात् प्रेमशाला, प्रेमशाला अर्थात् धर्तीमाता ।
प्रेमको क्षितिजमा त गोधुली दृष्य चँदुवाका पताका फहराएका हुनुपर्छ ।
नदीहरू आमाका दाहिना हुन् । नदीसित धैर्यको सगरमाथा हुन्छ । नदीसित प्रेमघाती आगो मार्ने शान्तिमय शक्ति हुन्छ । नदीसित मरुभूमिलाई जीवनभूमि बनाउने वाफिलो वर्षाको विज्ञान हुन्छ । नदी निरन्तरता हो जीवन जीजिविषाको । नदी सिञ्चाई गर्ने भावनाका हजारी हो जसले प्रेमशालामा प्रेमको सिमसार सिर्जना गर्दछ । प्रेम मार्ने आगोहरूले नदीसित हार्नु छ । ए नाइल, ह्वाङ्गहो, मिसीसिपी, गण्डकी, गंगाजी…..तिमी छेउका प्रेममारा आगोलाई मारिदिनू है ।
म प्रेमको पिर्कामा मैन बनेर सजिन खोज्छु । तिमी आगो बनेर ममाथि सल्किन्छौ । ढाल्छौ, पगाल्छौ र अन्ततः मलाई जलाएर एक हत्केला न्यानो ठान्छौ । मेरो पग्लाइ र जलाइ नबुझ्नुमा नै तिमी आफ्नो विशेषता ठान्छौ र बराबर मैनका विरुद्ध आगो भएर आइरहन्छौ र बाँचिरहन्छौ । म प्रेमको सुकोमल काँटी बन्छु र नरम नरम प्रेममय काँटीहरू ठडाएर मानवताको स्वागतद्वार बनाउन थाल्छु । तिमी बारुद बनेर आउँछौँ र मेरो टाउको बनिदिन्छौ । उफ् म प्रेमको काँटी तिमी बारुदी टाउको । तिम्रो टाउको भयङ्कर चिलाउँछ-आगो उम्लेर, घमण्ड छचल्केर, अधैर्य मातेर, तिमी बारुदसितै जुध्न थाल्छौ र युद्धको राँको दन्काएर आत्माका चोखा गुँडहरू भस्म पार्छौ । तिम्रा आगामा लाख लाख आत्माहरू लाख लाख पटक डढेका छन् ।
मलाई पिल्छाएर कोपर्नुमा नै तिमी आफूलाई दानी ठान्छौ । तिमीले दिने भनेको पीडा हो । ठूला पीडादाता । विश्वयुद्ध, पानी युद्ध, तेल युद्ध, सीमा युद्ध, राज्य युद्ध, साम्राज्य युद्ध, सुन्दरी युद्ध, बम युद्ध, रकेट युद्ध, खुकुरी युद्ध, तरबार युद्ध, भाला युद्ध, विस्फोट युद्ध … फेरि युद्ध …फेरि युद्ध र फेरि युद्धका आगाहरू सल्ल्काएर पृथ्वीका हरियाली हरण गर्ने तिम्रा बारुद बारुदको जुधाइमा तिमी विस्फोट गर्जन्छौ र मारेर मछौँ । तिमी मर्दा पनि मलाई उही चितामा सुताएर, आगो सल्काएर मर्छौ । आफ्नो चितामा मलाई आगो नझोसी तिमी कहिल्यै मरेनौ । म तिमीसित सतीको स्वेत वस्त्रमा तिम्रो श्रद्धाञ्जली बनेर जल्न विवश छु । तिम्रो लासको मूढ पल्टने चितामा मेरो जीवित मूढ पोलिन बाध्य पार्छौ र यसैमा प्रेम देख्छौ । यसैमा हाँस्छौँ । हेर मान्छेका कलिला जिन्दगीलाई सतीको कात्रोले बेरेको ? हेर हेर रमाउँदै मामाली जान हिँडेका मान्छेलाई आगोले मलामीको काँधमा चढाएको ? हेर माइतीको आँगनमा खेलिरहेका मान्छेलाई मृत्यु भट्टीमा घिच्याएको, हेर हेर मान्छेका आकासे मनलाई ओडारमा कोचेर पिँडालु बारीमा भुङ्ग्रोमा पोलेको, तिमी भङ्गालोमा नहुत्याई तिमी जंघार तर्नै नसक्ने, मेरो मुखमा बुझो नकोची तिमी म विरुद्ध तर्क छाँट्नै नसक्ने, म मलाई कैदमा ठिङ्गुराएपछि मात्र तिमी मसित प्रतिस्पर्धामा उत्रन सक्ने, संसार नाङ्गो पार्ने तिम्रो आगोले धेरै मान्छेलाई मारेको छ, मारेको मारेयै छ ।
मानव हृदयको प्रेमशालामा तिमी मृत्युको आगो । मानव टाउकोमा टोक्न आउने गोलाका गोला खागो तिमी । शताब्दी शताब्दीसम्म सच्चा जीवन सिञ्चाइ नपाएर सुकेको मानव मायाका प्रतीक्षारत ‘खर’ मा हाम्फाल्ने आगो तिमी । जलको सट्टा जलन दिने आशको ठाउँमा त्रास दिने आगो तिमी । मानव फूलमा डढेलो पोत्ने विनाशकारी आगो तिमी !
मलाई सहने शक्तिले नै बढी पीडित बनाइरहेछ । मलाई पर्ख र हेरले नै लास लास बनाइरहेछ । एउटा तापमानको सीमा नाघेपछि किल्टीबाट पानीले हाम्फाल्छ । एउटा अवस्थामा पुगेपछि वायु जुधेर चट्याङ पर्छ । म पनि प्रेमशालामा दन्केको आगो निभाउन दमकलको साइरन थिच्दै संसारको भ्रमण गर्छु । प्रेमशालामा सल्कने आगोहरू संसारमा फैलेका छन् । चारै दिशा ढाकेका छन् । यी आगाले जलाएका फेहरिस्तका केही नमुनाहरू :
इज्जत जलाएका छन् !
कौमार्य जलाएका छन् !
वासस्थान जलाएका छन् !
वृद्धाश्रम जलाएका छन् !
शिशु जलाएका छन् !
यौवन जलाएका छन् !
संस्कार, धर्म जलाएका छन् !
नैतिकता जलाएका छन् !
कानुन जलाएका छन् !
आचरण र सम्झौता जलाएका छन् !
सभ्यता र पाठशाला जलाएका छन् !
परिश्रमीका श्रम सिर्जना जलाएका छन् !
निमुखाका आशा र भरोसा जलाएका छन् !
आफ्ना बाचा र घोषणा जलाएका छन् !
मानवताका मर्महरू जलाएका छन् !
सत्ताका सत्यहरू जलाएका छन्
तर !
गद्दाका गाथहरू चलाएका छन् !
भत्ताका भातहरू पचाएका छन् !!
आकाशभरि आगाका लप्का, आगाका गर्जन, समाचारभरि लासका दुर्गन्ध, लासका लामहरू आगाका सिकार । म पनि बन्छु ।
भित्र
विभेदी आगो, शक्तिको आगो,
यहाँ कति प्रेमका पत्रहरू पेलिएका छन् । यहाँ कति इच्छाका इनारहरू पुरिएका छन् । यहाँ कति आशाका आकाशहरू ढाकिएका छन् ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































