रमेश गौतम ‘पाल्पाली’श्रीमती महात्म्य
श्रीमती बन्न पाए त मजा हुन्थ्यो म सोच्दछु श्रीमान बन्नु भन्दा त श्रीमती बन्न रोज्दछु ।

श्रीमती घरकी रानी श्रीमती धनधारिणी
श्रीमती अपरम्पार, श्रीमती सहचारिणी ।
कैले हुन्छिन् उनी आगो कैले पानी बगाउने
कैले घाम निकै चर्को कैले हावा उडाउने ।
कैले नौनी सरी गल्ने कैले बज्र सरी हुने
कसरी रूप फेरिन्छ धन्य छन् श्रीमती उनी ।
प्रशंसा गर्दिँदा राम्रो निखार रूपकी परी
मान्छेमात्र कहाँ हुन्थिन् बन्छिन् ती मख्मलै सरी ।
कैले ती फूल झैँ हुन्छिन् आफ्नो काम पटाउन
बन्यो काम भइन् फुक्का बन्छिन् आगो डढाउन ।
मुसार्दछिन् उनी गाला हात पारन बेतन
भोलीपल्टै उनी ब्याघ्री बन्दछिन् किन बे—तन ।
घरी ब्याघ्री घरी गौरी बन्छिन् हे कसरी हरि !
बुज्नै सकिन मैले त बाटो देखाउ हे हरि ।
प्रार्थना उनकै गर्छु पूजा गर्छु घरी घरी
तैपनि खुस ती हुन्नन् लौन के गरुँ हे हरि ! ।
श्रीमती बन्न पाए त मजा हुन्थ्यो म सोच्दछु
श्रीमान बन्नु भन्दा त श्रीमती बन्न रोज्दछु ।
गृहलक्ष्मी म हुन्थेँ नि परिपूणर् सबैतिर
पसिना तर्तरी काड्दै घुम्दथिन् ती सबैतिर ।
देवी हुन् श्रीमती भन्दै प्रार्थना गर हे जन !
पार लाऊ भनी उन्मै लगाऊ तन औ मन ।
पार लागिन्छ हे मर्द ! देवी रुष्ट भए कहाँ ?
महात्म्य श्रीमतीको यो गाउनू सबले यहाँ ।
यो सानो महिमा गाऊ श्रीमती खुस पारने
उनै हुन् घरकी लक्ष्मी उनै हुन् भवतारणी ।
रिसाए श्रीमती हेर ! बाँच्नै बेकार बन्दछ
चाकडी श्रीमतीको नै गर्नू महात्म्य भन्दछ ।
शुभमस्तु शुभम् अस्तु, कल्याण गर हे परी
नपार भुमरी भित्र मर्नै पर्ने गरी गरी
गायो जस्ले भयो पार, नगाए हुन्छ लौ कहाँ ।
इतिश्री श्रीमतीको यो गाइयो महिमा यहाँ ।
Subscribe
Login
0 Comments
Oldest






































