अन्तिम संदेश
’र त्यो देश पनि दयनीय हो जो अनेक टुक्रामा विभाजित छ र हरेक टुक्रा आफूलाई एक अलग देश सम्झन्छ ।’
भावानुवाद : टंक कार्की
मूल लेख : खलिल जिब्रान
अलमुस्तफाले अन्ततः आफ्ना मातापिताको बगैंचा पत्ता लगाई छोड्यो । ऊ बगैंचाभित्र प्रवेश गर्यो र आफूलाई कसैले पछ्याउन न सकोस् भनेर भित्रबाट ढोका बन्द गर्यो ।
उसले यहाँ भित्र रहेको घर र यस बगैंचामा चालिस दिन चालिस रात गुजार्यो, नितान्त एक्ल।ै । चरो मुसो कोही थिएन त्यहाँ, ढोकाको नजिक कोही आउँदा पनि आएनन् । किनभने ढोका बन्द मात्रै थिएन सबैलाई थाहा थियो कि उसले त्यहाँ त्यतिका समय एलालासमा नै बिताउनु ’थ्यो ।
चालिस दिन बित्ना साथै उसले ढोका खोल्यो र सबैलाई भित्र आउन दियो । अनि भने उसँग बस्न भनेर नौजना मानिस भित्र आए- तीन जना नाविक उसैको पानी जहाजबाट आएका, तीन जना मन्दिरको सेवा सुश्रुषा गर्नेहरू र बाँकी तीन जना उसका बचपनका लगौटिया साथी । यी सब उनका शिष्य थिए ।
एक दिन सबेरै उसका शिष्य उसका वरिपरि बसेका थिए । उसका आँखा भने पर कतै अनन्त दुरीमा, कुनै स्मृतिमा टटोल्दै थिए । यत्तिकैमा उसको एकजना शिष्य हाफिजले प्याच्च सोध्यो, ’गुरु, इर्फालिज नगरको बारेमा हामीलाई केही बताई दिनोस्न, साथै तपाईंले दिव्य बाह्र वर्ष बिताएका मुलुकहरूको बारेमा पनि !’
अलमुस्तफा उदास, गुमसुम थियो । ऊ पहाडतिर टोलाउन थाल्यो र आफ्ना नजर कतै अनन्त शुन्यमा स्थिर गर्यो । उसको उदासीपनमा एक किसिमको उद्वेलन थियो ।
अनि भने उसले भन्यो, ’मेरा अनन्य साथी संगीहरू, त्यो देश पनि दयनीय हो जो अन्ध विश्वासमा चुर्लुम्म डुबेको छ किन्तु धर्म शुन्य छ ।
’र त्यो देश पनि दयनीय हो जहाँ त्यस्ता वस्त्र लगाइन्छ जो आफ्नै मुलुकमा बुनिदैन; त्यस्तो मदिरा पिइन्छ जो आफ्नै देशमा उत्पादन हुँदैन ।
’र त्यो देश पनि दयनीय हो जहाँ निर्दयीलाई शूरवीर मानिन्छ र झल्याकझुलुक विजयलाई उदारता मानिन्छ ।
’त्यो देश पनि दयनीय हो जो सपनामा जनइच्छालाई तिरस्कार गर्छ विपनामा त्यसैको वशमा लिप्त हुन्छ ।
’र त्यो देश पनि दयनीय हो जो मलामी जाँदामा बाहेक आफ्नो अन्तस्करणको आवाजलाई कहिल्यै वाणी दिदैन । आफ्नै खण्डहरमा बाहेक अन्यत्र कतै डिंग हाँक्दैन ्र कहिल्यै विद्रोह गर्न जानेको हुँदैन जबसम्म उसको गर्धन अचानोमा राखेर तरबार तेर्छिदैन ।
’र त्यो देश पनि दयनीय हो जुन देशका राजनीतिज्ञ फ्याउरा जस्ता छन्, जसको दर्शन नै ईन्द्रजाल छ, जसको कला नै टालटुल गर्नु हो र जो छेपारो झैं रुप फेरिरहन्छन् ।
’र त्यो देश पनि दयनीय हो जो आफ्नो नयाँ राजालाई धुमधामसंग स्वागत गर्छ र छिः छिः र दुर दुर गर्दै विदा गर्छ, त्यो पनि यसका खातिर कि अर्को राजालाई त्यसरी नै धुमधामसंगले स्वागत गर्न सकियोस् ।
’र त्यो देश पनि दयनीय हो जुन देशका प्राज्ञिकहरू वर्षौंदेखि लाटा, मुकदर्शक छन् र जसका शूर वीरहरू अझै कोक्रामा झुल्दै छन् ।
’र त्यो देश पनि दयनीय हो जो अनेक टुक्रामा विभाजित छ र हरेक टुक्रा आफूलाई एक अलग देश सम्झन्छ ।’