साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुत्केरी व्यथाको कथा

Nepal Telecom ad

एक पटकको कुरा हो– कैलाश पर्वतमा बस्दा बस्दा पार्वतीले दिक्क भएर आफ्ना पतिदेव शिवसँग मर्त्यलोकतिर घुम्न जाने इच्छा व्यक्त गरिछन् । गाँजा, भाङ र धतुरोले लठ्ठ भएका सन्काहा शिवजीले पार्वतीको प्रस्तावलाई तुरुन्तै स्वीकार गरेछन् । अब उनीहरू जोगी जोगिनीको भेष धारण गरेर मत्र्यमण्डल अन्तर्गतको नेपाल भन्ने देशतिर झरेछन् । झरी बर्खा, घाम पानी केही नभनी उनीहरू यत्रतत्र घुम्न थालेछन् । घुम्दा घुम्दा ज्यादै थकित भएर साँझ परेपछि उनीहरू एउटा पिपलको चौतारोमा पुगेछन् । शिवजीलाई भाङ धतुरो बेसरी लागेको हुँदा तुरून्तै निद्रा परेछ र उनी त्यही चौतारोमा ढल्किएर घुर्न थालेछन् । बिलखबन्दमा परेकी पार्वती भने पतिदेवको नजिकै बसिछन् । रात पनि गहिरिदै गयो । त्यत्तिकै पार्वती उङ्दै र झुल्दै रात सर्लक्क बितेछ । कुखुराका भाले कराउन थाले तै पनि शिवजीको निद्रा खुलेनछ ।

बिहान उज्यालो भैसकेपछि चौतारो आसपासका किसानहरू खेतिपातीका काममा निस्किएछन् । बल्लतल्ल शिव झल्याँस्स भएर ब्युँझिँदा त दस बजिसकेको रहेछ । गाउँ छेउको चौतारोमा अनौठो खालका जोगी र जोगिनीलाई देखेर एकजना किसानले श्रद्धापूर्वक आफ्ना घरमा लिएर गएछन् । उनीहरूको सेवा सत्कार गर्दै खानपिन गराएछन् । भान्सा उठ्न नपाउँदै किसानकी पत्नीलाई सुत्केरी व्यथाले च्याप्न थालेछ । पार्वती स्वयम् पनि महिला भएकी हुँदा ती किसान पत्नीको पीडाले उनलाई समेत चिन्तित पारेछ । उनले शिवजीलाई विनम्र भावमा बिन्ती गरिछन्– “स्वामि, बच्चा जन्माउन महिला र पुरूष दुवैको भूमिका बराबरी हुन्छ तर महिलाले नै पेटमा बच्चा राख्नु पर्ने, व्यथा पनि महिलालाई लाग्नु पर्ने, यो त साह्रै अन्याय भयो । त्यसकारण महिलाले बच्चा पेटमा राखेपछि सुतकेरी हुने बेलामा व्यथा चाहिँ पुरुषलाई लाग्ने परिबन्द मिलाइदिए कमसेकम बच्चा जन्माउने पीडा दुवैले अनुभव गर्ने थिए । महिलालाई अलिकति भए पनि राहत हुने थियो ।”

पार्वतीको यस्तो कुरा सुनेर शिवजीले भनेछन्– “प्रिय पार्वती, यस्तो कुरा नगर । प्रकृतिले जसलाई जे दिएको छ । त्यही हुन्छ । प्रकृतिले दिएको कुराभन्दा बाहिर जान खोज्दा अनर्थ हुन सक्छ ।”

शिवजीको जवाफ पछि पनि पार्वतीले जिद्धी गर्न छोडिनछिन् । “हैन स्वामि, कम्तीमा पनि व्यथा लाग्ने कुरा चाहिँ पुरुषलाई नै लाग्ने प्रपञ्च मिलाई बक्सियोस् । हजुरले चाहेपछि नहुने के पो छ र ?”

पार्वतीको जिद्धीबाट हार खाएका शिवले “लौ त लौ तथास्तु !” भनि दिएछन् । शिवको तथास्तु हुनासाथ ती किसान पत्नीको व्यथा कम हुन थाल्यो । तर अनर्थको कुरा त के भयो भने उनका पति किसानलाई व्यथा नलागी बारीमा हलो जोतिरहेको हलीलाई पो सुत्केरी व्यथाले च्याप्न थालेछ । ऊ बारीमै फत्र्याक फत्र्याक गर्न लागेछ । यस्तो किन भयो, सुत्केरी व्यथा लागेकी महिलाका पतिलाई लाग्नु पर्ने व्यथा आफ्नो घरमा राखिएको हलीलाई लागेको चाल पाएपछि पार्वतीले ध्यानदृष्टिले विचार गरिछन् । कुरा गडबड भएको थाहा पाएर “लौ यस्तो कुराले त गोपनीयता भङ्ग हुने, घर भाँडिने, सामाजिक मर्यादामा गम्भीर आँच आउने सम्भावना पो रहेछ ।” त्यसपछि हत्तनपत्त पार्वतीले शिवजीसँग भनिछन्– “हैन, प्रभु ! यो त बित्याँसै पर्ने रहेछ । त्यसैले यो प्रपञ्च तुरून्तै फिर्ता लिई बक्सियोस् ।”

पार्वतीको यस्तो कुरा सुनेर महादेव खित्काका छाड्दै हा… हा.. हा… हाँसेछन् । अनि भनेछन्– “देख्यौ त प्रिय, प्रकृतिले जसलाई जे दिएको छ, त्यो विपरित जाने दुस्साहस कसैले गर्नु हुँदैन । कसैले गरिहाल्यो भने मर्त्यलोकमा ठूलो बिपत्ति आइ पर्छ ।”

यस घटनापछि मर्त्यलोकमा अब कहिल्यै पनि लोग्नेमान्छेलाई सुत्केरी व्यथा नलागेर महिलालाई मात्र लाग्न थालेको हो भन्ने भनाइ छ । तपाइँ पत्याए पत्याउनोस्, नपत्याए नपत्याउनोस्, कुरो यै हो बुझे भैगो ।

जामुने, तनहुँ, हाल : म्हेपी काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x