साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छवाद, हुँदैनवाद जिन्दावाद !

Nepal Telecom ad

मेरो मःम पार्टनर खप्परध्वज एउटा राम्रो किचनकर्मी पनि हो । ऊ किचनमा पसेपछि घिचनका मीठा मीठा परिकारहरू पकाउन सक्छ भन्ने हाम्रो मित्र–मण्डलीमा मान्यता रहँदै आएको छ । त्यसमा पनि खिचडी उसको सबैभन्दा उत्कृष्ट आइटम हो । अझ विभिन्न ‘वाद’ हरूको खिचडी पकाएर मुलुकलाई बरवादको स्वाद दिनु खप्परध्वजको विशिष्ट कला मानिन्छ ।

खप्परध्वजको खिचडी बनाउने क्याटलगको भनाई अनुसार संवादले कुरोको चुरो निकाल्छ । विवादले शत्रुको जरो उखेल्न सहयोग गर्दछ । माक्र्सवाद वा गान्धीवादको पनि जमाना गयो रे ! अब सबैले बरबादलाई स्वीकार गरेर मुलुकलाई गोलचक्करवादमा थन्क्याउन पर्दछ भन्ने खप्परध्वजको मान्यता रहेको छ । खप्परध्वजले प्रतिपादन गरेको पछिल्लो खिचडी हो– ‘हुन्छवाद– हुदैनवाद ।’ एकीकृत माक्र्सवाद–लेनिनवादको परिमार्जन गरेपछि ‘हुन्छवाद–हुदैनवाद’को जन्म हुन्छ ।

‘सङ्कटकाललाई हाम्रो समर्थन पनि छैन–विरोध पनि छैन ।’– यसो भनेर एमाले भन्ने पार्टीका केही नेताले यसको व्यावहारिक प्रयोग शुरु गरिसकेका छन् । ती नेताका अनुसार यही वादको माध्यमबाट देशमा आमूल परिवर्तन गर्न सकिन्छ । महात्मा गौतम बुद्धको ‘मध्यममार्ग’बाट प्रभावित यो सिद्धान्त नेपाली माटोमा उत्पादन भएको मौलिक बिचार हो । कुनै पनि सरकारी नीति वा निर्णयलाई स्वीकार वा अस्वीकार दुवै गर्नुपर्ने भएकोले यसमा राजनीतिक घाटा भन्ने कुनै कुरो छैन । जस्तो– सङ्कटकाललाई विरोध पनि नगर्ने, समर्थन पनि नगर्ने नीति अङ्गीकार गर्दाखेरी माओवादी सफल भए भने ‘सङ्कटकालको समर्थन थिएन’ भने भैगयो । सरकार सफल भए ‘सङ्कटकालको विरोध गरेका थिएनौं’ भने पुगिहाल्यो ।

‘पर्खिएर हेर्ने’ ‘आलोचनात्मक समर्थन गर्ने’, ‘सचेत गराउने’, ‘वडो गम्भीर भएर मूल्याङ्कन गर्ने’ जस्ता बिचार पनि ‘हुन्छवाद–हुँदैनवाद’का कार्यनीतिक प्रक्रियाहरू हुन् भन्ने खप्परध्वजको बिचार छ । ‘हुन्छवाद–हुँदैनवाद’ले सवैभन्दा ज्यादा आफ्नो ढाडलाई विशेष मान्यता दिएको हुन्छ । यदि सरकारले पेल्ने कदम उठायो भने मानिसको सिद्धान्तभन्दा पहिले ढाडले नै दुःख पाउँछ, त्यसकारण पहिले आफ्नो साख र शान बचाउने–त्यस पछाडि मात्रै सिद्धान्तको कुरो आउँदछ भन्ने कार्यनीति हुन्छवादी–हुँदैनवादीहरूको रहेको हुन्छ । न राजनीतिक अडानको कुरो, न त सैद्घान्तिक प्रतिवद्धताको प्रसङ्ग ! विरोध गरेजस्तो पनि, समर्थनको हात उठाएजस्तो पनि ! हुन्छ पनि–हुँदैन पनि ! ल पनि–नाइँ पनि, जिन्दावाद पनि–मुर्दावाद पनि ! यस्तो गज्जबको वाद छोडेर के को माक्र्सवाद– के को माओवाद !

हुन्छवाद–हुँदैनवाद राजनीतिमा मात्र सीमित छैन । एकजना मेरा चलचित्र समीक्षक मित्र छन्– फिल्मानन्द । एकपटक हामी सँगै हिन्दी सिनेमा हेर्न गयौं । पर्दामा उत्तेजक ढङ्गले ‘भारतनाट््यम’ देखाइरहेकी नायिका देखेर उनी पूरै तीन घण्टासम्म वाहः वाहः गरिरहे । भोलिपल्ट उनको उक्त सिनेमाको समीक्षा निस्कियो– ‘नेपाली संस्कृतिलाई धावा बोल्ने हावा चलचित्र’ भनेर ! पर्दामा हेरुन्जेल वाह वाह, समीक्षा गर्दा छिः छिः– यो पनि हुन्छवाद–हुँदैनवादकै प्रभाव हो भन्ने खप्परध्वजको निष्कर्ष छ । सरकारमा आपूm बसुन्जेल नैतिकता, इमान्दारिता र संवैधानिक सर्वोच्चताको कुरो गर्नु, बाहिरिंदा बित्तिकै तोडफोड र संवैधानिक सुधारका सुगा रटाईका नारा घन्काउनु पनि यसै बादबाट प्रभावित हुनु हो । क्रान्तिकारी जनतालाई क्रान्तिकै कुरा गर्नु– अम्रिकाने काकाहरूलाई पनि नमस्कारको लड्डु चढाउनु दुबै हुन्छवाद–हुँदैनवाद कै प्रभाव हो ।

कुनै विषयमा प्रष्ट अडान राखेर ‘यो चाहिँ हुन्छ’ र ‘यो चाहिँ हुँदैन’ भन्ने क्षमता यो बादका समर्थकहरूसँग पटक्कै हुँदैन भन्ने तर्क केही व्यक्तिहरूको छ । यता पनि हवस्, उता पनि हवस् दाहिनेतिर पनि हुन्छ, देव्रेलाई पनि भइहाल्छ भनेर मुन्टो हल्लाउँदा हल्लाउँदा अन्त्यमा हुहुबादीहरूलाई घाँटी दुख्ने रोग लाग्दछ भन्ने मान्यता उनीहरू राख्दछन् । तर हुन्छवादका जन्मदाता खप्परध्वजको प्रष्ट बिचार छ– सबैलाई खुसी पार्ने सिद्धान्त भएको हुनाले हुुहुवादीहरू बरु बौलाउँछन तर उनीहरूको घाँटी कहिल्यै दुख्दैन । हुहुवादमा न प्रष्ट विरोध गर्नुपर्छ, न स्पष्ट समर्थन नै दिनुपर्छ । यो बिचार एउटा साहित्यिक बिचार हो भने पनि हुन्छ । जसरी कवितालाई हरेक पाठकले आफ्नै बुझाई अनुसार व्याख्या गर्दछन्, त्यसैगरी जुनसुकै घटनालई आफ्नो स्वार्थ अनुसार व्याख्या गर्न मिल्ने भएकोले ‘हुहुवाद’ एउटा साहित्यिकवाद झै मानिँदै आएको छ ।

समर्थन गरेजस्तो गर्नोस, बिरोधपत्र बुझाए झै पनि गर्नोस् । सरकारी मिडियामा गएर ‘माओवादी आतङ्ककारी’ को विरोध गर्नोस्, जनताका अगाडि पुगेर ‘क्रान्तिकारि स्पिरिटको’ समर्थन गर्नोस् । एकीकृत माक्र्सवाद–लेनिनवादमा अब ‘हुन्छवाद–हुँदैनवाद’ पनि जोड्नोस् । मुख्य कुरो त मानिसको ढाड नै हो, सिद्धान्त पछाडि आउँछ–पहिले आ–आफ्नो ढाड जोगाउनोस् । ढाड रह्यो भने पो तेल लगाउने चाकडीबाज पाउनुहुन्छ । ढाड बिनाको ‘वाद’ के काम ? त्यसैले सवैजना गर्वले भन्नोस्– ‘हुन्छवाद–हुँदैनवाद–जिन्दावाद !’

लौ छिटो गर्नुस्, हुन्छवादको तावामा फ्राई हुनोस् । हुँदैनवादको भुङ्ग्रोमा खस्नोस् र डढ्नोस् ।
हाल ः काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x