लक्ष्मण लम्सालखै के कविता लेख्नु ?
म पनि कविता लेख्छु भन्छु
कलमको बिँड समाएर ठसठसी कन्छु
टाउकाको भेट्नु घुमाएर वरिपरि हेर्छु
एक किलो मिटर लामो सास फेर्छु
तै पनि कविता नै फुरेन
कविताको घुम्टो उघार्ने साइत नै जुरेन
कस्तो होला त्यो कविताको भेट्नु
केको बारेमा पो मैले कविता लेख्नु ?
गाउँका थोत्रे छाप्राको बारेमा लेखूँ कि ?
शहरका झिलमिले महलको बारेमा लेखूँ
सडक पेटी र गल्लीका नालीको बारेमा लेखूँ कि ?
पुलका लठ्ठा, सिमेन्ट र जालीको बारेमा लेखूँ
नाना रङ दल्ने सोल्टिनी र सालीको बारेमा लेखूँ कि
कुल्ली, ड्राइभर र मालीको बारेमा लेखूँ ?
कविता लेख्छु भन्छु तर कस्तो हुन्छ कविताको भेट्नु ?
केको बारेमा पो कविता लेख्नु
नागासाकी र हिरोसिमाको बारेमा पो लेखूँ कि,
रोल्पा रुकुम र प्यूठानको बारेमा लेखूँ
ती माइलाबाको फाटेको चप्पल र
धोतीको बारेमा लेखूँ कि ?
डिङ्गो ड्याम्स र रङ्गिला बुटको
लोतीको बारेमा लेखूँ ?
बालुवाटार र सिंहदरबार कुद्ने
काला पजेरोको बारेमा लेखूँ
साँच्चिकै कविता लेख्छु भन्छु
तर खै कस्तो चैँ होला त्यस्को भेट्नु ?
केको वारेमा पो मैले कविता लेख्नु ?
जति खोज्दा पनि पाइन
कविताको पाप्रो उक्काउनसम्म जानिन
म कहाँ गएर पो देख्नु ?
खै केको बारेमा पो कविता लेख्नु ?
भोजपुर, दिङ्ला
Subscribe
Login
0 Comments
Oldest






































