साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोलीकै कुरो

Nepal Telecom ad

‘बसे बेरै हुने, बोले धेरै हुने’ । धेरै बोल्दाखेरि कसैले ‘बढी बोल्छस् !’ भनेर दाढी नै तान्दियो भने बोल्नै छाडिदिनुपर्ने हुनसक्छ । मेरो त कामै बढी बोल्ने, विकृति र विसङ्गतिलाई रिस उठाउन हाल्ने । तर बस्न पाएँ भन्दैमा थ्याच्च बस्ने र बोल्न पाएँ भन्दैमा प्याच्च बोल्ने चैँ होइन है फेरि ! आज पनि बढी चैँ बोल्दिन क्या ! कसम ! खसीको मासु खाने ! तपाइँले जति गाली गरेपनि आज म बोलीकै पोल खोलिदिन तम्सिएको छु । तर बोलीकै बारेमा बढी बोल्दिएँ भने भोलि नै भेटेर गोली ठोके हुन्छ म भन्दिन ।

बोली पनि ठाउँ अनुसार भिन्न–भिन्न हुँदोरहेछ । भिन्न बोलीकै कारण यो मान्छे पक्कै यतैतिरको हो भनेर चिन्न सकिँदोरहेछ । ‘जाउँ’लाई ‘जूँ’ भन्छ भने त्यो पक्कै पूर्वतिरको ध्रुव हुनुपर्छ । ‘कहिले आउनुभयो त ?’ भन्नुपर्दा ‘कैले आउनोँ त ?’ भन्छ भने अथवा ‘गएँभने÷खाएँभने’ लाई ‘गएपार÷खाएपार’ भन्छ भने त्यो पक्कै पश्चिमतिरको ठिटो हुनुपर्छ । ‘के–भन्छ, के–भन्छ लाई ‘के–बोञ्च के–बोञ्च’ भन्छे भने त्यो पक्कै हिमाली भेगकी काली हुनुपर्छ । ‘के भन्नुभएको छ ?’ लाई ‘के भनिलिएछ ?’ भन्छ भने त्यो पक्कै तराइतिरको भाइ हुनुपर्छ । एवम्प्रकारले मान्छेको बोली अनुसार ठाउँ पत्तो लाग्छ । कहिलेकाहीँ एकठाउँको मान्छेले अर्कोठाउँको मान्छेको बोली नबुझेर कापको पिलोजस्तो साह्रै अप्ठेरो हुँदोरहेछ । कहिलेकाहीँ शब्दको अर्थै यो मोरो ट्युवलाईट दिमागले पकड्न सक्दोरहेनछ । अण्ठेसण्ठे शब्द राखेर बोल्दिएपछि को डण्ठेले बुझ्ने त ?

अचेल त झन् शब्दहरू पनि बिद्रोहीको माग जस्तै नयाँ–नयाँ र अनौठा–अनौठा जन्मिइरहेका छन् । म्यारिज खेल्दा ‘मालै भएन’ भनेको सुनेको छु, गीत सङ्गीतमा ‘तालै भएन’ भनेको पनि सुनेको छु तर यो ‘बालै भएन’ भनेको चाहिँ के होला ? अचेल मेरो परममित्र पिलन्धरले हरकुरामा ‘बालै भएन’ भनेर आफ्नै श्रीमतीलाई बेहालै बनाउँदोरहेछ । के हो त्यो ‘बालै भएन’ भनेको ? –मैले प्रश्न पछारेँ । ‘मतलव छैन’ भनेको क्या ! –उसले उत्तर थेचा¥यो । लौ हेर्नुस् है ! कस्ता–कस्ता शब्दहरू भित्रिन्छन् । बुझे त मरिजाउँ ! फेरि के हुँदोरहेछ भने, यस्ता शब्दहरू लुतो जस्तै सर्लक्कै उत्तिखेरै फैलिँदोरहेछ । सात वर्षका तोतेदेखि सत्तरी वर्षका थोतेसम्मले यस्ता शब्द पाए भने, गर्वकासाथ प्रयोग गर्दिन्छन् । विद्यार्थीहरू भन्छन्–‘आज होमवर्क नै गर्दिन, बालै भएन ।’ शिक्षक प्राध्यापक भन्छन्–‘आज क्लासमा दश मिनेट ढिलो गएँ र पन्ध्र मिनेट छिटो निस्किएँ, बालै भएन ।’ श्रीमती भन्छिन्–‘आज एकैथोक तरकारीको झोल बनाइदिएँ, बालै भएन ।’ श्रीमान् भन्छन्–‘म यसपाली दशैँमा ससुराली जाँदै जान्न, बालै भएन ।’ डाक्टरहरू भन्छन्–‘बिरामी बाँचे बाँचोस् नबाँचे नबाँचोस्, बालै भएन ।’ इन्जिनियरहरू भन्छन्–‘यो सडक वर्षायाममा भत्किए भत्कियोस्, बालै भएन ।’ कर्मचारीहरू भन्छन्–‘स्वादले घुस खाइन्छ, बालै भएन ।’ नेताहरू भन्छन्–‘देश डुबे डुबोस्, बालै भएन ।’

यसरी शब्दकोषमै भूमिगत शब्दहरू होस भएकैहरूले पूरा जोसकासाथ फलाक्न थालेपछि कसले कसलाई रोक्ने ? न त रोक्न मिल्यो, न त ठोक्न मिल्यो । अझ त्यतिमात्र कहाँ हो र ? ‘आफ्नो गाऊँ आफै बनाऊँ’ भनेझैँ आफैले अर्थ खोजखाज गरेर बुझ्नुपर्ने र स्वयम्ले समेत प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

आजभोलिका युवापुस्ताले प्रयोग गर्ने शब्दहरू त झन् खासाबाट ल्याएका सस्ता सामान जस्ता कस्ता–कस्ता पो त हुन्छन् । ‘¥याक्स ग¥यो’ भन्छन्, ‘टेन्स गरायो’ भन्छन्, ‘ठिस’ भन्छन्, ‘झकास’ भन्छन् । के–के भन्छन् के–के । यै ताल हो भने, हरेक साल अर्थ न बर्थका नयाँ–नयाँ शब्दहरू फालाफाल भित्रिएर हामीलाई मालामाल बनाइरहने निश्चित छ । हामी नेपाली सधैँ भाग्यमानी । हरकुरामा हामीलाई सित्तैमा फाइदा भैहाल्छ । फेरि सित्तैमा पायौँ भने त अलकत्रा खाएर मट्टीतेलले कुला गर्न पछि पर्दैनौँ नि हामी । अतः यस्ता सित्तैमा प्राप्त हुने शब्दहरूलाई सहर्ष स्वागत गर्दै चलनचल्तीमा ल्याउनु हाम्रो संस्कार र बानी बन्दैजाओस् । जय भद्रकाली ! रोक्न नसकेपछि के भन्ने त ?

‘फुलौरा’ (हास्यव्यङ्ग्य सङ्ग्रह) २०६७

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x