शेषराज भट्टराईदुष्टात्मा
आत्मा आकाश जस्तै अनन्त, अक्षय र अदृश्य सूक्ष्म तत्त्वमा पर्छ । यो अजर अमर मान्छेले मानेर भएको होइन, स्वतः स्वयं सिद्ध भइराखेको कुरा हो । आत्मालाई असल र खराब दुई किसिमको मान्न सकिन्छ । खराब आत्मा जसलाई यहाँ दुष्टात्माको पगरी गुथाइएको छ । यसले एक सुर एक ध्यानका मान्छेलाई बुरुक्क उफ्रिने गरि तेर्साई दिन्छ । रुवाइ दिन्छ । दुःख दिने, नाना प्रकारले मान्छेको उछितो काढ्ने, रुनु न हाँस्नुको दोधारमा पु¥याउने हुनाले त्यस्तो आत्मालाई दुष्टात्मा भन्नु मनासिप देखिन्छ । दोस्रो असल आत्मा जसले मान्छेको भलो गर्छ । अमन चयनका साथ जिउन पिउन दिन्छ तर मान्छेका अधिनमा आत्मा चल्दैन । आत्माको अधिनमा मान्छे चल्नु पर्ने भएर नै मन्छेको मरणको ठेगान नभएको हो । मान्छेमा आत्माको एकाधिकार भएको हुनाले यहाँ दुइटा निर्णय चल्दैन । आत्मोक्ति के हो त्यसैलाई शिरोपर गरेर नाच्ने, बाँच्ने, गाउने, छाउने, अनेक प्रकारका ताण्डव नृत्य देखाउन सकिन्छ जुन मुक्त पान्थको आत्माले जीवित मानवको शरीरमा राज गरेर मान्छेलाई हल्लाउने, चलाउने, अनेक हुन्छ भने पछि कुरा बुझ्नु भयो होला ।
देहाय बमोजिमको कर्म गरेमा आत्मा असल, सुवानी र सुपाच्य हुन्छ भन्ने तथ्यहरू यस्ता छन्– मरेको पहिलो दिनमा रौरब नाम नरकोत्तारणाय, दोस्रो दिन जातिपुस्कर नाम नकोत्तारणाय, तेस्रो दिन हाहाकार नाम नरकोत्तारणाय, चौथो ताम्रिस्र नम्न नरकोत्तारणाय, पाँचौ दिन अन्ध तामिस्र नामनरकोत्तारणाय, छैटौँ दिन जातिसंस्रव नामनरकोत्तारणाय, सातौ अमेध्यकृति नाम नरकोत्तारणाय, आठौँ दिन पुरीषभक्ष नाम नरकोत्तारणाय, नवौँ दिन स्वमांसभक्ष नाम नरकोत्तारायण र दशौ दिनमा मृतात्मा कुम्भीपाक नाम नरकोत्तारायणमा पुग्ने जन विश्वास रही आएको हुनाले नै हामीले मुक्त पान्थको चीर शान्ति र असल आत्माको कामना गर्दै अमुक नाम नरकोत्तारायण, दशौँ प्रकारका नरकहरूबाट पार लगाई दिने कष्टकर प्रयास गर्दछौँ । तेरौँ दिनसम्मको पिण्ड पानीमा कर्मले शिरदेखि पाउसम्मको भावशरीरको पूर्ण रूपले यथास्थानमा पुग्छन् र आत्मा भड्किएर खराब या दुष्टात्मामा परिणात हुन पाउँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ । यस प्रकारको कर्मको विपरीत आत्माले सन्तुष्टि पाएन भने जीउँदासँग भन्दा मरेका दुष्टात्मासँग त्राही त्राही भएर बाँच्नु पर्ने स्थिति आउँछ र यस जगत्मा आइराखेको पनि छ ।
छोटकरीमा भन्नु पर्दा दुःख दिने प्रेतात्मालाई दुष्टात्मा भनिन्छ । मानवहरू मरिसकेपछि मृतात्मालाई ठिक किसिमले थान्को लगाएन भने त्यस्ता आत्माहरू जीवित मानवमा बास गर्ने प्रयास गर्दछन् । केहीले बास पाइहाले भने एउटा मानवमा दुई वटा आत्माले राज्य गर्न खोज्दा सज्जन मान्छेहरू बौलाउन पुग्छन् या त कुने रोग बनेर मान्छेलाई दुःख, हैरान र कहरमा पारेर जहर पिउन बाध्य बनाउँछ । विना कसुर हैरान पार्ने हरामी नै यहाँ दुष्टात्माको रूपमा चित्रण गरिएको छ ।
विशेष गरि शेष पछि मानव वस्तीमा विचरण गर्ने अदृश्य शक्ति मृतात्मालाई दुष्टात्मा भन्ने चलन चराचर जगत्मा मानवोदय सँगै भएको मानिन्छ । मौसम परिवर्तनसँगै दुष्टात्माको असली रूपमा घनघोर परिवर्तन आइसकेको हुनाले एउटा सचेत लेखकको नाताले अचेत पाठकको आँखा खोल्नु र बोल्नु मनासिब ठानेको छु । यहाँ यहाँहरूले मृतात्मा नभएर जिवितात्मा तर मति विग्रिएर भूतकालमा दुष्टात्मामा लीन भइसकेका जिवावशेषका बारेमा विशेष विचार, विवेचना र विश्लेषणको रसास्वादन गर्न सक्नु हुनेछ ।
कौरव र पाण्डव दाजुभाइका कारण महाभारत जस्ता कहाली लाग्दा हिंसा यिनीहरू कै कारणसिर्जना भएका थिए । आफन्त आफन्त गुरु शिष्य काटाकाट भएपछि ति सज्जनको आत्मामा दुष्टात्माले बास गरेको ठहरिन्छ कि ठहरिँदैन ? पाण्डव द्रौपदी, भाइ बुहारीलाई अनाहकमा १२ वर्ष वनवास र १ वर्ष गुप्त बास बस्न विवश पार्नु पनि दुष्टमति कै खेल हो । आफन्त आफन्तकै कुभलो, अहित र उठिबास गराउनमा रमाइलो मान्ने दुष्टात्माहरू यस धरतीमा आज पनि बग्रेल्ती पाइन्छन् तर तिनलाई पहिचान गर्ने क्षमता आफूमै नीहित हुन्छ । चिन्न जान्न सके बचिन्छ नत्र दुष्टात्माको घानमा पर्न सक्ने सम्भावनाप्रबल भएर जान्छ ।
सीतालाई रावणले अपहरण ग¥यो । राम दुःखी भए । सीता वेचयन भइन त्यसेले धर्ती फटाएर पृथ्वीभित्र छिरिन् । आफू कसैको पनि होइन र खेलौना पनि हुने छैन भनेर धरतीको कोखभित्र पसिन् । आज यस जगत्मा कैयौँ नाम नचलेका सीता, रावण र रामको खेल जारी छ । राजा खलकमा घटेका घटना मात्र नमुनाका रूपमा इतिहासका पानामा कोरिन्छन् । सर्वसाधारणका घरमा अत्यास लाग्दा, कहाली लाग्दा, पट्यार लाग्दा उदेक लाग्दा र अचम्मका दुष्टात्माले दर्दनाक र सर्मिन्दा घटनाहरू पीडित आआफ्नै तपोबलले पचाउन विवश छन् ।
विराटनगरकी ख्याति श्रेष्ठलाई सिलिपिङ ट्याब्लेट खुवाएर टुक्रा टुक्रा पारेर छिन्न भिन्न पार्ने दुष्टात्मा जीवित रूपमा जेलमा त छ तर त्यस्ता दुष्टात्मालाई छानो र मानोको व्यवस्था गरेर पोस्नु आवश्यक छैन । त्यस्तालाई टुँडिखेल खनेर खेती गरेर कमाउनु पर्छ अपराध गर्नु पर्दैन भन्ने सामान्य ज्ञान सिकाउनु पर्छ । दुष्टात्मालाई श्रम गर्न सिकाउनु पर्छ । नत्र यो भड्की राख्छ, पड्की राख्छ र दिमाग पनि सडकी राख्छ । यस्तालाई मान्छेका समाजमा जीवित छ भन्ने सुइको पनि दिनु हुन्न । जीवित राख्नु त झन् अर्काे मुख्याई ठहर्छ ।
पश्चिममा मुलुकको रहन, सहन, पठन, पाठन जे जस्ता गतिशील प्रगतिशील कृया कलापहरू भएका छन् त्यसको खिलाफमा बोकोहराम नामका दुष्टात्माले रावणको भूमिका निभाइ राखेका छन् । सयौँको संख्यामा स्कूले नानी बाबुहरूलाई आफ्नो काबुमा राखेर सातो पुत्लो उठाइ राखेको छ । दुनियाँलाई दुष्टात्माले पिरोली राखेको छ । पिरोल्नु, सताउनु, ढाँट्नु, मारपिट हरेक प्रकृतिका कुकृत्यहरू दुष्टात्माका प्रिय कर्महरू हुन् ।
जुनसुकै देशका सहीदहरू आफै भएका होइनन् दुष्टात्माले धानमा पारेर प्राण पिएपछि सहीदको सम्मान पाएका हुन् । त्यसैले सबै सहीदहरू दुष्टात्माको आत्मातृप्तिका लागि चारो बनाइएका चराहरू हुन् । विचरा अघाउन्जेल बाँच्ने उमेर लिएर आए पनि विचमै निमोठिन विवश भए । दुष्टाचरणमा रमाउने सज्जनहरूले अर्काको मरणलाई सामान्य सोच्छन् र गोद्छन् । भुँडी फर्काउँछन् र कम्बर मर्काउँछन् । कतिपय दुष्टात्माहरूले सङ्ला, सग्ला कन्चन चेलीबेटीहरूलाई सीमा कटाएर नाङ्गेझार पारेर मुख मिठ्याई राखेका छन् । सोझा सिधा निरिहहरूको मृगौला लाइक गर्दै डाक्टर र विरामीसँग शेयर गर्नु त दुष्टात्माको दैनिकी हुँदै आएको छ ।
कोचाकोच यात्रु बोकेर भीरमा कसिंगर फालेझैँ फाल्ने दुष्टात्मालाई नेपाली जनजिब्रोले गुरुजी भन्ने गरेको छ । अर्काको हुर्मत लिने गुरुजीहरू नै गुरुको खिलाफमा तन, मन, धन र दिलो ज्यानले लागि परेका छन् । नौका, पुल, पुलेसा, जहाज, रेल, नानाभाँतिका सवारीको अवस्था ठिक राख्न नसक्ने ठिक हुन नदिने दुष्टात्माहरू घर आँगनमा घिउ भात खाएरै मण्डल मारिराखेका छन् ।
स्त्री रोग विशेषज्ञ बनेर सुत्केरी गराउन नसक्ने, बाल रोग विशेषज्ञ बनेर बालकको सिंगान रोक्न नसक्ने, अप्रेसन गरेर राम्रोसँग टाँका मार्न नसक्ने डाका (यहाँ डाका भनेर डाक्टरको काम) पनि दुष्टात्मा कै परिधिमा पर्छन् । जसले गरी खान होइन ठगी खान मात्र जानेको हुन्छ ।
बाली विशेषज्ञ बनेर खाली पेटले मल बिउ, विजन हसुर्ने, सरकारको चर्काे नुन खाएर देशप्रति बेइमान गर्ने दुष्टात्मा समेत गर्दा यहाँ दुष्टात्माको जुलुस तयार हुन सक्छ । त्यसैले हामीले यसरी बुझौँ जुम्रा, जुका, उडुस, उपियाँ, लामखुट्टे अर्थात् घरेलु र बनेलु विभिन्न अनुहार र आकार प्रकारका दुष्टात्माहरूले हामीलाई परिक्रमा गरिराखेका छन् । मौका मिल्नासाथ बाजले चल्लामाथि झम्टेझै घोप्टो परेर शिकार गर्न सक्छ । दुष्ट मतिले घुम्नु, चुम्नु, दुष्टात्माको दिनचर्याभित्र पर्छ । यसबाट बाल बाल बाँचियो भने पनि हामीले आफूलाई अभागी भन्न मिल्दैन ।
हो परम पुजनीय पाठकवृन्द, दुष्टात्माले यही रूप धारण गरेर दुःख दिन्छ भन्ने कुनै ठेगान हुँदैन । छोरा, छोरी, श्रीमान् श्रीमती, छोरा बुहारी, ज्वाइ छोरी, नाति नातिना, अर्थात् मानवीय नाता भित्रै पाता फर्काउने किसिमले रहेको हुन्छ । उदाहरणका लागि केही वर्ष अगाडि नेपालका प्रहरी अधिकृत रञ्जन कोइराला (पोखरा) ले आफ्नै श्रीमती (झापाकी) लाई काठमाडौँमा मारेर हेटौँडामा आधा डढाएर छोडेका थिए । जे होस् आफूभित्र सुरक्षित रहेको दुष्टात्मालाई आफ्नै पाराले प्रस्तुत गर्नु सज्जन मान्छेको कर्तव्य हो । दुष्टात्माले शीर उठाई सकेपछि भीर निकट छ भन्ने साइकोलोजी बुझ्ने ह्याउ र दाउ भएमा सज्जन सिङ्गो आयूका साथ अघाउन्जेल बाँच्ने सम्भावना प्रबल भएर जान्छ त्यसैले खराब आत्मरतीमा रमाउने कि असल बाटो समाउने सज्जन बृन्दको खोपडीको खेलमा भर पर्छ । अनि मात्र दुष्टात्माले दशौँ किसिमका नरकमा के पायो के पाएन के खायो के खाएन छर्लङ्ग हुन्छ ।
फूलबारी–११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३
Subscribe
Login
0 Comments
Oldest








































