लक्ष्मण गाम्नागेयस्तै अचम्म भइरहोस् !
एकाबिहानै टेलिफोनमा घण्टी बज्यो । फोन उठाएँ ।
उताबाट भन्यो– “तपाईं देवीको को हो ?”
बिहानैको कुरा, मैले एकछिन सोचेर भने– “भक्त” ।
“होइन होइन, गीताको ?” उताबाट संशोधित प्रश्न आयो ।
“पाठक ।” यताबाट उत्तर गयो ।
“मैले भगवती देवी वा भागवत गीताको कुरा गरेको होइन । कुरा गम्भीर छ, राम्ररी उत्तर दिनुस् ।” उताको मान्छे अलि कड्कियो ।
“चार–चार– छ–छ– आठ–पाँच–पाँच होइन यो ?” उताकाले सोध्यो ।
“के भनेको त्यो ?” यताकाले पनि सोध्यो ।
“फोन नम्बर ।” उताबाट जवाफ आयो ।
“होइन, चवालीस छैसठ्ठी आठसय पचपन्न हो ।” मैले भनेँ ।
“जसरी भने पनि त्यही हो । तपाईंको कोही मान्छे एकाबिहानै घरबाट बाहिर कतै गएको छ ?” उसले सोध्यो ।
“छ ।” यसले भन्यो ।
“तपाईंको को हो ?” उसले छाड्दै छाडेन ।
“मेरी आफ्नै श्रीमती । किन धेरै खोजीनीति ? अपहरणकारी हो कि क्या हो । मसित त फिरौती तिर्ने एक पैसा छैन है भाइ । अपहरण गरेको भए थपक्क छाडिदिए हुन्छ ।” मैले ठट्टा गर्ने सुर छाडिनँ ।
“गीता हो नाम ?” उसले सोधपुछ गर्न छाडेन ।
“त्यो त बोलाउने नाम हो, केही फरक पर्दैन । न्वारनको एउटा छ, नागरिकतामा अझ अर्कै छ । म भन्दिनँ ।” आज बिहानैदेखि मेरो मुड रमाइलो गर्नेतिर लाग्यो । सम्झेँ आज दिनभरि रमाइलो हुनेभो ।
“देवी हो ?” लौ ! यो पनि पो मिलायो त ! म अलि झस्किएँ ।
“तपाईंले उसको नागरिकता फेला पार्नुभो कि क्या हो, हराएर कस्तो गाह्रो भइराथ्यो !” मलाई त त्यता पो आशा पलायो । फेरि सम्झेँ, नागरिकतामा बोलाउने नाम त हुँदैन । मलाई अलि डर लाग्यो ।
“तपाईंकी श्रीमती दुर्घटनामा परेर वीर अस्पतालको ‘इहीँ मर जेन्सी’ मा राखेको छ । तुरून्त आउनुस् ।” उसले यसरी पूरा भूमिका बाँधेर एक्कासी बम विस्फोट ग¥यो ।
म स्तब्ध भएँ । मेरो होश हरायो । मेरो मुखबाट एक शब्द पनि निस्केन । शरीर चिसो भयो । म थरथर काम्न थालेँ । भयभित हुँदै एकैछिनमा वीर अस्पताल पुगेँ ।
बाटोभरि मैले चिताएका आतङ्ककारी आशङका दूर भए । श्रीमती जिउँदै देखिइन् । हातखुट्टा सग्लै देखिए । वरिपरि डाक्टर, नर्स र अरू दुईजना अपरिचित व्यक्तिहरू उनको स्याहारसुसार गर्दै थिए । निधारमा बहर गोरुको भर्खर निस्कँदै गरेको सिङ जस्तो लाम्चो एकल सिङ् उम्रिएछ । ओठ फुलेर पूरा अघाएको भ्यात्लुङजस्तो भएछ । ओठ काटिएर रगत बग्दैरहेछ । अनुहार हेर्दा साँच्चै विचित्रको देखिएछ । बाटोमा भेट भए नचिनिने । स्थिति हेर्दा लाग्यो, न सानो न ठूलो, ठिक्कको दुर्घटना भएको रहेछ । उनी होशमा आउँदै थिइन् । म पुग्दा केही उपचार सकिएका थिए । थप केही उपचार भयो । एक्सरेले भित्री चोट नभएको बतायो । ओठ सिलाउने लगायतका केही उपचार र प्रहरी प्रक्रियाहरू पूरा गरेर ओखतीमुलो सहित उनलाई घरमा ल्याइयो ।
घरमा ल्याएपछि पो मन एकतमासले आश्चर्यमा प¥यो । यसो सम्झेँ– आज अचम्म अचम्मका घटना भए । सपना हो कि विपनाजस्तो । दुर्घटना भएको त विपनै थियो । घाइते श्रीमती अगाडि नै थिइन् तर उनी जिउँदै हुनु र यत्ति छिट्टै यति सजिलै घर आइपुग्नु मेरा लागि सपनाजस्तै भयो ।
श्रीमती विपरित किनारामा अडिएको माइक्रो बसबाट ओर्लिंदा के चाल परेर हो सडकमा पछारिइछन् र बेहोस भइछन् । सडकमा पछारिएको घाइतेलाई माइक्रोले पछाडि सारेर किच्ने एकरति प्रयास गरेनछ । एकाबिहानैको खालि सडक, वेगवान गतिमा पछाडिबाट हुँइकिने गाडीमध्ये कुनैले थप ठक्कर दिएनछ र कच्याक्क पारेर किचेनछ । वरिपरिका दर्शकहरूले घेरेर ड्राइभरलाई रामधुलाई गर्ने काम पनि गरेनछन् । माइक्रोमा ढुङ्गामुढा गर्ने र आगो लगाउने केही पनि भएनछ, अचम्म ! बरू उल्टै उनीहरूले ड्राइभरलाई घाइते उठाउन सघाएछन् । एकजना दर्शक र चालक मिलेर घाइतेलाई गाडीमा हालेर पाँचै मिनेटमा वीर अस्पताल पु¥याएछन् । ल हेर्नोस् त, अचम्म !
वीर अस्पतालमा डाक्टरहरूले तुरून्तै हेरचाह गरेर उपचार सुरू गरिहालेछन् । चालक र त्यो व्यापारीले घाइतेलाई समातेर एक्सरे गराउन लगेछन् । एक्सरे मेसिन पनि बिग्रिएको रहेनछ । बत्ती पनि आइरहेको रहेछ । प्राविधिक पनि ड्यूटीमा तैनाथ रहेछन् । पाँचै मिनेटमा एक्सरेको रिपोर्ट आएछ । अचम्ममाथि आश्चर्य थपिँदै गएछ । चालकले मलाई गर्दा एकै पटकमा फोन पनि लागेछ । फोन पाउनासाथ अस्पतालतिर हुँइकिएको म एक ठाउँ पनि ट्राफिक जाममा नपरी अस्पताल पुगेछु । ल हेर्नोस त !
म अस्पताल पुगेर घाइतेको अवस्था बुझ्न खोज्दा एकजना युवा डाक्टरले अचम्मैसँग मलाई नमस्कार गरे । मैले उनलाई पहिला नमस्कार नगरेकोमा यिनले मलाई व्यङ्ग्य गरे भन्ठानेर अप्ठ्यारो मान्दै नमस्कार फर्काएँ । नभन्दै व्यङ्ग्यमिश्रित आवाजमा उनले बिस्तारै सोधे– “उहाँ हजुरकी श्रीमती हुनुहुन्छ ?”
मैले भनेँ– “हजुर डाक्टरसाब । के के भएको छ डाक्टसाव ?”
“खासै केही भएको छैन । निधारमा देखिहाल्नु भो, आलु फलेको छ । ओठमा मूला फलेको छ । आलु र मूला, मूला र आलु बाहेक ठीक छ ।” उसले ङिसङिस हाँस्तै भन्यो ।
कस्तो खुस्केको डाक्टर रहेछ । यस्तो आपतका बेला पनि जिस्किन्छ । म भित्रभित्रै रिसाएँ ।
उसले बिस्तारै सोध्यो– “तपाईंकी श्रीमती गाडीबाट सोझै सडकमा हाम फाल्नुभएछ ?” प्रश्न सुनेर मलाई झननन्न रिस उठ्यो । तर रिसाउनु श्रीमतीको स्वास्थ्यका लागि हानिकारक होला भन्ठानेर मैले भनेँ– “त्यस्तो त कसरी होला र ! उमेर पुगेकी मान्छे । छोराछोरीकी आमा । बानीव्यहोरा पनि बिहानसम्म सध्य नै थियो । घरबाट हिँड्दा मानसिक अवस्था पनि राम्रै थियो । यिनले त्यस्तो हर्कत गरिन् होला र ! हामफाल्नै खोजेको भए उतापट्टि हामफाल्नुपर्ने । रानीपोखरी अगाडि नै हो नि डाक्टरसाब घटना भएको !”
उसले उसैगरी बिस्तारै भन्यो– “उसो भए गाडीभित्रका मान्छेले घचेडेर झारेछन् त ?”
मेरी बास्सै, कस्तो दुष्ट डाक्टर रहेछ यो ! कुरा सुनेर मैले रिस थाम्नै सकिनँ । भनेँ– “अँ ! त्यो ड्राइभरलाई बहुला कुकुरले टोकेको रहेछ । पहिला लात्तले हानेर खसालेछ । पछि आफैंले उठाएर यहाँ ल्याएछ ।”
त्यसपछि पनि डाक्टर शान्तै थियो । मलाई लाग्यो डाक्टरको भेषमा कुनै मानसिक रोगी वीर अस्पतालमा प्रवेश गरेछ । मैले कुनै कुनै चलचित्रमा यस्तो देखेको थिएँ । आज प्रत्यक्ष देख्न पाएँ । नक्कली डाक्टरले मुसुमुस हाँस्तै भन्यो– “के हो सर ! नेताहरूलाई त नराम्रोसँग व्यङ्ग्य हानिन्छ । आफू त यसो ठट्टा गर्दा पनि रिसाइँदो रहेछ नि ।”
डाक्टरको कुरा सुनेर म झसङ्ग भएँ । यसले मलाई चिनेर ठट्टा पो गरेको रहेछ । कुरैकुरामा थाहा भयो, उसले शिक्षण अस्पतालमा विद्यार्थी छँदा मेरो ‘आलु कविता’ सुनेको रहेछ । अनि पो मूला र आलु, आलु र मुलाको प्रसङ्ग ल्याएको रहेछ । डाक्टरको त्यो मनोरञ्जक शैली मलाई मन प¥यो । उसैले सबै कुरा सम्झाएर हामीलाई घर जाने अनुमति दियो । यस्ता रमाइला मिजासका डाक्टर सरकारी अस्पतालमा भेटिनु मेरा लागि एउटा अचम्म भयो ।
अचम्महरू थपिँदै गए । हामी घर जानुअघि माइक्रो बस समितिका मान्छे आएर घाइतेको उपचारमा पूरै केन्द्रित भए । जम्मा भएका बिलहरूको भुक्तानी गरे । हामीले कतै उजुरी गरेको थिएन । उपचार गरिदेऊ भनेको पनि थिएन । “राम्ररी उपचार गरेर मात्रै बिरामीलाई घर लैजानुहोला । लागेको खर्च समितिले व्यहोर्छ ।” कुरा सुनेर मैले सपनामा छु कि भनेर आफैंलाई चिमोटि हेरेँ । ट्राफिक प्रहरीका एकजना हवल्दार आएर थानामा जाने, कागज गर्ने सबैतरिका मीठो बोलीमा सिकाए । प्रहरीको त्यो व्यवहार पनि अनौठो अनौठो लाग्यो । हिँड्ने बेलामा चर्पी जानुप¥यो भनेर परैबाट नाक छोप्तै गएको भित्र पस्ता त चिटिक्क पारेर सफा बनाइएको, मगमग बास्ना आउने पो छ । ल हेर्नोस् त, कस्तो अचम्म ! हामी निस्कने बेलामा ती डाक्टर, ट्राफिकका हवल्दार, चालक र समितिका मान्छे लागेर बाहिरसम्म ल्याए । प्रहरीले ट्याक्सी बोलाए, समितिका मान्छेले ट्याक्सीलाई अग्रिम भाडा भुक्तानी गरे । सबैले मसँग हात मिलाए । टेलिफोन नम्बर आदानप्रदान भयो । साँच्चै अचम्म भयो ।
ट्राफिक प्रहरीले दुवैथरिलाई सम्झाए– “गाडीमा चढ्दा र ओर्लंदा होश गर्नुहोला दिदी । यी ड्राइभरहरू भनेको मान्दैनन्, ढोका सधैं बन्द राख्नुपर्छ भनेको यही कारणले हो ।”
त्यस्ता अचम्मका घटना व्यहोरेर ठूलो युद्ध जितेर फर्केजस्तो, थुप्रै नयाँ साथीहरूसँग चिनजान भएर रमाइलो भएको जस्तो खुशीको मुडमा पो घर पुगियो । मैले श्रीमती दुर्घटनामा परेको कुरा पनि पटकपटक बिर्सिएछु त्यो बेला ।
वास्तवमा मलाई यो दुर्घटनाले एउटा अनौठो आनन्द दियो । दुर्घटनाका धेरै समाचारहरू आइरहन्छन् । दुर्घटना हो, कसैले जानीजानी गरांै भनेर गर्ने त होइन । दुर्घटना हुँदा ड्राइभर नभाग्दा पनि हुँदोरहेछ । ड्राइभरलाई कुटपिट नगर्दा पनि हुँदोरहेछ । गाडी तोडफोड नगर्दा पनि हुँदोरहेछ । अस्पतालमा छिटोछरितो सेवा दिँदा पनि राम्रै हुँदोरहेछ । सरकारी अस्पतालका मेसिनहरू, डाक्टरहरू, प्राविधिकहरू सब फिटफाट हुँदा पनि गजबै हुँदोरहेछ । अस्पतालका ट्वाइलेटबाट दुर्गन्ध नआउँदा मजै लाग्दोरहेछ । डाक्टर र नर्सहरूले बिरामीसँग मीठो व्यवहार गर्दा बिरामीलाई आनन्द लाग्दोरहेछ । घाइते सडकमा पछारिँदा उछिट्टिएको झोला, झोलाबाट उछिट्टिएको मोबाइल फोन, नगद सबै जस्ताको तस्तै हातपर्दा पनि अचम्मै लाग्दोरहेछ । यस्ता अचम्महरू भोग्न पायौं हामी बूढाबूढीले गएको हप्ता । बिस्तारै बिस्तारै यस्ता अचम्महरू सम्पन्न हुँदै गए, यस्तै अचम्म अचम्मका समाचारहरू सुनिरहन पाए तपाईंलाई पनि अचम्मै लाग्थ्यो होला हगि !
‘गोरखापत्र’ माघ ९, २०६७
Subscribe
Login
0 Comments
Oldest







































