साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाउँ फेरिपाऊँ

Nepal Telecom ad

अहिले हरेकतिर नाउँ फेर्ने प्रचलन बढ्दोछ । मपको रात्रि बैठकको निर्णय वा संसदको दिवा घोषणाबाट अनेकको नाउँ फेरिएको छ । प्रजातन्त्र शिशु अवस्थामै पखाला लागी सुइँकिएकाले सबभन्दा पहिले प्रजातन्त्रको नाउँ लोकतन्त्रमा फेरियो । अर्थ उही भए’नि कहाँको पुरानो प्रजातन्त्र, कहाँको नयाँ लोकतन्त्र ! प्रजातन्त्र प्रतिगामीहरूले प्रयोग गर्ने शब्द भएकाले त्यसलाई फेरी लोकतन्त्र बनाइएको भन्ने सुनियो । कुरा बेठीक पनि थिएन । अग्रगामीले पश्चगामीजस्तो हुन पनि त भएन नि ! ठूलो परिवर्तनपछि काम धेरै फेरिन्छन् भने अत्यावश्यक कतिपय नाउँ पनि फेरिन्छन् । नाउँ राख्ने कामलाई न्वारान भनिन्छ र त्यो काम पुरेतबाट हुनेगर्छ । अब नाउँ फेर्ने कामलाई फेरान भनौँ र त्यो काम विशेष निर्णयबाट गरौँ ।

ठाउँ उही, माउ उही, काम उही, दाम उही, हाम उही केवल हाम गर्ने दुईचार बच्चा फेर्नु अनि कको ठाउँमा ख ल्याउनु, कको सट्टा खको चाकडी गर्नु र कले गरिरहेको भोजनभट्ट खलाई हस्तान्तरण गर्नु नै लोकतन्त्रको नाउँ र परिभाषा हो भने प्रभु मलाई यस्तो लोकतन्त्रभन्दा ठोकतन्त्र नै भएपुग्छ । हिजोका प्रतिगामी भनिएकाहरू आज नाउँ फेर्नेबित्तिकै घोर लोकतन्त्रवादी हुने र मजस्ता दीनदुखी जनताचाहिँ जहाँको तहीँ रहिरहने भए त्यस्तो परिवर्तन मलाई चाहिएन । यस्ता कुरा गरेबापत बरु मलाई प्रतिगामीमा नाउँ दर्ता गरी फाँसी दिए ढुक्क हुन्छ । राष्ट्रिय अस्मिता नै सङ्कटग्रस्त भएपछि शान्तिको माला जपेर ज्योतिष हेराउँदै शासन लम्ब्याउनुको के अर्थ ? हिजोकाले देवीका नाउँमा बलि चढाउँदै देश भ्रमण गरे, माला थापे र राष्ट्रिय ढुकुटी सुकुटी पारे । आजका देवको नाउँ पुकारी उही रीतले विदेश भ्रमणमा मस्त रहे भने के फरक भयो र हिजो र आजमा ? सायद यो त लोकतन्त्र होइन होला ? शिशु छउन्जेल लोकतन्त्र पनि यस्तै चकचके हुन्छ कि त ? हामीकहाँ धारा एकसय सत्ताईस, माघ उन्नाईस आदि अब त मिथ बनिसके । अन्तरिम रूपमा तिनका पनि नाउँ फेरिए । अहिले कतिपय त सनककै भरमा पनि भटाभट नाउँ फेर्न थालियो । संसारभर प्रसिद्धि प्राप्त गरिसकेका संस्थाहरूका पनि नाउँ फेरिए, फेरिँदा छन् । हामीलाई कतिपय नाउँसँग एलर्जी भयो, फेरियो, तर नाउँ मात्र फेरियो, काम फेरिएन भने त्यस्तो फेराइको के नै पो अर्थ रहला र ? यो त बोतल फेर्नेजति पनि भएन, बोतलबाहिरको लोगोमा भएका केही शब्द मात्र फेरेर आमूलचूल परिवर्तन गरेको ठान्न थालियो । भित्री संरचना उही र उस्तै कुहिएको दुर्गन्धित भए पनि बाहिरको बोर्ड फेरी ठूलै परिवर्तन गरेको झ्याली पिटेर मख्ख परियो । श्रीपेच र दण्ड फेरियो, छेडपेच र डन्डा भित्र्याइयो । केही लाउकेहरूलाई नाउँ फेर्ने जागिर दिइयो पनि । ठीकै छ अब पुरानाजतिलाई सुइँक्याइदिऊँ नयाँनयाँ विस्तार गरौँ ! हिजोका पुरानाजति सब नयाँ बनाउन लाग्दा बाउआमा, लोग्नेस्वास्नी, छोराछोरीसमेत अब नयाँ बनाउनु पर्ला !

आफू त सानैदेखि पढ्नमा लद्दुलाल भएकाले जतिपटक जाँच दिए पनि पास हुन नसकेपछि बुर्जुवा शिक्षा बहिष्कारको नारा लाउँदै नाउँ फेरि अन्डरग्राउन्ड भइयो । गाउँबाट सहर पसियो । चिचिला कचिला सुम्सुम्याउँदै बसेकै घरकी बुढीकन्या उछिट्ट्याइयो । अलि पछि खुला भइयो । स्वच्छ छविमा नाउँ दर्ता गराइयो, मन्त्रीसन्त्री भइयो । कतैका र कतैकी केही बाँकी राखिएन । अनेक पटक नाउँ फेरियो । अब एकपटक फेरि फेर्नु प¥या छ । उहिले त धेरैथोक भ्याइयो भने अब त मजस्ता चुपिचन्डाललाई यस्ताउस्ता पड्काउन कति बेर लाग्छ र ?
अहिलेको नाउँ फेर्ने लहरमा प्रभु मेरो पनि नाउँ फेरिदिनु प¥यो । प्रतिगामी कालमा उन्नाईसअगि राखेको मेरो नाउँ तु फेर्ने आका गरी घोषणा, अध्यादेश वा के ल्याउनु पर्छ ल्याइदिनु प¥यो । सर्वप्रथम मेरो नागरिकताको प्रमाणपत्र फेरिपाऊँ । मेरो नागरिकतामा प्रतिगामीसँग जोडिएको नाउँ पशुपतिनाथ नेपाल छ । अब फेरेर बिहारीलाल नेपाल बनाइपाऊँ । मेरी ठाहिँली श्रीमतीको नाउँ अहिले राजमती भारती छ । अब लोकमती नेपाली बनाइपाऊँ । उताको नागरिकता यताको बनाइपाऊँ । मैले नयाँ नागरिकता लिन यताउताका मिलाएर साक्षी तयार गरिसकेको छु । कतिले लिइसके अब म मात्र बाँकी छु । यसपछि त उता हुँदा उतैको, यता हुँदा यतैको, जताततैका । क्या मज्जा !

यहाँ पढ्न नसकेर बुर्जुवा शिक्षा बहिष्कार भन्दै भित्रभित्रै लुकेर मित्रराष्ट्रतिर हान्निई ल्याएको एउटा सर्टिफिकेटमा भएको नाउँ परिवर्तनका लागि पनि पहल गरिदिनु प¥यो । नयाँ नागरिकतासँग मिल्ने गरी मेरा भएका शैक्षिक प्रमाणपत्रको नाउँ र श्रेणी पनि फेरिपाऊँ । नयाँ नागरिकताअनुसार बिहारीलाल नेपालका नाउँमा मेरो पुरानो सर्टिफिकेट नयाँ गरिपाऊँ । पहिलेका प्रतिगामी कालमा दिइएको तृतीय श्रेणी अब प्रथम श्रेणीमा परिवर्तन गरिपाऊँ, प्रभु लोकनारायण नमः ।

दक्षिणायन इसाराबमोजिम मन्त्री बनी लोकतन्त्र जोगाउनाका लागि कम्मर कसेर रामनामी पीताम्बरका साथ अगि बढेको म अहिले नागरिक समाजको स्वघोषित अध्यक्ष बनिसकेको मान्छे । सर्टिफिकेटको त खास काम छैन, तैपनि मलाई पुरानासँग सक्त नफरत भएकाले नै नयाँ नाउँ राखेर आफ्नो पहिचान बनाउने विचार गरेको हुँ । हाललाई मैले आफ्नो र श्रीमतीको पछिल्लो थरचाहिँ कायम राख्ने निधो गरेको छु । मेरो थर देशसँग अनि श्रीमतीको चाहिँ देशवासीसँग मिल्ने खालको भएकाले त्यो सुन्दा धेरै ठाउँ मान्छेहरू हाँस्ने गरेको पीडा छुट्टै छ । तैपनि योचाहिँ अहिलेलाई नफेरी कायमै राख्ने विचार छ । कुनै दिन सांसद वा मन्त्री भएपछि सनक चढ्यो भने त्यो पनि फेर्न बेर लाउँदिन । त्यतिबेलासम्म नफुटे हामी आठै भाइ मिलेर निर्णय गरौंला ! त्यो कामचाहिँ पछिको पहिलो बैठकसम्मका लागि थाती राखौँ ।

हुन त यो फेर्ने चलन सारै नयाँ होइन । कुरा फेर्ने त हाम्रो जन्मजात संस्कार नै हो । मन्त्री भए’सि थर फेर्ने प्रचलन पनि पुरानै हो । उहिल्यैका थर गोत्र पत्ता नलागेर सिंह भनिएका मरिचहरू मन्त्री हुनेबित्तिकै श्रेष्ठ बनेकै हुन् । देउपाहरू पनि देउवामा रूपान्तरण भएकै हुन् । लाउतीले पनि साउती मारेकै हुन् । त्यति मात्र होइन गैरेहरू डाँडे र पातकीहरूजति प्रधान पनि त भएकै हुन् नि ! मातृदेवहरूले पनि प्रसाद जोड्न थालिसके । यसैले थरै फेर्न पनि मन्त्री हुनुपर्ने स्थिति छ । मन्त्रीले थर फेरेपछि लाउकेहरू स्वतः फेरिइहाल्छन् ।

अब सुनामीको प्रचण्ड बादल बर्साई अग्निदहनका साथ दीनदेवहरूको चैतन्यका लागि कृष्णहरू मिलेर रामराज्य ल्याऊँ । पुरानाजति सबैको नाउँ फेरौँ, नयाँ नाउँबाट चिनियौँ । प्रतिगामीसँग मिल्ने जति नाउँ सब फेरौँ । वर्णमालाबाट त्यस्ता वर्ण नै झिकौँ र नवनव सिर्जना गरौँ । भित्र हस्ताक्षर गरेर बाहिर आई निर्णयको मसी नै सुक्न नपाउँदै विरोध गर्ने भए’सि अब ‘निर्णय’ शब्द नै फेरिदिऊँ । साँच्चिकै राम्रो गर्ने भए चाकडीबाट जे पनि हुने भएकाले अब त्यो शब्द मात्र होइन नेपाली वर्णमालाबाट ‘च’ नै झिकिदिऊँ । सकेसम्म हाम्रो थरचाहिँ जस्तै सनक चढे पनि र देशीविदेशी जोसुकैले भने पनि भरसक नफेरौं । बाँकी नाउँजति सबकासब फेरौँ ।
पुरानो संसदको नाउँ व्यवस्थापिका संसद अनि सांसदको नाउँ विधायक बनाएर ठूलै परिवर्तन गरिसकिएकै छ । अब भ्रष्टाचारको नाउँ दानदातव्य राखौँ, मन्त्रीको नाउँ हन्त्री राखौँ, मन्त्रालयको नाउँ घिचुवालय, विद्यालयको नाउँ सिध्यालय, विश्वविद्यालयको नाउँ भागबण्डालय, शौचालयको नाउँ कुरुवालय, मुत्रालयको नाउँ पुत्रालय, एकेडेमीको नाउँ ढुकुवालय वा लाउके भर्तीकेन्द्र, जिएम्को नाउँ एम्जी, सिडिओको नाउँ भिडियो बनाए हुन्छ । यस्तै पुलिसको नाउँ फुलिस… । सुरुमै संशोधनको सर्त राखेर पारित गर्ने र लागू हुन नपाउँदै वैयक्तिक सनकका आधारमा पलपलमा फेरबदल गरिरहने अन्तरिम संविधानलाई खन्तरिम साउनेधान राखिदिए हुन्छ । अहिलेका कालु पाँडे जति सेतु आँडे बनाइदिए हुन्छ । यस्तैयस्तै कसकसको केके फेर्ने भन्नेबारे सबै आठै ग्रह मिलेर एकरात बालुवाघाटमा छलफल गरौंला ।

आजको नारीवादी युगमा पुरुषहरूलाई सारै गाली गरिसकियो । अब त्यहाँ पनि फेरौं । नारीलाई आजैदेखि पुरुष र पुरुषलाई नारी भन्न थालौं । त्यसो भए गालीसाली पनि कम, कामकाज शून्य । प्रतिशतको कुरा पनि बन्द …। राजा फ्याँकौँ, रानी ल्याऔँ । राजालाई रानी बनाई नारीको सम्मान गरौँ । काम थालनीको तरखर भइसकेको छ । कानुन बनाइहालौँ । ढिलो नगरौँ !

हरेकको नाउँ फेर्नका लागि एउटा शब्दकोश बनाउन थालौँ । छिटो गरौँ । त्यो काम पनि पुरानो एकेडेमीको ढुकुवा लिँडेपतिलाई वा लाउके भर्ती केन्द्रका नयाँ हवल्दारलाई जिम्मा दिऔँ । त्यसो गरे’सि दुईचार लाउकेले जागिर पाउँछन् । त्यसमा विशेषज्ञताको कसी सदस्यता बनाऊँ । कसैको सदस्यता लिएका जति विशेषज्ञ नलिएका जति अल्पज्ञ… बस !

उहिल्यै जङ्गे सानाले पाँचलाई थर्काएर तीन जोडे । अहिलेका ज्ञानी ठान्ने बुद्धु्रहरूले वीर भनिने काँतरहरूको जरोबुटै उखेलेर ठूलै सिकार गरी पुरानो पाँचमा संशोधन गरे । सत्तामा पुगेपछि जोड्ने र फेर्ने क्रम पुरानै भए पनि अहिले फेर्ने काम अलि बढ्तै हुन थालेको छ । विश्वप्रसिद्ध पुराना नाउँहरू पनि प्रतिगामी भन्दै फेरिए । अहिले नेपालको नाउँ पनि ‘नयाँ नेपाल’ भएको छ । नयाँ नेपाल भनेको तेईसे, चौबीसे, एकाउन्ने, बाउन्ने बनाउन खोजेको त होइन होला ! यस नयाँको अभिप्राय अब भोजनभट्टको पालो पुरानाको होइन, नयाँको हो भन्ने मात्र भए त केही भन्नु छैन । नामले नभएर कामैले साँच्चै नयाँ भए त कुरा ठीकै छ ।

सडकका कुकुर बिरालाहरू सिंहदरबार छिर्नेबित्तिकै आपसमा मित लगाएर भोजनभट्टमा जुट्ने चलन पनि उति नयाँ होइन । अब सिंहदरबारको नाउँ पनि पुरानिएकाले नयाँ नाउँ स्यालगुफा राख्नु उपयुक्त हुन्छ । एक पुस्ता त के सात पुस्तासम्म मुद्दा टाँगिदिने र जनतालाई अनावश्यक दुख दिने कामको प्रकृति हेर्दा न्यायालयलाई खायालय र सर्वाेच्चको नाउँ सर्वनीच राख्नु बेस हुन्छ । उच्च पदासीनहरू जनताका माग एक हप्तामा पूरा हुने वचन दिन्छन्, तर वर्षौं बितिसक्दा पनि पूरा हुँदैन । अब कति दिनको एक हप्ता हुन्छ भन्न पनि गारो भइसकेकाले हप्ता शब्दै पनि फेरिदिनु प¥यो । फेरानसम्बन्धी यी दुईचार प्रस्ताव मात्र हुन् । धेरैतिर धेरै थोक फेर्नु छ । यसका लागि म बिछट्टै सिपालु छु । भएको संरचना विनिर्माण गर्न र नाम फेर्न मलाई नाउँ फेरान आयोगको अदक्ष बनाएर केही समय मेरो बेरोजगारी हल गरिदिए तपाईंहरूको पनि कल्याणै हुनेछ ।
यी सब गन्थनको चुरोचाहिँ के भने अरूको जे गरे पनि मेरो प्रतिगामी नाउँचाहिँ आजैदेखि फेरिपाऊँ भन्ने हो । यत्रा थोक सब फेरिएपछि प्रतिगामी कालमा राखिएको मेरै मात्र नाउँ नफेरेर किन कायम राख्नु ? अतः तत्कालका लागिचाहिँ मेरो प्रचलित नाउँ फेरेर मेरो मनोकाङ्क्षा पूरा गरिपाऊँ प्रभु ! म बहत्तर घन्टासम्म नित्य तिम्रो नाउँ जपिरहन्छु । समय बढाउनु परे आठै ग्रहको आपसी सहमतिमा पछि पुनर्विचार गरौँला !

कीर्तिपुर
‘फित्कौली’ अङ्क १४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x