साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेलम्ची मैयाँलाइ पिरेमपत्र

Nepal Telecom ad

प्राणेश्वरी मेलम्ची मैया,

तिमीले यो उपत्यकालाई धोकेबाज ठानेकी हौली, उपत्यका त उपद्र्याहा रहेछ मलाई कलियो हालेर हुर्मत लिई भाग्यो भनेकी पो छौ कि ? भो मलाई त्यस्तो धोकेवाज नठान । मतलबी नमान । म त्यस्तो छैन, तिमी बिना म त बाँच्नै सक्दिन । मसँग वातचित मिलाएर मलाई चित पारी एकधर्सो सिन्दूर हाली अरूकै हितमा लाग्यो होला भन्ने ठानेकी हौली । त्यस्तो नठान मेलम्ची ।

जोगबूढातिरका बूढा शेरले तिम्रो हाम्रो सम्बन्धमा केही ढिलासुस्ती ल्याइदिए पनि तिमी ती बूढासित सीताले रामसँग अग्निपरीक्षा गरी खरो उत्रेझैँ उत्रेकी छौ । बूढालाई पनि दोष दिने ठाउँ छ छैन त्यो हामीलाई सबालको कुरो भएन । परिस्थितिले केही समय ढिलो हुन गए पनि तिम्रो र मेरो अन्तर्सम्बन्ध कायमै छ मेलम्ची । उपत्यकाले मलाई कलियो हालेर वैकल्य तुल्याएर त्रिशुलीसित बहकियो, उतै लाग्यो भन्ने नठान । मेरा दृष्टिमा त्रिशुली भन्दा तिमी धेरै माथि छौ । हाम्रा प्रविधिकले पनि तिमीलाई माथि नै देखेका छन् । त्रिशुलीसित मेरो न कुनै सम्बन्ध छ न भेटघाट । म त्यसरी एउटीलाई मन पराएर अर्कीपट्टि लाग्ने उपत्यका नसोच । कुनै हालतमा पनि म तिमीलाई छोड्न चाहन्न । तिमी बिना मेरो सुकेको दिल रसाइदिने अर्को कोही छैन । तिमी नै मेरो सर्वस्व हौ । तिमी आफ्नो परिवारसित बिदा भैसकेर पनि जन्मघरमा अर्को केही समय बस्नपाउनु नराम्रो होइन । तिम्रो मनमा केही परको भए, गाउँलेले कुरा कटेको भए माफ पाउँ मेलम्ची माफ पाउँ । गाउँभेगका चनौटे पाखा, किउल गाउँ, ग्यालथुमसम्मका छरछिमेकीसँग बिदा हुँदै हेलम्बुतिर हात हल्लाउँदै दायाँ वायाँका खेतबारी, टारीसँग वाइवाइ गर्दै तिमी काठमाडौँ आउन लागेकीलाई म किन छाड्थेँ । मैले माया मारेको छैन । हुन त मलाई पनि लाज भएको छ । बाह्र वर्षमा खोला त फर्कन्छ भन्थे । मैले तिमीलाई फर्काउन सकिन । बाह्र वर्षे रगतका खोला सुके त्यो पनि राम्रै भो । मैले कलियो हाल्न पठाएका प्राविधिकहरू त्यतै अलमलिएका छन् । तिम्रो र मेरो सम्बन्ध गाँसेर नगरकोटको नाक छेडी घुम्टो हालेर काठमाडौँमा ल्याई घुम्टो खोल्ने तिम्रो र मेरो इच्छा कायमै छैन र मेलम्ची । तिमी यो उपत्यकाको काखमा बसेर रमाएको हेर्न आतुर लाखौँ कान्तिपुरेहरूले तिमीलाई त प्राणको त्राण सम्झेर काकाकुलले आकाशतिर हेरेर मुखबाएझैँ गरेर हेरेकोहे¥यै छन् । कतिचोटि त मलाई सोधिसके । ‘खै त तेरो मेलम्ची’ ? भनेर । यताका कसैले तिम्लाई दोष लगाएको छैन । गरगहना र लहनतहनको लरवरमा ढिलो भएकोमा म दोषमुक्त छैन । बरु तिमी निर्दोष छ्यौ ।

कसैले हल्ला गरे भन्दैमा मेरी मेलम्ची कहिल्यै वैकल्य हुन सक्दिन । बूढीकन्या हुन पनि सक्दिन । तिमी उपत्यकामा (म कहाँ) आउनै पर्छ । म तिमीलाई स्याहारसुसार गर्छु, सम्मान गर्छु, पशुपति पु¥याउँछु, बूढानीलकण्ठ पु¥याउँछु, बागमती र विष्णुमतीको गतिमा सुधार ल्याउँछु । तिमी बिना म एक्लैले केही गर्न नसक्ने भएँ । तिमी मोफसलमा भए पनि सहरिया हुनै पर्छ । काठमाडौँबासी हुनै पर्छ । उपत्यकाको अङ्गअङ्गमा नसा नसामा सल्बलाउनु पर्छ । तिम्रो शीतलताबाट उपत्यकाबासीका हृदय रसाउनै पर्छ । पर्ख है मेलम्ची तिमी हामी प्रणयशूत्रमा पहिल्यै बाँधिएका हाँै । मेरा इष्टमित्र, छरछिमेकी धेरै र टाढा टाढासम्मका भएकाले मोटै रकमको आवश्यकता पर्ने भएकोले म मित्रराष्ट्रहरूसँग बिहेखर्चको ऋण माग्दै छु । तिम्रो हाम्रो सम्बन्ध गाँसिए पनि घुम्टो नहाली कसरी काठमाडौँमा पु¥याउने ? मेरो समस्या यही नै हो बुझ । तिमी उपत्यकामा उत्रन्छ्यौ भने दानी र दयालु दाताहरू रकम दिन तयार छन् । केही समयपछि प्रचण्ड गर्मी बढ्दै छ । त्यहाँमाथि बादल पनि लाग्ने होला । तैपनि काठमाडौँको तिर्खा मेट्न त तिम्रो विकल्प अरू केही छैन । कसैले तिम्लाई नआउ भन्दैन ।

तिम्रो माथमा मेरो हात परिसकेपछि तिमीलाई विदाइ गर्ने मेलम्चीबासीहरूले साहित्यिक विदाइ सम्मेलन गरेका थिए । त्यो मलाई झलझली याद आउँछ । सिन्धुपाल्चोके माइती पक्षका विष्णुहरि भण्डारीले निम्न कविता लेखेर आफ्नो चित्त बुझाएको यी पङ्क्ति तिमीलाई याद नै होला ।
हेलम्बु वनका पाखा र पर्वत उजाड हुने भो
राजधानी गई दुर्गन्धी भई दुर्दशा हुने भो
पाउँछन् दुःख जनताले यहाँ झन् तिमीलाई के होला
नेपाली चेली बम्बैमा पुग्दा हालत जे होला
जाल खेली हिँड्ने त्यो माझी दाइ पीडाले तड्पिन्छ
घट्टमा बस्ने पटुकी कस्ने घटेरा भड्िकन्छ ।

यसरी माइती पक्षले उपत्यकासित अन्माउन लागेकी मेलम्चीलाई सम्झेर यस्तो कविता कथेर पढेका थिए भने उपत्यका पक्षका तुलसीहरि कोइरालाले त्यही कविताको प्रत्युत्तरमा भनेका थिए–
तिर्खाएको म छु काठमाण्डौ निवासी
दिनुहोस् मेलम्ची तपाईँ सिन्धुवासी
पीडा धेरै सुनेँ नदीको विदाइका
सुनेँ धेरै तीता वेदना रुवाइका
उपायै छैन राजधानी काकाकुल
बाँडीचुँडी दिऔँ नहुनु शोकाकुल ।

यसरी बिहेको जन्तीले र घरबेटीलेझैँ दोहोरी कविता गाएको सम्झना मैले भुलेको छैन । प्रकृतिको नियम यस्तै हो । पानी भएपछि बग्नै पर्ने नानी भएपछि पतिघर जानै पर्ने । असजिलो नमान मेलम्ची, तिम्रो रूप लावण्यदेखि यो उपत्यका प्रभावित छ । केही समय विदा भैसकेपछि पनि जन्मघरतिरै स्वतन्त्र सल्बलाउन पायौ । त्यसलाई मैले बेठीक ठानेको छैन । अब म तिमीलाई लिन छिट्टै आउँदै छु । प्रचण्ड गर्मी नआउँदै, तिमी उपत्यकामा मेरो काखमा आउनै पर्छ । त्यही नगरकोटको डाँडोले गर्दा त हो नि तिमीलाई मैले छिट्टै अँगालो हाल्न नसकेको ! सधैँ ओरालो लाग्नु प¥यो भन्ने नठान । कहिलेकाँही उकालो पनि चढ्नुपर्छ, चढौँला । कविले आफ्ना कवितामा तिमीलाई बम्बै पुगेकी चेली भन्ने ठाने पनि त्यो नसम्झ । पशुपतिनाथले पनि तिमीलाई हेर्ने आशा गरेका छन् । बूढानीलकण्ठका विष्णुले पनि तिमी उपत्यकामा आएमा ‘मेरो जलशैयामा थप शीतलता मिल्ने छ’ भनेका छन् । आउने सोचाइमा बस । म आउँछु, लिन आउँछु । पञ्चेबाजा बजाएर लावालस्करका साथ कसैले देख्लान् कि भनेर नगरकोटको छाती चिरेर टुप्लुक्क तिम्रो सामु आइपुग्ने छु मेलम्ची । अब तिम्रा ओरालो लाग्ने दिन गए । उपत्यकाको अँगालोमा तिमी र म लुट्पुटिँदा उपत्यकाबासीले नै आनन्दको अनुभव गर्ने छन् । मेलम्ची पर्खी बस । फर्की आउँला । म तिम्रै हुँ तिमी मेरै हौ । ढिलो भएकोमा माफ माग्छु तर लिन भने छिटै आउँछु ।

उही तिम्रो
प्राणको परानी
‘फित्कौली’ अङ्क १४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x