साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक धर्म !

Nepal Telecom ad

काठमाडौं शहरलाई चिरिच्याट्ट पार्न लिपापोती कार्यक्रम चल्दै गर्दा \’यो बिरालोपन्थी विकास दुई दिनको रगरगी भएकाले तीन दिनमा फुस्स हुने\’ अनुमान गरिएकै हो। त्यो बेला सरकारबाट हडबडीको बहानामा तल–वितल गरे भने सम्मेलन सकिनासाथ दूध–पानी छुट्याउने प्रतिबद्धता आएथ्यो। तर, सार्क सकिएलगत्तै नवनिर्मित संरचनाहरू भरिभङ्ग भएको समाचारहरू आउन थालिहाले। यति चाँडो पूर्वानुमान सत्य सावित हुन थाल्नुको गूढ कारण पत्तो लगाउनु नागरिकधर्म हुने भएकोले सडक अवलोकनमा निस्किएँ।

“यूरोपका गल्ली–गल्लीमा योभन्दा झ्कासको सडक हुन्छ रे!” सडक पार गर्न लागेका एक झ्ुण्ड कर्णधारमध्ये सबभन्दा खाइलाग्दोले पेटीको गमलालाई फूटबल बनाउँदै भन्यो।

“यो सबै यिनको कमाउने मेसो हो, पोलिटिक्स झूर भएपछि यस्तै हो, यार!” गमलाको बचेखुचेको भूगोलमा लात मार्दै दोस्रोले जुल्फी सम्यायो।

पढ्नलाई विदेश जान सिकाउने कन्सल्टेन्सी पुग्ने हतारोमा रहेछन्, कर्णधारहरू। उनीहरू सडकबीचमा पुग्दा लेनमा ठड्याएको प्लास्टिकका ढुंगे्र डिभाइडरहरूको शहीद हुने पालो आयो। युएस आर्मी बूटको इस्तेमाल गर्दै तेस्रो फतफतायो, “यस्तो झारे विकास!!” झ्टपट फोटो अपलोड गर्दै चौथोले टि्वट्यो; “यस्तो झूर देशमा के रुँघेर बस्नु?”

गाडी पातलिएको मौकामा पारिबाट दुई युवती खित्खिताउँदै सडक पार गर्न खोजेको आँखाले देख्दा खुट्टाले हठात् ब्रेक लगायो। कर्पोरेट कम्पनीको परिचय–पत्रले उनीहरूलाई बडो सुहाएको लाग्यो। म अपलक हेरिर\’छु– युवतीहरूले लगालग सडकमाझ्को हरियालीमा उक्लिएर चम्किलो मुस्कानयुक्त \’सेल्फी\’ खिच्न पनि भ्याए। शहरका दुग्ध व्यवसायीहरूले पशु अधिकारवादी र हिन्दू राज्यवालाहरूलाई नैतिक समर्थन पुगोस् भनेर छाडिदिएका विकासे गौमाताहरू सडकमा नयाँ दूबो चर्दै महानगरीय सभ्यता प्रदर्शन गरिरहेका जोर युवती समीप आइपुगे।

प्राकृतिक हिसाबले निकटवर्ती दोपाया र चौपायाबीच भलाकुसारी हुने मेरो अनुमान विपरीत युवतीहरू त चिच्याउँदै \’धाईफल क्याटवाक्\’ मा पो चले। अत्तालिंदै सडकतर्फ फालहान्ने क्रममा एउटीको हातमा परेको बिरुवा जरासहित उखेलियो। “ल, यो ट्री त ट्यास्स टाँसेका मात्र रहेछन्, वाई!” सडक तरे\’सि उनले लजाउँदै भनिन्।

“यतिका आशलाग्दाहरू नै यस्तो गैर–जिम्मेवार भए\’सि कसरी बन्छ देश?” अनायास उर्लेको धोद्रे स्वरले झ्सङ्ग भएँ। सूट–टाईमा टन्टनी कसिएका एक अधेड मनुवाले मुस्कुराउँदै परिचयका लागि हात बढाए। उनी कलेजका माडसा\’ब रहेछन्। विकासको समाजशास्त्रीय आयामका विद्यावारिधि उनी कहिलेकाहीं उच्चपदस्थहरूलाई सामाजिक उत्तरदायित्व सम्बन्धमा प्रवचन समेत दिंदारहेछन्। मैले नमन् गर्नै लागेको घडीमा गुरुवरलाई देखेर आफ्नोतर्फको सामाजिक उत्तरदायित्व पूरा गर्न डाक्टर साहेबको एक शिष्यले ठाउँको ठाउँ गाडी रोकिसकेका रहेछन्। शिष्यले दिएको \’लिफ्ट\’ लिन परिगो। भारी–भरकम शरीरलाई जेनतेन रेलिङ पार गराई डाक्टर साहेब गाडीभित्र घुसि्रए। उनको रेलिङ संघर्षको दौरानमा पेटीछेउ रोपिएका दुई वटा बिरुवा भाँचिएछन्।
त्यसपछि म एक जोडी टेलिभिजनकर्मीप्रति आकर्षित भएँ, जो शहरीहरूको सडक संस्कृतिमाथि झ्कास कार्यक्रम बनाउने दृश्यहरू खिच्न लागिपरेका रहेछन्। सडक अनुशासनहीनता र बन्करपथवादी पथिकहरूको मतिमा अब बम खसान हुने भयो भन्ने सोच्दै हेर्न लागें। त्यत्तिकैमा क्यामेराम्यानले गथासो पोखे, “कताबाट खिच्ने खै? \’एङ्गल\’ नै मिलेन।” त्यसपछि संवाददाताको इशारामा हरियालीमा उक्लेका क्यामेराम्यानको माडीमैदान शुरू भयो। \’एङ्गल\’ मिलाउन थालेका क्यामेराम्यानले दूबोको नयाँ चौरलाई माडीमैदान बनाए। चिटिक्कको चौरले हेर्दाहेर्दै चिन्डे रूप धारण गर्यो।

सबै जना आफूलाई नहेरी अरूको जुम्रो केलाउन व्यस्त भए\’सि कसरी टिक्छ विकास? बुटवल आसपास फेला परेका पाषाणयुगीन मानव दाँतको बनावट आफ्नो बत्तिसासँग ठ्याक्क मिलेको दाबी गर्दै स्वयंलाई यहाँको असली रैथाने घोषित गर्ने होडबीच कतै हामीले पुच्छरयुक्त पुर्खालाई उछिनेका त होइनौं? नत्र, आफ्नै लागि निर्मित संरचना भत्काउन किन यति बिघ्न औंताउँथ्यौं हामी?

सुकिलामुकिलाहरूको चर्तिकला देखेर विरक्तिएको मलाई साँझ् परेको हेक्कै भएन। घर फर्किने अन्तिम गाडी पारिपट्टि रोकिएको देख्दा आत्तिएको \’मंकी\’ माफिक \’जम्प\’ दिंदो भएछु, के–के बिग्रिए/भत्किए यादै गरिएन। सार्वजनिक सम्पत्ति सोत्तर पार्नेहरूमाथि नजर डाल्ने नागरिक धर्म गर्न सकेकोमा चाहिं भित्रैदेखि गद्गद् हुँदै गाडीमा झुन्डिएँ। आगे सरकारको मर्जी!
हिमाल खबर पत्रिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x