महेश थापाफुर्को प्रेम !
सभासद, सभामुख र सचिवमध्ये ‘स.’को फाँटवारी कसरी लगाउने ? सभामुख महोदयले यो विषयलाई सदनमा टेबल गरिदिए फुर्कोप्रति विशेष संवेदनशील हाम्रा माननीयज्यूहरू बैठकमा उपस्थित भई कोरम पुग्नेथियो कि बरु ?

महेश थापा :
हिजोआज रेडियो, टेलिभिजन, अखबार सबैतिर फुर्कोवालहरू नै छाएका छन् । महिलाले चुल्ठोमा सजाउने फुर्को, पुरुषले टाई वा धोतीमा बनाउने फुर्को लगायत छाँटछाँटका फुर्को धारण गरी फुरुक्क पर्दै सडकमा फुत्रुक-फुत्रुक गरिरहेको दृश्य हामीले देखिआएकै छौ । कोही नामको शिरानमा त कोही पुछारमा फुर्को जोडिरहेका हुन्छन् भने हाम्रा बडेबडे नेताहरू समेत बाउबाजेले जुराइदिएको नाम मासेर लाउकेहरूले झुन्ड्याइदिएको फुर्कोबाट परिचित हुन मरिहत्ते गर्छन् । पदभार ग्रहण गरेको भोलिपल्टै सरकार ढलेर जिल्लिएको एकदिवसीय मन्त्रीसमेत आजीवन ‘मन्त्रीजी’ को फुर्को ग्रहण गर्ने रहर पाल्छन् ।
समाजमा विद्यमान फुर्को मोहलाई प्रवृत्तिगत हिसाबले छल्ने, उडाउने, चढाउने र डढाउने गरी चार भागमा विभाजन गर्न सकिन्छ । आवरणमा अनेक रंगको फुर्कोरूपी बल्छी थापेर अरूलाई गल्छीमा पुर्याउनु पहिलो कोटिको फुर्कोवाद हो । टाईको फुर्को देखाएर लाटागाँडालाई स्याँगी लगाउनु यसको सफल उदाहरण हो । चित्त नबुझ्या मान्छेलाई उडाउन उसको परिचयमा फुर्को भिराउनु दोस्रो वर्गको फुर्कोवाद हो । कन्जुस हाकिम र चुनावको मुखाँ मात्र प्रकट भई भलाकुसारी गर्न तम्सने ढीठ नेतालाई दिइने क्रमशः उडुस र नकचरोको पदवी यसका बबाल उदाहरण हुन् ।
आफ्नो काम बनाउन अरूलाई भ्यागुतोझैं फुलाउन दिइने फुर्को तेस्रो श्रेणीमा पर्छ । कर्साबको फुर्को दिनेले फुर्केचौर छेउको घडेरी फोसाको भाउमा फुत्काएको चाल नपाई पछि गएर फिस्स भएका सुवेदार साहेब यस कोटरीका कर्मठ प्रतिनिधि पात्र हुन् । पछिल्लो समय चैते वनको डढेलोझैँ खतरनाक भएर आएको छ- चौथो वर्गको डढाउने फुर्को । परिचितले प्रयोग गरेको फुर्कोबाट डढेर अरूलाई पनि डढाउने लहड निकै बढेको छ । विवाहको निमन्त्रण-पत्रदेखि समवेदना सन्देशसम्म यसप्रकारको फुर्को प्रतियोगिता चलेको देखिन्छ ।
डाक्टरले ‘डा.’ लेखेको डढेलो निभाउन इन्जिनियरहरू ‘इ.’ को फुर्को भिर्ने अभियानमा छन् । सेनानीको ‘से.’, फरेस्टरको ‘फ.’, डिट्ठाको ‘डि.’ र खरिदारको ‘ख.’ पनि बजारमा देखिन थाल्या छ । एक मित्रले पठाएको भाइको विवाहको निमन्त्रणा-पत्रको दर्शनाभिलाषीहरूको कित्तामा झुन्ड्याइएका फुर्काहरूले होश गुम गराउन खोजेपछि फोन गरेरै सोधेँ, “भाउजूको नाम अघिल्तिर सुश्री कसरी ?”
“सबैको नाम अघिल्तिर केही न केही फुर्को झुन्डिएको देखेर श्रीमतीले लट्टो लिइन् । त्यसैले सुब्बाकी श्रीमतीलाई संक्षेपमा ‘सुश्री’ लेखेको”, मित्रले सहज स्पष्टीकरण दिए ।
“उसोभए तपाईंको डुलन्ते भाइको ‘डु.’ हुनुपर्ने, ‘फाँ’ किन त ?”
“अब उसलाई मात्र बुच्चो राख्दा असुहाउँदो देखिने, त्यतिबेला फाँकिमाराको ‘फाँ’ नै फुर्यो !”
यसरी सबैतिर फुर्कोधारीहरूको चुरीफुरी देख्दा मलाई पनि रहर जाग्यो । कुनै बेला आफू पनि एउटा च्याखुरे पत्रिकाको लिखुरे सम्पादक भइटोपलेको हुँदा नाम अघिल्तिर ‘सं.’ जोड्ने निधो गरेँ । तर, संवाददाताको पनि ‘सं.’ हुने भएकाले आफ्नो त फुइँ लाउन नभ्याउँदै घटुवा हुने अवस्था आइलागेर पत्रकारको ‘प.’ लेखेँ । तर, जनैपूर्णिमा माका दिन नाम थर बताउनासाथ पुरेत बाजेले नराम्ररी थुर्दै भने, “थरचाहिं काजी, मान्छे त साह्रै पाजी रहेछौ ! क्षेत्री भएर पण्डितको ‘प.’ लेख्ने ?”
पुरेतले सातो टिपेपछि अचानक म अधिवक्ता, अधिकृत र अर्दलीमध्ये ‘अ.’ को उत्तराधिकार कसले कुम्ल्याउने ? भन्ने सम्भावित फुर्काधिकारको घम्साघम्सीमाथि घोत्लिन थालेँ । यस्तै सभासद, सभामुख र सचिवमध्ये ‘स.’को फाँटवारी कसरी लगाउने ? सभामुख महोदयले यो विषयलाई सदनमा टेबल गरिदिए फुर्कोप्रति विशेष संवेदनशील हाम्रा माननीयज्यूहरू बैठकमा उपस्थित भई कोरम पुग्नेथियो कि बरु ?
सभामुखले यो काम तत्काल गर्न किन पनि जरूरी छ भने फुर्को प्रेमले व्यक्तिलाई मात्र नभई संघसंस्थालाई समेत धमाधम अँचेट्न थालेको छ । जस्तो, फलानो अधिकृत श्रीमती संघ, ढिस्कानो साली संगठन आदित्यादि । हुँदाहुँदै अनधिकृत श्रीमती संघ समेत खुल्यो भने के गर्ने ?
०००
(व्यङ्ग्यसङ्ग्रह ‘नमोनमः’बाट)
Subscribe
Login
0 Comments
Oldest






































