साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्को प्रेम !

यस्तै सभासद, सभामुख र सचिवमध्ये स.को फाँटवारी कसरी लगाउने ? सभामुख महोदयले यो विषयलाई सदनमा टेबल गरिदिए फुर्काप्रति विशेष संवेदनशील हाम्रा माननीयज्यूहरू बैठकमा उपस्थित भई कोरम पुग्ने थियो कि बरु ?

Nepal Telecom ad

महेश थापा :

हिजोआज रेडियो, टेलिभिजन, अखबार सबैतिर फुर्कोवालहरू नै छाएका छन् । महिलाले चुल्ठामा सजाउने फुर्को, पुरुषले टाई वा धोतीमा बनाउने फुर्कोलगायत छाँटछाँटका फुर्को धारण गरी फुरुक्क पर्दै सडकमा फुत्रुक-फुत्रुक गरिरहेको दृश्य हामीले देखिआएकै छौं । कोही नामको सिरानमा त कोही पुछारमा फुर्को जोडिरहेका हुन्छन् भने हाम्रा बडेबडे नेताहरूसमेत बाउबाजेले जुराइदिएको नाम मासेर लाउकेहरूले झुन्ड्याइदिएको फुर्काबाट परिचित हुन मरिहत्ते गर्छन् । पदभार ग्रहण गरेको भोलिपल्टै सरकार ढलेर जिल्लिएको एकदिवसीय मन्त्रीसमेत आजीवन ‘मन्त्रीजी को फुर्को ग्रहण गर्ने रहर पाल्छन् ।

समाजमा विद्यमान फुर्कोमोहलाई प्रवृत्तिगत हिसाबले छल्ने, उडाउने, चढाउने र डढाउने गरी चार भागमा विभाजन गर्न सकिन्छ । आवरणमा अनेक रङको फुर्कोरूपी बल्छी थापेर अरूलाई गल्छीमा पु-याउनु पहिलो कोटिको फुर्कोवाद हो । टाईको फुर्को देखाएर लाटागाँडालाई स्यांगी लगाउनु यसको सफल उदाहरण हो । चित्त नबुझ्या मान्छेलाई उडाउन उसको परिचयमा फुर्को भिराउनु दोस्रो वर्गको फुर्कोवाद हो । कन्जुस हाकिम र चुनावको मुखाँ मात्र प्रकट भई भलाकुसारी गर्न तम्सने ढिठा नेतालाई दिइने क्रमशः उडुस र नकचरोको पदवी यसका बबाल उदाहरण हुन् ।

आफ्‌नो काम बनाउन अरूलाई भ्यागुतो झै फुलाउन दिइने फुर्को तेस्रो श्रेणीमा पर्छ । कर्साबको फुर्को दिनेले फुर्केचौरछेउको घडेरी फोसाको भाउमा फुत्काएको चाल नपाई पछि गएर फिस्स भएका सुबेदारसाहेब यस कोटरीका कर्मठ प्रतिनिधिपात्र हुन् । पछिल्लो समय चैते वनको डढेलो भै खतरनाक भएर आएको छ- चौथो वर्गको डढाउने फुर्को । परिचितले प्रयोग गरेको फुर्काबाट डढेर अरूलाई पनि डढाउने लहड निकै बढेको छ । विवाहको निमन्त्रणा-पत्रदेखि समवेदना- सन्देशसम्म यसप्रकारको फुर्को प्रतियोगिता चलेको देखिन्छ ।

डाक्टरले ‘डा’ लेखेको डढेलो निभाउन इन्जिनियरहरू ‘इ’ को फुर्को भिर्ने अभियानमा छन् । सेनानीको ‘से’, फरेस्टरको फ’, डिट्ठाको ‘डि’ र खरिदारको ‘खः पनि बजारमा देखिन थाल्या छ । एक मित्रले पठाएको भाइको विवाहको निमन्त्रणा-पत्रको दर्शनाभिलाषीहरूको कित्तामा झुन्ड्याइएका फुर्काहरूले होस गुम गराउन खोजेपछि फोन गरेर सोधे- ‘भाउजूको नाम अघिल्तिर सुश्री कसरी ?

‘सबैको नाम अघिल्तिर केही न केही फुर्को झुन्डिएको देखेर श्रीमतीले लट्टो लिइन् । त्यसैले सुब्बाकी श्रीमतीलाई सङ्क्षेपमा ‘सुश्री लेखेको’ मित्रले सहज स्पष्टीकरण दिए ।

‘त्यसो भे डुलन्ते भाइको ‘डु’ हुनुपर्ने, ‘फाँ किन ?

‘उसलाई मात्र बुच्चो राख्दा असुहाउँदो देखिने, त्यतिबेला फाँकिमाराको फाँ नै फुर्यो ।’

यसरी सबैतिर फुर्काधारीहरूको चुरीफुरी देख्दा मलाई पनि रहर लागेर कुनै बेला आफू ‘नि एउटा च्याखुरे पत्रिकाको लिखुरे सम्पादक भइटोपलेको हुँदा नाम अघिल्तिर ‘सं.’ जोड्ने निधो गरे । तर संवाददाताको पनि सं.’ हुने भएकाले आफ्‌नो त फुइँ लाउन नभ्याउँदै घटुवा हुने अवस्था आइलागेर पत्रकारको ‘प’ लेखे । तर जनैपूर्णिमाका दिन नामथर बताउनासाथ पुरेत बाजेले नराम्ररी थुर्दै भने- ‘थरचाहिं काजी, मान्छे त साह्र पाजी रहेछौ ! क्षेत्री भएर पण्डितको प’ लेख्ने ?”

पुरेतले सातो टिपेपछि अचानक म अधिवक्ता, अधिकृत र अर्दलीमध्ये ‘अ’ को उत्तराधिकार कसले कुम्ल्याउने भन्ने सम्भावित फुर्काधिकारको घम्साघम्सीमाथि घोरिन थालें । यस्तै सभासद, सभामुख र सचिवमध्ये स.को फाँटवारी कसरी लगाउने ? सभामुख महोदयले यो विषयलाई सदनमा टेबल गरिदिए फुर्काप्रति विशेष संवेदनशील हाम्रा माननीयज्यूहरू बैठकमा उपस्थित भई कोरम पुग्ने थियो कि बरु ?

सभामुखले यो काम तत्काल गर्न किन पनि जरुरी छ भने फुर्को प्रेमले व्यक्तिलाई मात्र नभई सङ्घ-संस्थालाई समेत धमाधम अँचेट्न थालेको छ । जस्तो, फलानो अधिकृत श्रीमती सङ्घ, ढिस्कानो साली स‌ङ्गठन आदित्यादि । हुँदाहुँदै अनधिकृत श्रीमती सङ्घ समेत खुल्यो भने के गर्ने ?

०००
नमोनमः (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x