महेश थापाकिन बन्दैन नेपाल ?
काठमाडौं खाल्डो प्रवेश गरेको बारे अतिथिहरू अल्मलिने जोखिम कमै देखिन्छ । त्यसो त, कतिपय अतिथिहरू हाम्रो आतिथ्यप्रबन्धबाट अनुगृहीत हुँदै आफ्नो व्यवस्था आफै मिलाउन पनि अग्रसर भइसकेका छन् ।

महेश थापा :
महाकवि देवकोटाले नेपाल सानो नरहेको जखमले प्रमाग पेसिसकेको हुँदा हाम्रो राजनीतिले बबाल विवादबाट निजात पायो भन्नुस् । भविष्यको नेपाली राजनीति कोचेलगाँडो नेतृत्वको फन्दामा फस्दै जाँदा तुमडी विषयमा पनि कचेडाको महल खडा हुने हेक्का भएरै देवकोटाले के नेपाल सानो छ ? निबन्ध लेखेको हुनुपर्छ । नत्र हाम्रा राजनीतिक दलहरु आजपर्यन्त नेपाल सानो कि ठूलो ? भन्ने विषयमा पौँठेजोरी खेलिरहेका हुन्थे । महाकविको दूरदर्शिताका कारण नयाँ नेपालका खुरन्धार बुद्धिवीरहरूले नेपाल किन बनेन र कसरी बन्छ ? भन्नेसम्मको मात्र टन्टा सुमर्न पाएका छन् ।
सार्क सम्मेलनको तयारीले त निखट्टु राज्यसंयन्त्रको कारण नेपाल नबनेको झ्याली पिट्नेहरू पूरै जिल खाएका देखिन्छन् । मूड चल्दा सरकारले सहरबीच रातारात मनोरम उपवन र जङ्गलमाझ सुन्दर सहर उमार्न सक्ने व्यवहारतः पुष्टि गरेको छ । त्यसका खप्पर मूडचाहिँ एकपटक मुहार देखाएर वनवास हिंडेसि कहिले फर्कने टुङ्गो नहुँदो रहेछ । घुसे सडकछेउको घरमा नाक थुन्दै सिरकभित्र घुस्रिएको मान्छेले भोलिपल्ट बिहान झ्यालबाहिर उत्पत्ति भएको उद्यानसहितको चिल्लो सडक देख्ता अमरावतीको टिकट काटिएछ कि भन्दै कहालिनुपरेको स्थिति छ । यस्तो सरकार भएको देश नबन्ने कुरै छैन ।
सरकारी सक्रियताका कारण सकारात्मक माहोल बनिरहेको बेला पाकिस्तानी प्रधानमन्त्रीले भारतीय गाडी नचढ्ने घोषणा गरिदिँदा भने हलुवामा हल्का बालुवा मिसिएको छ । भौतिक चमत्कारसँगै फोहोरमैला छोपछाप कार्यक्रममा अर्बो बुत्याइरहेको सरकारले विशिष्ट पाहुना चढाउन ‘बुलेट प्रुफ’ गाडी भिक्षा माग्नुपर्ने थिति कसरी आयो भनिएला, तर हामीसँग त्यस्तो गाडी हुँदै नभएको होइन, मर्मत गर्न बिर्सेको मात्र हो । त्यसमाथि बुझ्नुपर्ने कुरा के छ भने, मर्मतमा भन्दा खरिदमा ज्यादा पोसाउँछ ।
एकथरी अड्खोटेहरूले बीएमडब्लु, मर्सिडिज झिकाएर नचाहिंदो फुर्ती लाउनुको सट्टा गच्छेअनुसारको सरदाम जुटाउनुपर्थ्यो भन्दै खोचे थाप्न सक्छन् । यस्तै अपजसे मति भएकाहरूले सरकारलाई उठी सुख न बसी सुख पारेका छन् । हात बाँधेर बस्दा अल्छीको पुङ भन्छन्, विकास गर्दा नचाहिंदो फुर्ती झारेको, जनताको पैसा सखाप पारेको भन्छन् । विकासमा खन्याउँदा जनताको पैसो नखन्याएर कसका बाउको खन्याउनु त ? सार्क सम्मेलनका लागि दाँत डिच्याउँदै ऐचो-पैचो, सरसापट बटुलबाटल गर्दा पनि तिनै खनिन्छन् सरकारविरुद्ध । चिल्याइएका सडकबाट धूलोका कणहरूको उठिवास लगाउन करोड खर्चेर ‘ब्रुमर’ मसिन किन्दाचाहिं सरकारी खोपडीले हल्का गच्ची खाएकै हो । बरु एउटा भ्रमर मसिन खरिदेर अतिथिहरूमाझ नेपाल हराभरा, कञ्चन र भौतिक पूर्वाधारले लदालद मुलुक भएको भ्रम फैलाउन सक्ताहुँदी सरकारले अनेक पापड बेल्दाको सास्ती बेसाउनुपर्ने थिएन ।
कान्तिपुरीको दुर्गन्ध धपाउन अत्तरवृष्टि गराउने योजना छ भने अविलम्ब स्थगन गरियोस्, अन्यथा नेपाल हिंडेको त झुक्किएर युरोप पो आइपुगेको आशङ्कामा तीनकुने नकदै अतिथिहरू उल्टो पाउ फर्कने खतरा छ भन्दै सरकारलाई सजग बनाउने असल नागरिकहरू पनि देखिन थालेका छन् । यद्यपि, ‘गुगल’देव वर्णित काठमाडौं खाल्डो प्रवेश गरेको बारे अतिथिहरू अल्मलिने जोखिम कमै देखिन्छ । त्यसो त, कतिपय अतिथिहरू हाम्रो आतिथ्यप्रबन्धबाट अनुगृहीत हुँदै आफ्नो व्यवस्था आफै मिलाउन पनि अग्रसर भइसकेका छन् ।
यसपटक हाम्रो सरकारले विकास गर्ने नयाँ सूत्र पनि हातलागी गरेको छ- नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन स्थलका रूपमा उभ्याई विदेशी राष्ट्र-सरकार प्रमुखहरूलाई गाउँ/सहर घुमाऊँ, शक्तिशाली पाहुनाको खिदमत गरौँ र पञ्चायतलाई नपत्याएको विकासको मूल फुटाऊँ । सम्मेलन हुँदा राष्ट्रको नाक ठडिने, पाहुनाहरूलाई गाउँ-सहर डुलाउँदा विकासको मूल पनि फुट्ने । सरकारले आफ्नो पाइन देखाइरहेको र मित्र देशको सदाशयता समेत थपुवा भएको मौकामा चौका हान्दै यो विकासे मन्त्र फुक्न सके हामी ठोकेर भन्न सक्छम्, किन बन्दैन नेपाल ?
०००
नमाेनम: (२०७४)
Subscribe
Login
0 Comments
Oldest






































