साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लठैत

यो रन्दा लगाउने नभई रप्फु गर्ने काम पर्‍यो, जुन गाह्रो र महंगो दुवै छ । रप्फु गरेर दुरुस्त पार्न कठिन पनि छ । अर्काको टाल्न खोज्दा, आफ्नै भ्वाङ पर्ने डर । समूहको सर्वसम्मत निणर्यबेगर यस कामको बैना समाउन मिल्दैन ।

Nepal Telecom ad

महेश थापा :

सबैको चाडबाड सकियो भन्छन्, आफ्नो त पाँच वर्षपछि बल्ल आएको छ । बा-आमाले जत्ति करकर गरे पनि क्याम्पस पढ्ने दुःख बेसाइएन । आफूले जानेको एउटै कुरो- जसको लाठी, उसकै भैँसी । लाठी चलाएर डन बनिन्छ, डन बनेर धन जोडिन्छ । धन भएको डन नै मन्त्री बन्ने हो । तसर्थ, चुल्ठी-मुन्द्री र पाखुरीमा मेरो विश्वास बेपत्ता बढ्यो । अनि बल्ल आएको चुनावी चाड मनाउने पूर्वतयारीस्वरूप चुल्ठो बाँधियो, मुन्द्रा धारण गरियो ।

यो सिजनमा एक धनवान् उम्मेदवारको पछि लागिएकाले दिन कटनी राम्रो छ । लूटको धनमा मजाले हात सेक्न पाइया छ । र पनि अलिकति टेन्सन छ नै ।

तुल, ब्यानर, पोस्टर, पम्प्लेट, घरदैलो, जुलुस, ठोकठाक सबै गरिदिएकै हो, र पनि नेताजीको चित्त बुझेनछ । उनको पक्षमा माहोल बनेन रे । थप लठैत खोज्न पठाए भन्ने सुनेर नेताजीको घरतिर दौडिएँ- यिनको पक्षमा माहोल ल्याइदिने हामीभन्दा उम्दा लठैत अरू को रहेछन्, हेर्ने मनसुवाले पनि । ठिक्क समयमा पुगिएछ, उम्मेदवारका पीएले एउटा फुकीढललाई डोर्‍याउँदै ल्याए । यिनले पनि ग्याङ चलाउँदा रहेछन् । मलाई नहाँस्न गाह्रो भयो । नेताजीले उनलाई आफूसँगै विराजमान गराउँदै भने- ‘जति गरे पनि भनेजस्तो चुनावी माहोल बनाउन सकिएन । तपाईंको कलम तिखो छ, हाम्रो पक्षमा लेखिदिनुपर्‍यो’ ।

‘सिजनको बेला मोही माग्न ढुङ्ग्रो लुकाएर किन समय बर्बाद पार्नू ? वैचारिक धारको सम्बन्धमा म अन्तै प्याक भइसक्या छु । त्यस बाहेक ताछ्ने र रन्दा लाउने काम छ भने भन्नुस् ।’ लेखक महोदयले भने ।

‘अलिक बुझिएन हजुर ।’

‘प्रतिस्पर्धी उम्मेदवारलाई नाङ्गेझार पार्न ताछ्ने । कसैको व्यक्तित्व चिल्याएर उजिल्याउन रन्दा लगाउने । ताछ्नचाहिँ अलिक महँगो छ, निकै जोखिम मोल्नुपर्छ,’ लेखकले खुलस्त पारे ।

‘ताछ्ने र रन्दा लगाउने दुवै गरिदिनुस् न त मेरा लागि । कति लिनुहुन्छ ?’

‘दुवै काम एउटैले गर्न मिल्दैन । हामी पाँचजनाको समूह छौँ, यसैबाट मिलाएर गर्नुपर्छ । मूल लेखकसँग जतिमा अनुबन्ध हुन्छ, त्यसको २५/२५ प्रतिशत थप रकम समूहका प्रत्येकलाई बुझाउनुपर्छ । यो हाम्रो नियम हो । सर्त मन्जुर भए सुरु गरौँ ।’

‘एउटालाई लगाएको कामका लागि पाँचजनालाई किन पैसा तिर्ने ? यो कुरो अलि बुझिएन । बुद्धिजीवी भएर पनि ठग्न खोज्ने भनेझै गरी नेताजीले किञ्चित चर्को स्वर पारे ।’

‘तपाईं कुरा बुझ्नुहुन्न, त्यसैले नेता हुनुहुन्छ । हामी बुझ्नेहरू विद्वान् कहलिन्छौँ । मान्छे उराल्न लेखेर मात्र हुन्न, विश्वसनीयता पनि कायम राख्नुपर्छ । समूहका सबैले एक-अर्कालाई उम्दा र स्वतन्त्र घोषणा गरेपछि मान्छेले पत्याउँछन् । सामूहिक मिहिनेत गरेपछि भुक्तानी पनि तदनुरूप हुनै पर्‍यो’ ।

‘तपाईंको समूहमा को-को छन् ?’

लेखकले समूहका सदस्यहरूको नाम सुनाउँदै जाँदा नेताजी बुर्लुक्क उफ्रदै कुर्लिए- ‘मलाई अस्ति ताछ्ने तपाईंकै साथी पो रहेछ । नराम्रोसँग ताछेर मर्‍यो त्यसले ।’

फेरि सहज हुँदै नेताजीले सोधे- ‘तिनलाई भनेर फेरि चिल्याउन मिल्दैन ?’

‘यो रन्दा लगाउने नभई रप्फु गर्ने काम पर्‍यो, जुन गाह्रो र महंगो दुवै छ । रप्फु गरेर दुरुस्त पार्न कठिन पनि छ । अर्काको टाल्न खोज्दा, आफ्नै भ्वाङ पर्ने डर । समूहको सर्वसम्मत निणर्यबेगर यस कामको बैना समाउन मिल्दैन ।’

‘तपाईंको समूहमार्फत गर्न मिल्नेजति सबै गर्नुस्, पैसाको चिन्ता छैन,’ नेताजीले पोटिलो खाम थमाउँदै भने- ‘तर मेरो पक्षमा चुनावी माहोल बन्नुपर्‍यो ।’

यसरी बिदावारी भएका लेखक महोदयलाई मैले भर्‍याङबाट ओझेल नहोउन्जेल टोलाएर हेरिरहेँ- आफ्नो पाखुरी र त्यो झिनो कायाबीच तुलना गर्दै । मानसपटलमा उसले लिएको खाम नाच्न थाल्दा आफ्नो चुल्ठी-मुन्द्री र पाखुरी बित्थाको भार लाग्न थाल्यो । लेखक महोदयले हतारमा सोफामै छाडेका दुइटा पुस्तक टिपेर म भर्‍याङतिर हान्निएँ । कानको मुन्द्रा खोलेर सडकमै मिल्काइदिएँ । अनि पारिपट्टि सैलुनमा पसेर भने- ‘यो जुल्फी पूरै काटिदेऊ ।’

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x