साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको साँढे

नेपथ्यबाट कुनै बुजुकको आवाज आयो- 'आफ्‌नो चर्तिकलाबाट सार्वजनिक आक्रोश उत्पन्न भएपछि साखुल्ले हुन साँढे आफ्नो पालनहार गृहमन्त्रीको क्याबिनमा घुसेको छ ।'

Nepal Telecom ad

महेश थापा :

‘ए आयो, आयो !’

मान्छेहरू फिलिली दौडेको देखेर म पनि ठाडो पुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ ।

‘त्यसका साँढे यो भूकम्प भन्ने जिनिसले यसपालि बिताएरै छाड्छ कि क्या हो ?’

साबिकबमोजिम पूरक प्रश्न वा प्रतिक्रिया नहुँदा उदेकिंदै यसो मुन्टो घुमाएर हेर्दा त खेतबीचमा आफू एक्लै ठि‌ङ्गिएको रहेछु । के गर्नु, भूकम्पले लिरिक्क पार्यो कि खेत, खऱ्यान वा बारीको पाटामा पुगेर मात्र खैरियत पुछ्‌ने बानी लाग्यो । असार १५ मा गट्टा सम्याएर पानी जमाएको खेतमा रोपाहार र बाउसेको नामोनिसान नदेख्ता त्यो फगत विभ्रम रहेछ भन्दै चोकैतिर फर्किएं । झ्‌यालढोकामा छेस्किनी लगाएर मान्छेहरू घरभित्र थुनिएकाले चोक सुनसान थियो ।

‘घरभित्र थुनिनुपर्ने कुन जातको भूकम्प आयो ?’ एउटा घरको ढोका ढकढक्याउँदै कराएँ ।

‘छुसी भूकम्पसँग कोचाहिँ डराउला र अब ? तर रोपाइँमा छिरेको मैमत्त सांढेले ढिम्किन नदिएर छेस्किनी लगाएर बसेको, घरमूलीले साउती गरे ।

रोपाईमा त गोरु जोतिन्छ, साँढेको के काम ? बरु
बाली पाकेसि सत्यानाश पार्न साँढे महाराज ढलकढलक पधारिनुहुन्थ्यो । तर्कनाकै बीच मैले फ्‌याट्ट भने- ‘टिन ठटाएर खेदाउन छाडी सिल्ली साँढेसँग तर्सेर घरभित्र दुम्चिने ?’

‘तिमी भन्छौ नि ।’ घरमूलीले दुखडा सुनाए- ‘छिप्या बोकोजस्तो दुङदुङती गन्हाउने पात्तिएको साँढेछेउ कसरी पुग्नु ? महिला देख्यो कि झम्टिइहाल्छ, स्वाँकस्वाँक सुँघेर मर्छ, पड्के । हाम्रो इज्जत छैन ? यस्तो डेन्जर साँढे छाडा होउन्जेल झ्यालढोका खोल्ने जोखिम मोलिन्न बा ।’

‘हिमाल गएर यार्सागुम्बा चरेछ कि क्या हो । अनि के गर्याै त त्यसलाई ?’

‘दहीचिउरा ख्वाएर मन्छायौँ ।’

‘चड्कनचिउरा लगाउनुपर्नेलाई दहीचिउरा ख्वाएसि पल्किंदैन त साँढे ?’

‘सिंहदरबारको साँढे पन्यो, क्यार्नु ।’ घरमूली विवश देखिए ।

सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यस प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो । कौतूहल मेट्न सिंहदरबार पुग्दा मूलढोकामा झुन्ड्याइएको बडेमानको बोर्डमा सूचना टाँसिएको थियो- महिला निषेधित क्षेत्र ! महिलाहरूलाई सिंहदरबार प्राङ्गणमा दाखिल हुनबाट रोवन ढोकामा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ थिए । मुहारमा आंशिक चिन्ता झल्काएका महिला प्रहरीहरू विशेष सतर्क देखिन्थे । साँढे अघमरिएको स्थानविशेषमा पूर्वसतर्कता अपनाइएको तिनका पुर प्रहरीले बताए ।

‘हे भोलेनाथ । भूकम्पले नपुगी आफ्‌नै वाहनसमेत खोलेर हामीमाथि छाड्‌यौ ?’ मलाई आतेस लागेर आयो ।

‘देवाधिदेव महादेवलाई किन कोस्छौ बाबु, यो साँढे त हाम्रै वामदेवले पुल्पुल्याएको साँढे हो,’ नेपथ्यबाट कुनै बुजुकको आवाज आयो- ‘आफ्‌नो चर्तिकलाबाट सार्वजनिक आक्रोश उत्पन्न भएपछि साखुल्ले हुन साँढे आफ्नो पालनहार गृहमन्त्रीको क्याबिनमा घुसेको छ ।’

त्यो सुनेर पत्रकारको हुलमा मिसिएर त्यतै सोझिएको, भर्याङमै झ्याम्म जम्काभेट भयो ।

‘भदौको गाईजात्रा असारमै देखाउनुभएछ नि, मन्त्रीज्यू ।’ पत्रकारहरू बर्से- ‘यस्तो हर्कत गरेर सिंहदरबारवासी बनिरहन मिल्ला ?

‘मौका मिलेको घडीमा मैले हल्का रमाइलो गरे, श्लील-अश्लीलको छिनोफानो ग्वाँचहरूले गरुन्, हैन त मैयाँ ? महिला पत्रकारतिर साँढेले डिच्च दाँत देखायो ।

‘कस्तो रमाइलो, साँढेज्यू ?’

‘रमाइलोको अनुभूति व्यक्ति स्वयम्‌ले गर्ने हो । कसैको उमङ्गमा कोही सरिक हुन्न भने नहुँदा भएकै छ,’ आत्मविश्वासी साँढेले दार्शनिक पारा देखायो ।

‘दूधेबालखका झै महिलाहरूको घांटीमा लुटपुटिन सरम लागेन ? अझ सिंहदरबारबाट डेरा सार्दैनौ बेसोमती ?”

‘म वैसठी कटेको साँढलाई त्यसरी नखेदनुस् ।’ साँढे भावुक बन्यो- ‘सिंहदरबारबाट झिटीगुन्टा कस्नुपर्ने गरी केही बिराएको छैन । अडियो, भिडियो, टेलिभजन, रेडियो, पत्रकार लगायत सबै मिथ्या हुन् ।’

बित्थाको गलफत्तीमा रुमल्लिनुभन्दा अर्थपूर्ण भेटका लागि पसिना बगाउनु उत्तम ठानेर हुनुपर्छ, साँढे बालकोटतिर हानियो । कत्राकत्रा काण्ड ढिसमिस हुने नयाँ नेपालमा सिंहदरबारबाट साँढेको पत्ता कट्या बिरलाकोटी समाचार भोलिपल्ट पढ्न पाइयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x