साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिलावटवाद मुर्दावाद !

Nepal Telecom ad

संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धकेलिँदैछ । राजनीति, अर्थतन्त्र, वाणिज्य नीति, शिक्षा प्रणाली सबैमा मिसावटीकै संवाद र विवादले बहार पाएको छ । लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद, जनतान्त्रिक समाजवाद, लगायतका ठिमाहावादहरू राजनीतिमा हावी गराइएका छन् भने सरकारी, निजी, सहकारी अनि सामुदायिक जस्ता तीन खम्बे चार खम्बे मिश्रित अर्थतन्त्रमा नेपालको अर्थनीति मार्च गराउने स्वैर कल्पनाहरूले मिलावटवादकै पृष्ठपोषण गरिरहेका छन् । शिक्षा पद्धति अलिकति गुरुकुल अलि बढी लर्ड मेकाले वाचा प्रयोगात्मक मिसाएर यसमा पनि ठिम्मरवादको टिम्मर मजैले कसेका छौँ । त्यसै गरी संस्कृति, उद्योग, स्वास्थ्यलगायतका क्षेत्रमा पनि मिसावटवादको हाकोडाको र साम्राज्य मजैले जमेको छ ।

यी माथि उल्लेख गरिएका सबै क्षेत्रमा सघन रुपमा फैलिएको मिश्रणतन्त्र, मिसावटीवाद वा फ्युजनलाई आदर्श मान्दै यतिखेर उपभोग्य सामग्री आपूर्ति गर्ने व्यापारी एवं व्यवसायीहरू तुच्छकोटीको, मिलावटी चिन्तनबाट आक्रान्त छन् । हिजोका रोडपतिहरू आजका करोडपति र खर्बका मालिक बनेका दृष्य सालिक भएर हेर्न पाइन्छ । हिजोका हात्ती छापे र गैँडाछापे चप्पल लगाएर कैँडा लाग्ने गरी सडकमा भौतारिने राजनीतिज्ञहरू आज जसरी प्राडो, पजेरो, सुजुकीका वातानुकूलित सवारीमा गुडेर आलिसान महलमा राज भएका छन् । हिजोका दोबाटो कुरुवाहरू पनि मिलावटीवादकै प्रतापले नवकुवेर बनी तालु खुइल्याएर भालुझैं भई आम उपभोक्तालाई विस्मृत आलु खुवाई चिथर्नसम्म चिथरे गाँठे ! पानी, तेल, मासु, मसला, दूध, तरकारी, चामल, गेडागुुडी, मिठाई, पाउरोटी, चकलेट, पुष्टकारी, घिउ, तरकारी, मैदा, दालजस्ता सबै बस्तु बेहाल पारामा हलाहल बनेर बहुरङ्गी हुँदै उपभोक्ताहरूको आँगनमा भित्रिएका छन् । मिति गुज्रिएका, छिमेकी देशले गुणस्तरहीन भनी प्रतिबन्ध लगाएका चीजबीजहरूलाई टिपेक्स लगाएर सानादेखि ठूला–ठूला कम्प्लेक्ससम्म झिल्के खोल हालेर ग्राहकको आँखामा फुलोपर्ने कसरतमा यमराजका सहरिया सहोदर कालोबजारिया भाइहरू लागि परेका छन् ।

वर्षौदेखि कमिसनको झुसिलो डकारमा छँटाउने राज्य चालकहरूले दुई नम्बरी काला बजारियालाई सालाकै दोस्रो अवतार ठानेर गाला मुसार्ने रोगले जनता वा आमउपभोक्ता हालाबाला बनेका छन् । ‘काग कराउँदै छ, पिना सुक्दै गर्छ’ भन्ने उखानको बखान बुझेका राज्य चालकहरूनै यी अपराधीहरूका पालक र धर्मपिता बनेकै परिमाण सम्पूर्ण नेपालीहरूले नानाथरी रोगलाई राष्ट्रिय व्याधिमा स्थापित गर्न पुगेका छन् । किड्नी बिग्रने, आँखाको ज्योति गुम्ने, क्यान्सरले चुम्ने, कलेजो र फोक्सो थोत्रिएर फुट्ने, मुटु कुटुकुटु खाने, डिप्रेसन, मानसिक असन्तुलन, अमलपित्त, कमलपित्त जस्ता रोगका गतिला भण्डार भएका छन् नेपाली शरीरहरू । यहाँ पाउँ भण्डारले आउँ पारेका छन्, मासु पसलले आँसुका फसल जन्माएका छन् । मिष्ठान्न भण्डार विष्ठान्नको हुँडार भएको छ, किराना पसलहरू मिति गुज्रिएका सामान बेच्ने बिराना अरिङ्गालका रूप लिएका छन् हरे दैव !

दूधमा सोडा मिश्रण गरेर कान्छी नानीका तोडा कस्ने, अझ सर्फ मिलाएर दूधलाई अखाद्य बनाई नाफाखोरी गर्ने, घिउमा जनावरको बोसो मिसाएर देखावटी ओसो भज्ने ढोंगीहरूका रोगी बनियाँ चिन्तनले जनस्वास्थ्य नै तहसनहस भयो बा ! बा ! । जसरी राजनीतिमा माक्र्स लेनिन र माओवादले मात्र नपुगेर खाओवाद मिसाइएको छ, जसरी लोहिया गान्धी जेपी र वीपीवादमा गुट महागुट र कोटरीवादले राइँदाइँ मच्चाएको छ, त्यसैरी वाणिज्यवादमा पनि ‘एनिहाउ पैसा कमाउ’ भन्ने तुच्छ आपराधिक वाद मिसाएर उपभोक्ताका अर्थ धरातलदेखि स्वास्थ्यसम्म तलातल पाताल रसातलतिरको जात्राको यमराज मार्ग खडा गरी दिएका छन् मिसावटीवादीहरूले । पुतना, शूर्पणखा, वक्कासुर, अघासुरका राक्षसी चिन्तन बोकेको मिसाटवाद बिरुद्ध अब जनता आफैं उत्रिएर हातपात गर्नपर्ने तुच्छ अराजतकता तिर त समाज हाम्फाल्दैन ? खबरदार मिसावटी, मिलावटी कुचिन्तनमा ग्रस्त सबैखाले फ्युजन वादीहरू ! आततायी मिलावटवादलाई मुर्दावाद छ !
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x