सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

किन चाहियो जाबो संविधान ?

Nepal Telecom ad

टाइँटाइँ फिस्स, टाइँटाइँ फिस्स । यो लखरठ्याकलाई हिजोआज लाग्न थालेको छ सबै कुरा टाइँटाइँ फिस्स । संविधान बनाउनका निम्ति भनेर संविधान सभा निर्वाचित भएको चौथोे वर्ष पनि बित्नै लागेको छ । निर्धारित अवधि निख्रिएर थपुवा एक वर्षको अवधिमध्ये पनि आधा खुस्की सक्यो । यो अवधि खुस्क्या हो कि हाम्रा अगुवाहरूको दिमाग खुस्क्या हो– लखरठ्याकले भेउ पाउन छाड्यो । यता हेर्यो टाइँटाइँ फिस्स, उता हेर्यो टाइँटाइँ फिस्स ।

‘सबै कुरा छाडी पुच्छरमा हात’ भने झैँ कुरोको चुरो थुरेको छ– पुच्छरमा । मेरीबास्सै यो पुच्छर भन्या कस्तो जात रहेछ– जहाँ अगुवा भनिनेहरूको हात पुग्नै पर्ने । पुच्छरमा हात पु¥याइरहेको लोमहर्षक रमिता हेरेर लखरठ्याक मक्ख परेको प¥यै छ । पदको पुच्छर समाउन, कुर्सीको पुच्छर अँठ्याउन, हठको पुच्छर हल्लाउन कोहीभन्दा कोही पछि परेको छैन । पुच्छरमा हात राखेर निमग्न भएकाहरूलाई न संविधान चाहिएको छ, न परिवर्तन । न पिलन्धरे जनताले खोजेको शान्ति चाहिएको छ, न मुलुकको अमन चयन । पुच्छरमा हात राख्न पाए भयो । अरू सबै कुरा टाइँटाइँ फिस्स । क्याबात पुच्छरप्रेमी, क्याबात ।

कङ्गालिँदै गइरहेको मुलुकको तालाचाबी पुच्छरप्रेमीकै हातमा छ । भत्तामा कुनै घुनपुत्लो लागेको छैन । स्वदेशको दौडाहामा कुनै थुनछेक छैन, विदेशको दौडाहामा कुनै बाधा अवरोध छैन । कामचलाउ महोदयहरूको काम बेरोकटोक चलिरहेकै छ । ज्यानमाराहरूलाई अभयदान दिने निर्णय शानसँग भइरहेकै छन् । भ्रष्ट मनोवृत्तिले प्रोत्साहन पाइरहेकै छ । यता फर्किए पनि कमिसनको चाङ, उता फर्किए पनि नजरानाको चाङ । लुट र अपहरणका मतियारहरूले पदोन्नति पाइरहेकै छन् दनादन । अनि केका निम्ति चाहियो संविधान ?

मुलुक अराजकताको चुलीमा पुगेको कुरा गर्नेहरू मुर्ख हुन् । भ्रष्टाचार बढेको कुरा गर्नेहरू बेबकुफ हुन् । कामचलाउद्वारा काम नचलेको देख्नेहरू नम्बरी फटाहा हुन् । यावत कुरा ठप्प भइसक्यो भन्नेहरू कीर्ते र जालीझेली हुन् । यो देश अहिले शानसँग चलिरहेको छ । राष्ट्रका सबै अङ्ग सुपरिचालित छन् । आफन्त, भाइभतिजा सबका सवले रोजगार पाइरहेका छन् । सातपुस्तालाई पुग्ने सम्पत्ति सोहोर्दा पनि कसैले सुइँको पाउन सकेको छैन । आफूमात्रै होइन आफन्त र ऐरेगैरेसम्मलाई राज्यको कोषबाट चारो छरिएकै छ । यी सारा क्रियाकलापले बढिरहेको छ देशको शान । अनि किन चाहियो जाबो संविधान ?

लोकतन्त्रको परिभाषा गर्ने, शान्ति सुनिश्चित भएन, मानवअधिकारको रक्षा भएन, विकास निर्माणले गति लिएन, देश अग्रगतिमा गएन भन्नु बहुलठ्ठीपूर्ण बकबास मात्रै हो । विकास प्रशस्त भइरहेको छ । कुर्सीका निम्ति भीषण लुछाचुँडी नै लोकतन्त्र हो । खान नपाएको निहुँमा काउलो टिप्न निकुञ्ज पस्ने चोर शिकारीले गोली खानु मानवअधिकारको रक्षा नै हो । उहिलेका कुरा खुइलिसके, अहिलेका कुरा छाडी खालि उहिलेका कुरा गरेर जर्णेलहरूमाथि कार्वाहीको माग गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई नै मानवअधिकार तालिमको व्यवस्था गरिँदैछ । समस्याले बोकेरै आउँछ आफै समाधान । अनि किन चाहियो जाबो संविधान ?

आयल निगमको लोकतान्त्रिक कदमले तेलको मूल्य बढ्नु कुनै नौलो कुरा हैन । अरबौँको घाटा भए पनि बोनस बाँड्ने निर्णय गरेकै थियो तर लागु पो हुन पाएन त । त्यसलाई लागु गर्न चोरबाटो खोजिँदै छ । राज्यकोषबाट अरबौँ सबसिडी उपलब्ध गराए पनि वर्षमा सात–आठ पटक तेलको मूल्य बढाउनु आयल निगमको पौरख हो । यही पौरखका कारण महँगीको गौरव गर्न लायक नयाँ कीर्तिमान खडा हुँदैछ । उता विद्युत प्राधिकरणको नाम फेरेर लोडसेडिङ प्राधिकरण बनाउने प्रक्रिया सुरु भइसकेको छ । हप्ताको हैन, अब दिनको बीस बाइस घण्टा पनि लोडसेडिङ नभए के लोडसेडिङ ? यसो नगरी अदृश्य कमिसनको मिसन कहाँ पूरा हुन्छ र ? यसो नगरी प्राधिकरणले भूतपूर्वदेख बर्तमानसम्मका गृहमन्त्रीज्यूहरूलाई करोडौँका गाडी सुविधा कसरी उपलब्ध गराउन सक्छ र ? हो, यसै गरी बढिरहेको छ नयाँ नेपालको विकासे सोपान । यस्तै यस्तै मात्र सुनिरहेछन् लखरठ्याकका थोत्रा कान । लौ, अनि किन चाहियो जाबो संविधान ?
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad