गायत्री परिरोशनीआजको नेता
आयो चुनाव पार्टी कसलाई योग्य मान्ने
को हो ? इमान राख्ने कसरी यथार्थ जान्ने ।
पार्टी अनेक आए गफले प्रजा बनाए
बेमान धूर्त बन्ने सजिलो प्रथा खुलाए ।
ढाँटेर मख्ख पार्दै चुनिँदै सदस्य हुन्छन्
साँचा कुरा लुकाई लुकाई छलछाम मात्र गर्छन्
गर्छौं विकास भन्दै मुखले गरी बाहना
गर्छन् प्रयास सक्दो कुभलो विनाश नाना ।
आय प्रशस्त आए पर या स्वदेशबाट
श्रेस्ता खुला बनाए तर खर्च वार्न फाँट ।
बिल्डिङ्ग निजी मजाकी युवती झिलिक्क कार
चाहिन्छ देशबासीतिर को गरोस् विचार ? ।
भोकै बसुन्की नाङ्गै कति रोगले कुहेका
बेरोजगार शिक्षा नहुँदा निसास्सिएका
स्वार्थी कुबुद्धि खिच्चा खल धूर्त आत्मघाती
विश्वासघातकर्ता करुणा विहिन मूर्ति ।।
चन्दा लिइन्छ पार्टी सजिलो कुरा गरेर
बन्दैन काम उल्टै बरु जान्छ त्यो सडेर ।
के आशाले कहाँको कुन पार्टी मुख्य मान्नु
गर्ला भनेर कसको भर के बुझेर जान्नु ।
दोलखा
Subscribe
Login
0 Comments
Oldest





































