सुलसुलेझरनाको वार्षिकोत्सव : छतिवन डायरी
हेटौडा,२०७१फागुन १६/फागुनको दिन घमाइलो हुनुपर्ने जत्ति भएको थिएन । सधै केही न केही परिरहने शनिवार यस पटकचाहिँ केही परेन र बाँकी रहेका पुस्तक,पत्रिका सक्ने मनस्थिति बनाउँदै थिएँ,झरनाका उपाध्यक्ष भाइ दीपकबाट एकसाँझ फोनमा झरनाको कार्यक्रममा छतिवन जाने निम्तो पाईयो । यसबीचमा छतिवन जान कतैबाट अवरोध आएन र आएको भए नमज्जा हुने रहेछ ।
नेपालको नक्सामा मकवानपुर जिल्लाको पनि छतिवन भन्ने गाविस छ । सो गाविसलाई साहित्यका माध्यमले चिनाउन रगत र पसिना बगाउनेहरूमा पनि विशेषरुपले लागि परेका रमेशमोहन अधिकारी र छतिवनकै प्रतिभाहरूका रचना मागीमागी पत्रिकामा छपाइदिएर प्रेरक बनेका सञ्जय साह ‘मित्र’लाई सम्मान गरेको हेर्न नपाइने रहेछ ।
छतिवनको माटोबाट अनमोलमणि, सुवास खनाल, भावना साप्कोटा, चिरञ्जीवी चकोर, दीपक गौतम, विश्वनाथ, मसान उपासक, लीला शिरिष, विश्व राईहरूका साहित्यिक मुनालाई हुर्काउन, बढाउन, फल्न र फुलाउन निक्कै मेहनत गर्ने साहित्यिक माली रमेशमोहनको मेहनत खेर नगएको र उनको निस्वार्थ सेवाका खातिर यो सम्मान मिलेकोजस्तो लागेको छ । मकवानपुरे शैक्षिक क्षेत्रका सुनाम विनोद सुवेदीको बाआमाको नामबाट स्थापित र झरनाको व्यवस्थापनमा यसै वर्षदेखि यो पुरस्कारको स्थापना र वितरण शुरु गरिएको जानकारी पाइयो ।
सोही कार्यक्रममा खुल्ला गजल, अन्तर विद्यालय गजल प्रतियोगिताका प्रतियोगीहरूलाई पुरस्कृत गरिएको थियो । झरनाको २२ औं स्थापना दिवस, १८८ औं साहित्यिक कार्यक्रम एवम् नारायणी अञ्चलस्तरीय कवि गोष्ठी पनि सम्पन्न भएको सो कार्यक्रममा कविहरूमा आर.आर.चौलागाईं, साम्ब ढकाल, देवराज खरेल, जनार्दन खनाल, सुवास खनाल, मसान उपासक, अनिता न्यौपाने, शान्ति प्रियवन्दना, यमनदेव उत्प्रेरक, रमेश समर्थन, तेजविक्रम कार्की, राम आचार्य, अप्सरा चौलागाईं, मेनुका प्रधानानाङ्ग, गायत्री रुपाखेती लगायतद्वारा कविता, गीत, गजल, मुक्तक वाचन भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका नरनाथ लुइँटेललाई प्रमुख अतिथि बनाइएको कार्यक्रमलाई संस्थाका उपाध्यक्ष दीपक गौतमले सञ्चालन गरेका थिए । साँझसम्मै चलेको कार्यक्रम मोबाइलको लाइट बालीबाली कविता वाचन चलेको थियो । ढीलो शुरु कार्यक्रम ढिलैसम्म चल्ने नै भयो । बिहान दश बज्दा नबज्दै निस्केको घरबाट फर्कंदा झन्डै आठ बजेको थियो । साहित्यका लागि जो समय मिलि राखेको छ भोलिका लागि दिन सकिन्छ सकिँदैन । त्यो त भोलिले बताउला नै !
–साम्व ढकाल
Subscribe
Login
0 Comments
Oldest











































