हरिकला उप्रेतीहोली एक, फाइदा अनेक
होली भनेको होली नै हो बा ! अरूहरूलाई जे होलाहोला तर लोला दिने र खानेलाई भने गज्जबै होला । होली भन्दै हौसिएर हप्तौँ अघिदेखि प्लास्टिकका थैलामा ढलकै भए पनि जल भर्दै झ्याल, छिँडी र छतमा लुकेर लोला नामका गोला सडक र चोकमा नर्बसाएको भए, विचार गरौँ त हप्तौँ अघिदेखि स्कुल र कलेजहरू बन्द हुन्थे होला ? यी बन्द नभइदिएका भए भन्नोस् त यस्तो गज्जबको होलीको मज्जा कहाँ जान्थ्यो होला ।
त्यसैले म त लोला बर्साउनेलाई तर्साउने हैन, अझ हौस्याउने गर्छु । फागु भनेको फागु नै हो बा ! फाइदै फाइदाको काइदाको पर्व । फागु आगुँ मनाउला भनेर बस्नु मूर्खकै कोटीमा पस्नु जतिकै हो । नबुझ्नेहरू होलीका नाउँमा नानाभाँती नजाती तर्क गर्छन् । तर म भने फगुवाका नाउँमा अगुवै भएर गुणगान गाउँछु ।
सतोसत् मैले होलीको गुणगान लोली मिलाउन मात्र गाएको होइनँ र हिरण्यकश्यपको विष्णुभक्त छोरा प्रल्हादलाई मार्न होलीकाले लिएर अग्निकुण्डमा होमिँदा होलीका नै भस्म भएको कथा सुनाउन पनि होइन । फाइदै फाइदाको यो काइदाको होलीलाई हेला गर्ने हाम्रो दृष्टिकोण सकारात्मक र दूरदर्शी बनोस् भनेर मात्रै हो ।
साँच्चै भन्या ! होलीले नबोली नबोली बस्नेहरूका बीचमा बोली खोलिदिएको छ । खानपान र रङ्गरोगनका रौनकमा तानातान मात्र नभएर हानाहानसम्म भएको छ । वषौँ नबिकेका नानाथरिका रङ्गको बिक्रीले उत्पादन कम्पनीलाई उक्साएको छ । इनामेल, मोबिल, कुहिएका अन्डा, कुहिएका गोलभेडा, खुर्सानीको धुलो, सिसाका टुक्रा मिसिएका अत्याधुनिक रङ्ग र फोहोर पानीको प्रयोगले, पानी अभावमा नुहाउन नपाएका सुगन्धित राजधानीबासीलाई थप सुगन्ध प्रदान गरेको छ ।
होली अघि हल्ली हिँड्न बाध्य विशेषज्ञहरूलाई व्यस्त बनाउँछ । छाला, नाक, कान, घाँटी, आँखा, फोक्सो र छातीजस्ता अङ्गमा अलिअलि भए पनि अप्ठ्यारो ल्याइदिन्छ र औषधिको विक्री बढाइदिन्छ । अझ अन्धो, बहिरो, क्यान्सर र दमजस्ता दामीदामी दीर्घरोग लागिदिए त चिकित्सा विज्ञान मात्र हैन हाम्रो देशको अर्थतन्त्र नै उँभो लाग्थ्यो । अनि त भएन होली एक, फाइदा अनेक ।
तेह्रथुम
Subscribe
Login
0 Comments
Oldest











































