प्रेम ओली ढकलपुरेबोकाको घ्यू
लोके सहरबाट
जति पटक गाउँ आउँछन्
नयाँ कुरो मात्र ल्याउँछन्
चुनाव आयो कि गाउँमा
चैत्रको चरी झैं जुरमुराउँछन्
त्यसपछि त
हिउँदको कोइली झैं हराउँछन् ।
पहिले पहिले आउँथे
नागको मणिको कुरो ल्याउँथे
बहुदल आएपछि
चुनाव आयो कि
टुप्लुक्क गाउँ आउँथे
कहिले स्यालको सिङ
कहिले भालु पित्तको कुरो ल्याउँथे
हुँदा हुँदा कहिले त
साँढेको झरेपछि समेत
ल्याउने कुरो गर्न भ्याउँथे
पछि संविधान ल्याउने कुरो गरे
यो पनि
भालुलाई पुरान सुनाएको जस्तै भो अरे ।
लोके फेरि
गाउँतिर आउँदैछन्
यसपाली त
बोकाको घ्यू ल्याउने
कुरो ल्याउँदैछन्
कहिले स्यालको सिङ
कहिले गोरु ब्याउने कुरो गरेर
लोकेले गाउँलेलाई छक्काएकै छन्
सभासद, मन्त्री
प्रधानमन्त्री पद पकाएकै छन्
लोकेलाई नै छ मोज
लोकेकै छन् दिन
बिचरा जनतालाई सधैं छ ऋण ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































