साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुराम, शाहरुख र रामदेव

Nepal Telecom ad

कमरेड बाबुराम भट्टराईको भारत भ्रमणको विधिवत समाप्तिपश्चात प्रत्युत्तरमा उताबाट को आउनेछ भनी जान्न मलाई खुबै उत्सुकता थियो । यो कुनै उच्चस्तरीय भारतीय नेता नै हुनेछ भन्ने पनि लागेको थियो । अथवा नीच स्तरको भए पनि के फरक पर्नेछ ? तर अचम्मैले कुनै नेताको साटो अभिनेताको नेपाल आगमन भयो । अर्थात् भारतीय सिनेहिरो शाहरूख खानको ।

नेपालका कथित ठूला नेताहरू तारनतार भारत भ्रमणमा गइरहन्छन् । र सायद यसको त्वरित बदलामा दुई नम्बरी भारतीय नेताहरू यहाँ आउने गर्छन् । मेरो मतलव भारतका माथिल्ला नेता नेपाल कमै आउँछन् भन्ने हो । तर सन्तोषको कुरो के छ भने यसपटक उच्चस्तरीय अभिनेता आए । -र आएर गई पनि सकेका छन्) । याद रहोस्, शाहरूख खान भारतीय रजतपटका सुपरस्टार हुन् । उनलाई गणतान्त्रिक भारतका जनता प्रेमले \’किङ खान\’ पनि भन्ने गर्छन् । भारतीय सिनेमाका राजा । तर उनी यहाँ सिनेमाको नभएर कुनै भारतीय सामान प्रचार गर्ने सिलसिलामा आएका थिए । सायद जेनसन एन्ड निकोलसन पेन्टको । होइन, नेरोल्याक पेन्टको । यही ब्रान्डको पेन्ट नै हुनुपर्छ । पेन्ट याने रंग । र भारतीय रंगले यहाँ धेरैथोक रंगिएको छ । चाहे राजनीति होस् या अन्य कुनै नीति । जस्तै अर्थनीति । यसको मध्य भागमा एउटा \’न\’ थपे अनर्थनीति हुनेछ । संक्षेपमा अनीति । अहिले अनीति कै अभूतपूर्व चकचकी भइरहेको बेला होइन र ? संयोगले समय पनि होलीको वरपर भएकोले शाहरूख खानको रंगसहितको नेपाल भ्रमणलाई सामयिक नै मान्नुपर्छ । होली रंगहरूका पर्व हो । र होलीको मौसम नभएको समयमा पनि हाम्रा नेताहरू भारतको कालो, निलो, हरियो, पहेँलो, खैरो, गुलाफी आदि रंगले रंगीन तीव्र गतिले भारतको राजधानी नइदिल्ली पुगिरहन्छन् । यसको सबभन्दा ताजा उदाहरण कमरेड बाबुराम भट्टराईको भारत भ्रमण हो । तर उनले केही हतार गरेजस्तो छ । केही समय प्रतीक्षा गरेका भए यतै पनि भारतको रंगले रंगिने सुविधा हुने थियो । कुनै नेताको नभएर भारतीय अभिनेताकै हातबाट रंगिने अवसरको प्राप्ति पनि के नराम्रो हुने थियो !

अभिनेता शाहरूख खान भारतीय कम्पनीको पेन्टको प्रचार सक्याएर फर्किएपछि पक्कै पनि कुनै नेताको पालो आउनेछ भनेको त भारतबाट बाबा रामदेव पो नेपाल आउने भएका छन् । यसो ता बाबा रामदेव पनि कुनै नेता अथवा अभिनेताभन्दा पछि छैनन् । अझ उनको समग्र व्यक्तित्वमा त नेता र अभिनेताको अद्भुत समीक्षण रहेको छ । उनी एक सुपरस्टार बाबा हुन् । उनकै निजी टेलिभिजन च्यानल \’आस्था\’का एकल हिरो । र उनले नै गएको भारतीय महानिर्वाचनमा भारतीय जनता पार्टीलाई विजयी बनाए भन्नेहरू पनि कम्ता छैनन् । त्यसकारण बाबा रामदेव वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीका समर्थक हुन् या नरेन्द्र दामोदरदास मोदी बाबा रामदेवका समर्थक हुन्, यसै भन्न गाह्रो छ । मलाई त अभिनेता एवं नेताका संयुक्त रूप बाबा रामदेवले नै अपेक्षाकृत ज्यास्ती आकषिर्त गर्ने गर्छ ।

जे होस्, शाहरूख खान एकमात्र पेन्टको सशरीर विज्ञापनमा नेपाल आएका थिए । तर बाबा रामदेव त पाचक,

ट्याब्लेट, च्यवनप्रास, साबुन, स्याम्पु, तेल, जाम, जेली, दलिया, बेसन, टुथपेष्ट, विस्कुट, सातु, मैदा, गोमूत्र, चिया, चिनी, अचार, नुन, पिठो, टाइलेट क्लिनर, मुरब्बा, मिठाइ, चक्लेट, सर्वत, मेहँदी, फलकोरस, सीडी चक्का, पुस्तक आदि अनेकन सरसामानका गतिशील प्रचारक हुन् । यही सिलसिलामा उनी नेपाल, बर्मा, श्रीलंका, फिजी, मालदिभ्स, भुटान, बंगलादेश, मलेसिया, सिंगापुर, अष्ट्रेलिया, मारिसस, अमेरिका आदि मुलुकका अथक दौडाहा गरिरहन्छन् । यस अतिरिक्त आफ्नो मुख्य कर्म भनिएको योगासनको पनि तत्तत् ठाउँमा मनोरञ्जक प्रदर्शन गर्ने गर्छन् । यसमा श्वासनदेखि सत्तासनसम्म पर्छ । उनले नितान्त मौलिक सत्तासनलाई पनि योगका ताडासन, चक्रासन, मयुरासन, बक्रासन, भुजंगासन, सर्वांगासन, हलासन, हस्तपादासन आदिसँगै समावेश गरेका छन् । यसको ज्वलन्त प्रमाणको रूपमा बाबा रामदेवकै प्रत्यक्ष-अप्रत्यक्ष रेखदेखमा सफलतापूर्वक सत्तासन गरिरहेका भारतीय मोदीहरूलाई हेरे हुन्छ । सम्भवतः यसैले आकषिर्त भएर हाम्रा नेताहरू पनि बाबा रामदेवलाई मान्ने गर्छन् । उनी एक नेतापि्रय बाबा हुन् । केही वर्ष पहिले पनि उनी नेपाल भ्रमणमा आएका थिए । त्यसबखत उनले हाम्रा कतिपय सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई टुँडिखेलको खुला स्थानमा योगासनको खासा दीक्षा दिएका थिए । एकपटक फेरि आउने भएका छन् । यस पटकको उनको भ्रमणमा एउटा अन्तर के हुनेछ भने पहिलेका योगाकांक्षी अर्थात् नेपालको सत्तापक्ष हाल प्रतिपक्ष भइसकेका छन् । अब यसलाई उल्ट्याउने प्रतिपक्षीहरूका यौगिक प्रयास हुनेछ । के यससम्बन्धी बाबा रामदेवसँग कुनै नयाँ सत्तासनको प्रवृत्ति नहोला र ? यसका साथसाथै वर्तमान सत्तापक्षको सोच योगको विपरितासन सिक्नमा हुनेछ । उनीहरू कुनै यथास्थितिवादी आसनको अभ्यास गर्न आतुर हुनेछन् । यसको अर्थ के हो भने बाबा रामदेवको नवीन योग सत्तासनबाट हाम्रा दुवै पक्षका नेताहरू अर्थात् सत्तापक्षी र प्रतिपक्षी यथेष्ट लाभ लिन चाहन्छन् । सबै नेताहरूलाई उनको चमत्कारिक योग विद्यामाथि सम्पूर्ण आसा एवं भरोसा रहेको छ ।

अन्त्यमा,

बाबा रामदेव आफूलाई एक गेरुवा वस्त्रधारी अर्धनग्न फकिर भन्ने गर्छन् । यो असत्य होइन । उनी संसारका एकमात्र अर्बपति फकिर हुन् । उनको भारतको एक आध्यात्मिक सहर हरिद्वारस्थित पतञ्जली योगपिठ कम्पनीबाट वर्षेनि अर्बौं अर्ब रुपियाँको कारोबार हुने गर्छ । उनको कारोबारी नीति पनि गजबको रहेको छ । बाबा रामदेव \’स्वदेशी\’ का कट्टर समर्थक हुन् । यसको सोझो अर्थ विदेशी मालसामानको बहिष्कार गर्नुपर्छ भन्ने हो । उनको प्रवचनको मूल स्वर नै \’स्वदेशी सामान खरिद गर\’ मा पूर्णतया आधारित छ । यही स्वदेशी नीति अन्तर्गत उनी पतञ्जली योगपिठका स्याम्पुदेखि पिठोसम्म भारतबाहिर धमाधम पठाउने गर्छन् । नेपालमा पनि बाबा रामदेव मार्का सरसामानहरूका राम्रो खपत छ । अब यस्ता अग्घोर नीतिवान अर्बपति बाबाजीसँगको प्रभावित हुँदैन ? यस्ता मध्ये एकजना म पनि हुँ । मलाई उनको बहुआयामिक बाबागिरी मन पर्छ । त्यसकारण चाँडै नै हुने उनको टुँडिखेलको योग शिविरमा सामेल हुने विचार गरिरहेको छु । हेरौं के हुन्छ ?
कान्तिपुर दैनिक, ०७१ चैत १४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x