लक्ष्मण गाम्नागेचीन गएर के भन्ने ?
हाम्रा राष्ट्रपति रामवरण यादवलाई बेलाबेला ठूलै आपत आइलाग्छन् । चीन भ्रमणमा जान लाग्दा यसपालि त्यस्तै आपत् भयो । जान त जाने, चिनियाँ समकक्षीले नेपालको खबर के छ भनेर सोधे के जवाफ दिने ? पराइ देशमा गएर भएका कुरा गर्दा देशकै इज्जत जाने डर, नभएका कुरा गर्दा ढाँट राष्ट्रपतिका रूपमा विश्व सामान्य ज्ञानमा नाम लेखिएला भन्ने भय ।
एक दशकदेखि बनाउन थालेको नेपालको संविधानको समाचार के छ भनेर चिनियाँले सोधिहाल्नेछन् । के भन्ने ? हामीलाई हजार किलोमिटर रेलमार्ग बनाउन ३ वर्ष ५ महिना र ३ दिन लाग्छ भने तपाइर्ंहरूलाई एउटा संविधान बनाउन कति वर्ष लाग्छ भनेर हिसाब सोधे भने कति भन्ने ? हामीलाई एउटा नदी बाँधेर हजारौँ किलोमिटर टाढाको सहरमा पुर्यााउन ७ वर्ष ४ महिना ११ दिन लाग्छ भने तपाईंहरूलाई ३० किलोमिटर टाढाको मेलम्ची खोलाको पानी राजधानीमा पुर्या उन कति दशक लाग्छ भनेर छेड हाने भने के जवाफ दिने ? तपाइर्ंहरूलाई हामीले बनाइदिएर हस्तान्तरण गरेको ट्रली बस र त्यसको सम्पूर्ण संरचना खाएर सक्न दुई दशक लाग्यो भने बन्दाबन्दै खान थालेको तामाकोसी, चिलिमे, चमेलियालगायतका हाइड्रो पावरहरू कति दिनमा खाइसक्ने विचार छ भनेर मुटु नै कुटुक्क पार्ने प्रश्न गरे भने कस्तो मुख लगाउने ?
बन्द, हडताल, चक्काजाम, युद्ध, कब्जा, कालो झन्डा, मसाल जुलुस इत्यादि भनेका के हुन् ? पाखुरा, तिघ्रा, पुल्ठा, ढुंगामुढा, कुर्सी हानाहान, माइक भाँचाभाँच, कुटाकुट र संविधान निर्माणका बीच कस्तो सम्बन्ध छ ? देशको विकासमा तिनीहरूको के महत्त्व छ भनेर सोधे भने राष्ट्र प्रमुखका हैसियतले मैले के जवाफ दिने ? माओवाद भनेको के हो ? माओ कुन देशमा कहिले जन्मेर कहिले मरेका थिए ? उनी मरेको कति वर्ष भयो ? नेपालमा अहिले कुन शताब्दी चलिरहेको छ ? छिमेकी राष्ट्रहरूको तुलनामा नेपालको विकासको गति कस्तो रहेको छ भनेर सोधे भने के जवाफ दिने ? नेपालका नेताहरूको बुद्धि शरीरको कुन अंगमा हुन्छ ? उनीहरू के गर्दै छन् ? तपाइर्ं राष्ट्रपति हुनुभएको कति वर्ष भयो ? तपाईंको पदावधि कति वर्षको हो भनेर सोधे भने मैले बोल्ने कि नबोल्ने ? सोध्दा सोध्दै कतै उनीहरूले नेपालका नेताहरू अचेल लजाउन छाडेका छन् अरे, लुगै नलगाई हिँड्छन् अरे नि हो भनेर सोधे भने मैले खाँदा खाँदैको डिनर खाइरहने कि छाडेर हिँड्ने ? कस्तो फसाद !
सम्भावित प्रश्नहरूको कल्पनाले नै राष्ट्रपति कहालिए । रातभरि निन्द्रा लागेन । त्यसैले राष्ट्रपतिले एकाबिहानै शीतल निवासमै नेताहरूलाई बोलाएर सोधे, चीन भ्रमणका बेला आउन सक्ने यस्ता प्रश्नको जवाफ के दिने ?
नेताहरूबाट जवाफ आउला भनेर ढुक्क परेका राष्ट्रपति अर्को आपत्मा पो फसे । राष्ट्रपतिको प्रश्न भुइँमा खस्न नपाउँदै नेताहरू बुरुक बुरुक गर्न थाले । यसले गर्दा संविधान नबनेको र उसले गर्दा नबनेको भन्दै एकअर्काका नाकमा चोर औँलाले घोच्न थाले । हुँदा हुँदा खाँदै गरेका चियाका कप र प्लेट नै हानाहान गर्ने हुन् कि जस्तो अवस्था आएपछि राष्ट्रपतिले हस्तक्षेप गरेर नेताहरूलाई बल्लबल्ल छुट्याए र घर पठाए ।
अनि, फेरि सोच्न थाले, हे भगवान्, चीनमा गएर के भन्ने ?
नेपाल साप्ताहिक
Subscribe
Login
0 Comments
Oldest







































