होम सुवेदीजाजरकोट
तस्वीर खिच पत्रकार
हाम्रा आँखाहरूबाट पत्थरका ढिक्काहरू खस्लान्
तिम्रा बिकाउका सामान बन्नेछन्
सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ–
…तिम्रा आदिम सपनाहरूमा डढेलो लगाऊ …
रेडियो नेपाल
तिमी केही हिन्दी गीत सङ्गीत
र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ
नेपाल टेलिभिजन
तिमी फिल्मी काउन्टडाउन र पप भिडियोहरू बजाउँदै बस
बिबिसी
तिमी चिप्लो स्वरमा
कुनै दिवङ्गत प्रधानमन्त्रीको जीवनगाथा प्रस्तुत गर
भन्दै बस–
उहाँ देशका प्रधानमन्त्री ,तिमीहरू जाबो नागरिक
उहाँ सिङ्गो नेपाल, तिमीहरू नाथे जाजरकोट
केन्द्रीय बुद्धिजीवी
तिमी चिया गिलासमा देशको संविधान बनाऊ
बेलुका दारु महलमा पसिना पुछ– डा. केसीको दिमाग ठीक छैन
सरकार
राहतको नाममा
केही मिति गुज्रिएको औषधी पठाऊ
कसले पढ्लान् र चिप्लेकीरा जस्ता अक्षरहरू ?
बरु नफैलियोस्
यो महामारी सिंहदरबार,
संसदभवन वा राष्ट्रपति कक्षमा
र नतर्साउन् प्रेतहरूले सपनामा
हामी जाजरकोट
हाम्रै जीवनसँग अभ्यस्त छौँ
बरु तिम्रा दैनिकीहरूलाई बाधा पुग्ला
तिमी आफ्नै बारे सोच ।
Subscribe
Login
0 Comments
Oldest





































