साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानीको मल्हमपट्टी

Nepal Telecom ad

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको मेलम्चीस्थित भीमकाली गुल्ममा शुक्रबार साँझ भूकम्पपीडितका लागि राहतमा दिनरात खटेका सुरक्षाकर्मीका लागि सिस्नुपानी नेपालले ‘सिस्नुपानी मल्हमपट्टी’ कार्यक्रमबाट मनोरञ्जन दिलायो।

गएको एक महिनाभन्दा बढी समयदेखि सिन्धुपाल्चोक क्षेत्र नं.३ मा उद्धारका लागि खटेका सुरक्षाकर्मीहरुको मिहिनेतको प्रशंसा भइरहेका बेला ‘मल्हमपट्टी यात्रा\’ पनि टुप्लुक्क त्यहाँ पुगेको हो।
‘मैले जीवनमा कलाकारहरुसँग यति नजिक उभिएर प्रस्तुति हेर्न पाएको थिइनँ,’ गुल्मपति प्रेम हमालले भने, ‘आज प्रत्यक्ष प्रस्तुति हेर्न पाउँदा म शब्दविहीन भएको छु।’ हमालले विदेशमा हुँदा नेपाली कलाकारका प्रस्तुति युट्युबमा खोजीखोजी हेरे पनि आफ्नाअगाडि पेट मिचिमिची हाँस्न पाउँदा भाग्यमानी सम्झेको बताए। उनले भने, ‘कलाकारहरुको यो प्रस्तुति हेरेर हामी रिचार्ज भएका छौं।’

हुन पनि कार्यक्रममा कलाकार मनोज गजुरेलको प्रस्तुतिलाई उपस्थित सुरक्षाकर्मीहरुले मज्जा मानेका थिए। ‘गजुरियल सूत्र’बाट कसरी भूकम्पबाट जोखिने भन्ने सुन्दा पेच नमिच्ने कमै दर्शक थिए।

कार्यक्रममा वाग्मती सफाइ अभियानका सहअभियन्ता डा. राजु अधिकारीले योगाको महत्व बुझाएका थिए भने कवि अर्जुन पराजुलीले चोटिला व्यंग्यकविता पस्किएका थिए। सिस्नुपानीका महासचिव टंक आचार्यले बीचबीचमा पस्किने रोचक उद्घोषणात्मक कविताले पनि माहौल रोचक बनाउन भूमिका खेलेको थियो। त्यसमाथि जीवन शर्माका जीवनवादी गीत र कमलीकान्त भेटवालका पूर्वेली भाकाले सुरक्षाकर्मी र सर्वसाधारणलाई नाच्न बाध्य बनाएका थिए।

कार्यक्रमहरुमा सिस्नुपानीका लक्ष्मण गाम्नागेले ‘भूकम्पको पत्र’ नामक व्यंग्यकविता वाचन गरी सुनाएका थिए। मानिस आफ्नै अहंकार ठड्याउँदै गर्दा कसरी आफ्नै चिहान खनिरहेको छ भन्ने कवितात्मक दृश्य देखाउँदै उनले भूकम्पले दिन खोजेको सन्देश के हो बुझाउने प्रयास गरेका थिए।

शुक्रबार र शनिबारको कार्यक्रमका लागि साहित्यकार तथा चिकित्सक रवीन्द्र समीरले दुई विदेशीसहितको चिकित्सकीय टोली पनि आफूसँगै लगेका थिए। शनिबार उनीसहित तीन जनाको टोलीले दुई सय जना घाइतेहरुको घाउ सफा गर्ने तथा मल्हमपट्टी लगाउने काम पनि गरे। उनले मनोरञ्जनका लागि उपस्थित मेलम्चीका सर्वसाधारणहरुलाई भूकम्पका कारण उत्पन्न हुने भय, निराशा र मानसिक अस्वस्थतालाई न्यूनीकरण गर्न आफ्ना भावना साटासाट गर्न, समूहमा बस्न र एकान्तबास नगर्न सुझाव दिएका थिए।

भूकम्पपछिका दिनहरुमा लघुकथाकारको परिचय समेत थपेका चिकित्सक समीरले पाँच हजारभन्दा बढीलाई आफैँ स्वास्थ्योपचार गर्न भूकम्पप्रभावित क्षेत्रमा पुगेका थिए। ‘भुइँचालोका कारण मेरो घर ढल्न सक्थ्यो तर ढलेन, मेरो लाखौं रुपियाँ यसले जोगाइदिएकाले त्यो रकम बराबरको म के गर्न सक्छु भनेर मन्थन गर्दा मैले जानेको उपचारमा लागेँ,’ समीरले भने, ‘यसले मलाई ठूलो सन्तोष दिएको छ।’

मल्हमपट्टीअन्तर्गत १४ जिल्लाका भूकम्पपीडितमाझ आशा, मनोरञ्जन र सान्त्वना बाँड्न आफूहरु निस्किएको सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए। ‘सुरुवातमा हामीले काठमाडौंबाट नजिक सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला छानेका छौं र त्यहीअनुसार हामी यहाँ आइपुगेका हौं,’ गाम्नागेले भने।
कार्यक्रम गर्नुको मूल कारण खुलाउँदै गाम्नागेले भने, ‘सुरुमा हामीले त्रासमा रहेका बालबालिकाहरुका लागि कार्यक्रम गर्न चाहन्थ्यौं तर तर्सिने समूह बालबालिका मात्र नरही अन्य सर्वसाधारण पनि रहेकाले सबैलाई सुहाउँदो प्रस्तुति तयार पारेका हौं।’

यस अभियानका लागि सिस्नुपानीले आफ्ना सदस्यहरुबाट पैसा उठाई गाउँगाउँ जान तम्सिएको छ। पहिलो चरणको कार्यक्रम शनिबार सकिएपछि अन्य क्षेत्रमा जान स्रोत जुटाएर केही दिनपछि निस्कने सिस्नुपानीको योजना छ।

यसपालि राजनीतिकभन्दा पनि मनोरञ्जनलाई बढी प्राथमिकता दिएको कलाकार गजुरेलले बताए। भूकम्पसँग जोडिएका कविता र प्रस्तुतिलाई पहिलो चरणमा रुचाएकाले यसैलाई निरन्तरता दिने उनको भनाइ थियो।

यही बेला आफ्नो गच्छेअनुसार विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरु समेतले राहतका विभिन्न प्याकेजहरु लिएर गाउँगाउँ छिरिरहेका बेला आफूहरुले ‘मानसिक राहत’ बोकेर गाउँ छिरेको कलाकार मनोज गजुरेलले बताए। ‘यो बेला यस्ता कार्यक्रममार्फत गरेका सम्वाद र हौसलाले सर्वसाधारणलाई त्रास र तनावबाट बाहिर ल्याउन मद्दत गर्ने हाम्रो अनुमान थियो,’ उनले भने, ‘सोहीअनुसार शुक्रबार र शनिबारका कार्यक्रमको सफलताले त्यो अनुमान पूरा भयो।’

अघिल्लो वर्ष ‘भ्रष्टाचारविरोधी हास्यव्यंग्य यात्रा’ गरेको सिस्नुपानीले यही जेठदेखि चौथो चरणको कार्यक्रम गर्ने अन्तिम तयारी गरेको थियो तर भूकम्पले कार्यक्रमको औचित्य अहिलेका लागि टारिदिएकाले कवि र कलाकार मिलेर यो कार्यक्रम गरेको सिस्नुपानीका पूर्व अध्यक्ष अर्जुन पराजुलीले बताए।

भ्रष्टाचारविरोधी कार्यक्रम सांस्कृतिक र मानसिक परिवर्तनका लागि गरिएकाले त्यसको असर निकै पछि मात्र देखिने उनको अनुमान छ। भूकम्पको मल्हमपट्टीपछि पुनः भ्रष्टाचारविरोधी हास्यव्यंग्य यात्रालाई जारी राख्ने पनि उनले जानकारी दिए।
अच्युत कोइराला, नागरिक न्युज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x