डा. गाउँले बलदेव‘साला’ भनेको मन पर्दैन !
शब्द आफैँ लाज लाग्ने र लाज नलाग्ने हुँदैन । प्रयोग गर्ने वक्ताको आशयबाट मात्र लाज लाग्ने र लाज नलाग्ने शब्द छुट्टिन्छन् । वक्ताले त्यस शब्दलाई कुन अर्थमा प्रयोग ग¥यो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । ‘केरा, आलु, दूध, घण्टा, अण्ड, रोटी’ जस्ता पवित्र शब्दलाई छाडा अर्थमा प्रयोग गरिएको पाइन्छ । ‘केरा फल्यो । केराबारी देखेँ । जहाँ केरा, त्यहाँ बाहुनको डेरा ।’ आदि प्रसङ्गमा केराले खाद्य फलकै अर्थ दियो । यही केरालाई अश्लील अर्थमा प्रयोग गर्ने गरिएको छ । यदि कसैले ‘तेरा बाबुको … हेरेर बस्या थिस् ?’ भन्यो भने त्यही शब्द अश्लील बन्न पुग्छ । केरा, आलु, दूध, घण्टा, अण्ड, रोटी जस्ता शब्द देखिनु वा हेरिनु अर्थमा प्रयोग गरिँदा यस्ता शब्दबाटै अश्लील अर्थ लाग्छ ।
कुनै–कुनै शब्द एउटा भाषामा शिष्ट हुन्छ भने अर्को भाषामा अशिष्ट वा अश्लील हुन्छ । अङ्ग्रेजी भाषाका गाला, कुखुराको मासु आदि बुझाउने शब्द नेपाली भाषामा अश्लील वा लाज लाग्ने अर्थका हुन्छन् । हिन्दी भाषीले चिल्लो भन्ने अर्थमा प्रयोग गरेको शब्द नेपाली भाषामा अश्लील हुन्छ । एकताक भारतीय टेलिभिजनमा एउटा कम्पनीको नाम नै नेपाली भाषाको लाजमर्दो र आपत्तिजनक शब्दका रूपमा देखिएको थियो । नेपाली भाषाकै कुरा गर्ने हो भने सुदूर पश्चिमका नेपाली भाषीले प्रयोग गरेको शिष्ट शब्द सुदूर पूर्वको नेपालीले सुन्दा लाजले मुख छोप्नुपर्ने हुन्छ । पश्चिम–नेपालतिर छोरीलाई बुझाउने शब्द पूर्वतिर आउँदा लाज लाग्दो सुनिन्छ ।
सामान्यतया जननेन्द्रिय वा यौनाङ्गका नाम र तीसँग सम्बन्धित कुरा बुझाउने शब्दहरू अश्लील मानिन्छन् । संस्कृतका ‘लिङ्ग, योनि, यौन, कामवासना, कामोत्तेजना, कामुक, योनिरस, वीर्य, अण्डकोष, मैथुन’ जस्ता शब्दहरू सजिलैसँग बोल्न सकिन्छ । तिनै शब्दका पर्यायवाची अर्थ बुझाउने ठेट नेपाली शब्द वा एसियाली आगन्तुक शब्द बोल्न वा सुन्न सकिँदैन । संस्कृत भाषा आफैँ नै शिष्ट र सुसंस्कृत भाषा भएकाले त्यस भाषाका शब्दबाट अश्लीलताबोध नहुनु स्वाभाविक हो । तिनै शब्दलाई अङ्ग्रेजीमा प्रयोग गर्दा पनि हामी थोरै मात्र लजाउँछौँ ।
गणिका, नगरवधू जस्ता शब्द जति श्रवणीय छन्, रण्डी, बेस्से जस्ता शब्द त्यति नै आपत्तिजनक छन् । ‘उहाँ विधुर हुनुहुन्छ ।’ भन्दा कोही रिसाउँदैन । ‘उहाँ राँडो हुनुहुन्छ ।’ भनियो भने सम्बन्धित व्यक्तिको पारो चढिहाल्छ । ‘विधवाका छोरा ।’ भन्नु र ‘राँडीका छोरा’ भन्नुमा फरक छ । कामुक वा सेक्सी शब्दलाई ठेठ नेपाली भाषामा बोल्ने साहस सभ्य मानिसले गर्नै सक्तैन । हामीलाई आमाबाले ‘छोरो’ भनेको भन्दा ‘छोरा’ भनेकै मन पर्छ । आदरार्थी शब्द बनाउँदा ओकारान्त शब्दलाई आकारान्त बनाइन्छ । तर श्रीमतीको भाइले चाहिँ ‘साला’ भनेको भन्दा ‘सालो’ भनेकै मन पराउँछ किनभने ‘साला’ भन्ने शब्द गालीका अर्थमा प्रयोग गरिएको छ । ‘सालाजेठान’ वा ‘सालाभिना’ जस्ता शब्दमा अर्को शब्द मिसिएकाले यस्ता शब्द पनि पाच्य छन् ।
धोतीलाई टोपी बनाउन नसकिएजस्तै गरी अश्लील अर्थमा प्रयोग गरिएको शब्दलाई शिष्ट प्रयोगमा ल्याउनु ज्यादै कठिन हुन्छ । केही वर्षअगाडि ‘दरबारिया’ भन्ने शब्द सम्मानसूचक मानिन्थ्यो, अचेल अपमानबोधक बनेको छ । पहिले ‘चिरञ्जीवी भएस् !’ भन्दा आशीर्वाद सुनिन्थ्यो, अचेल त्यही शब्द अभिशाप बनेको छ । पारसमणिले छुनेबित्तिकै फलाम पनि सुन बन्छ अरे ! लौह भनेको फलाम हो । गणेशमानजी ‘लौहपुरुष’ भनिए, तिनलाई ‘पारसपुरुष’ भन्न थालियो भने सर्वोच्च नेताको अपमान ठहरिन्छ । यसरी शब्दहरू अश्लील र वर्जित हुँदै गएका छन् ।
नैकाप, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































