जीवन खत्रीम डा. गोविन्द केसी
महाराज
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
हो महाराज
मैले, गरेकै हुँ अपराध
जस्तो कि,
हजुरको गरिबी दर घटाउने मनशाय जानिन
उल्टै गरिबहरूलाई सिटामोल, र जीवनजल बाँडिदिएँ
हजुरको कपाल दुख्दा हजुर त गैजानुभो उडेर
म दौडिदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कती घाउहरू निचोरेँ, निकालेँ पिप, रगतका धारा
र दलिदिएँ, हृदयको मल्हम घाउ घाउमा
कति मलमुत्र छामे हातैले र बाँडिदिएँ खुसिका औषधीहरू
कतिलाई आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिएँ आँखाका आँसुहरू
महाराज
मैले यस्ता अपराध कति गरेँ गरेँ
आफैँले कम खाएर भोकको दबाई, खुवाएँ भोका बिरामीहरूलाई
आफ्नै हौसलाको सिरिन्जबाट झिकेर, आशाको रगत
बाँडीदिएँ ओइलाई झर्न लागेका कोपिलाहरूलाई
र भनेँ यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश तिम्रो पनि हो ।
महाराज,
मलाई हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरूलाई हेर्ने रहर भएन
भतिजा भान्जा र ज्वाईका नाममा विदेशमा अर्वौ राख्ने चाहना पनि भएन
न सयर गर्नै मन लाग्यो सररररर जहाजमा
म त आफ्नै जीवन भाँचेर, भर्न चाँहे गरिबहरूका हृदय
हो महाराज,
मबाट गल्तिभो
यी हेर्नु न, मैले त यिनै औषधीहरूसँग बिताईदिएँ जिन्दगी र
जीवनभर बिरामीहरूको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर यही देशलाई आफ्नो घर देखेँ
प्रत्येक बिरामीहरूलाई आफन्त देखेँ
र लागिरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तैपनि
घट्दै घटेनन् तन दुखेका बिरामी
झन् झन् बढिरहे मन दुखेका बिरामी
त्यसैले, ति बिरामी भन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि नियमका कुरा गरेँ
विधि, बिधान र गरिब भलाइका कुरा गरेँ
अकालमै दुखीहरू नमरुन् भनेँ
यही सबैभन्दा ठुलो अपराध भो
हो महाराज, म अपराधी हुँ
“मरे मरोस” भन्दै त्यसै नछाडिदिनुस् मलाई
होलान्, सिहंदरबारमा पुराना तोपहरू
मेरै छातीमा ताकेर पड्काउनुस् ।
होलान्, पुराना जंगे तरबारहरू
मेरै घाँटीमा निशाना बनाउनुस् ।
वा तातो तेलले डामेर अनुहार
सिफलमा लगी झुन्ड्याइदिनुस् ।
किनकि
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
मजस्तो अपराधी बाँच्न पाउने कुनै अधिकार छैन ।
रामेछाप
Subscribe
Login
0 Comments
Oldest







































