साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सीता उवाच

Nepal Telecom ad

राम

मेरो सम्बोधनमा
आश्चर्यचकित नहुनु
बिष्मित नहुनु
हटाऊ यी चिताका समिधाका रास
लखेट तिम्रा साक्षीहरु
तिम्रा महिमाको लागि
तिम्रो लोकलाजको लागि

सीता
अब अग्नी परीक्षा दिन सक्दिन
घाम शिर माथि लागेको छ
फर्केर नहेर
त्यहाँ न तिम्रो छायाँ छ
न त छायाँ सरी सीता
तिम्रो छायाँ
आफ्नै शरीरमा झरेको छ
सीता
अब छायाँ बनेर लतारिन सक्दिन

म तिमी सम्म आई पुग्दा
एक रात कामीसँग बिताएँ
मेरो आगमनमा
हर्षले गद्गद् भएर
आरनमा
उसका लौहभष्म पोतिएका हातले
मलाई बेसमारी माडे
बग्दै गरेका पसिनाले
मेरो रोम रोम धोईदिए
भार रहित मलाई
बिदाइमा म्वाइँ खाँदै
कोशेली दिएका छन्
बिचारका केही धारीला हतियार
मैले उसलाई स्वामी मानेको छु

मैले हलियासँग पनि रात बिताएँ
माटोको मोहक गन्धले खैँचेर
मलाई ऊ छेउ पुर्यायो
उस्ले पनि सुम्सुमाउँदै
त्यही माटोको गन्ध
मेरो बदनभरि भरिदियो
ठेला परेका हातका मर्दनले
जुगौं देखिको पीडा शान्त पारिदियो
सयौँ उकुसमुकुस मरे
जीउ सन्चो भयो
उसले मेरो पोल्टामा
केही वीउ हालिदिएका छन्
अहिले यसमा
पालुवा पनि लाग्न थालिसके
बिदाइमा अंगालेर
उसले कानमा फुकिदियो
श्रमको मन्त्र
र भन्यो
यी फूलहरु फुलेपछि
अन्यत्र पनि सार्नु
मैले उसलाई पनि स्वामि मानेको छु

एक साँझ
बिचबाटैमा छेकेर
गन्धर्वले आफ्नोमा लग्यो
पाहुना मान्यो
सारङगीका तार तानतुन पार्यो
रेटने तारमा मैन दल्यो
चार तारलाई रेट्दै
उनका औला
सारङ्गीमा नाच्न थाल्यो
औलासँगै प्रकृति नाँचिन्, श्रृष्टि हाँस्न थाल्यो
उसले रातैभरि
कहिले कर्खा सुनायो, कहिले झ्याउरे सुनायो
कहिले चुट्का सुनायो, कहिले डेउडा सुनायो
उसका खोक्रो सारङ्गीका पेटबाट
जतिजति भावहरु निस्कन्थे, उतिउति म पग्लन्थेँ
जति जति व्यथाहरु गुञ्जन्थे, उतिउति म द्रवित हुन्थेँ
जति जति सुरमा लालित्य छाउँथ्यो, उति उति म रङ्गिन्थेँ
अनुभूतिका लहरले
हृदय लछप्पै भिजायो
आँखाले खै ! के बगायो कुन्नि
सारङ्गीमा उसका औंला रोकिँदा
मनसरोवर शान्त थियो
यसका दर्पणमा
आफ्नो अस्तित्व उज्यालिएको देखेँ
आत्मामा त्यही झंकार भरिदिएर
बिहान
उसले मलाई बिदाइ दिँदै भन्यो
तार चुँडिएपछि
सारङ्गी बज्दैनँ
त्यसैले रेट्न नछोडे
जीवनका तारहरुलाई
मैले उसलाई पनि स्वामी मानेको छु

राम
तिमी कहिले सम्म परीक्षा लिन्छौ
आफ्नो विश्वासको, मेरो आस्थाको
तिम्रो स्वार्थको, मेरो त्यागको
तिम्रो अभिमानको, मेरो स्वाभिमानको
तिम्रो पलको, मेरो युगको
तिम्रो नामको मेरो पूर्ण अस्तित्वको
तिम्रो सीताको, मेरो मनको नारीको
भनँ राम कहिले सम्म
यो रित दोहराउँन चाहन्छौ तिम्रो रामायणमा ?
आँखा खोल राम
परिवर्तनको दर्पणमा
दृश्य फेरिइसकेको छ
अवस्था बदलिसकेको छ
पित परिभाषामा नयाँ पालुवा पलाएको छ
नारी अब भोग्या रहिनँ
नारी अब दासी रहिनँ
नारी
समानान्तर कर्म बोक्न सक्छे
नारी
समानान्तर हक खोज्न सक्छे
नारी
अब नारी भएर बाँच्न सक्छे
राम
तिमीलाई पछ्याउँदै
तिमीसम्म आई पुग्दा
मैले बिताएका यस्ता रात
अनगिन्ती छन्
तिमी धर्मले भन राम !
मेरो अग्नी परीक्षा लिन सक्छौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x