मुक्तिबन्धुरित्तो ग्यास सिलिण्डरमा मैले देखेँ
दशैंको ठीक अघिल्लो दिन छ
दिउँसो दुई बजेको छ
टण्टलापुर घाम चर्केको छ
मानिसहरू तालु सम्सुम्याउँदै घरघर फर्केका छन्
रित्तो ग्यास सिलिण्डर काँध काँधमा बोकेर ।
चार दिन चार रात बिताए सिलिण्डरले
सडकमा लाइन लागेर
सत्याग्रह निष्फल आग्रहमा अनुदित भयो ।
सिलण्डर कुरिबस्नेका पुर्पुराले प्रहरी लाठी खाए ।
चार दिनबीच चार पटक त लाठीचार्ज नै भयो यहाँ ।
तर पनि सत्याग्रह कायम थियो डिपोअगाडि सडकमा ।
एक एक सिलिण्डरले पनि प्रहरीका लात पाए
र अन्ततः
सडकमा जात्रा बन्दै गुडे रित्ता सिलिण्डर
आफूसँगै नेपाली जनताका महा दशैं गुडाएर ।
रित्तो सिलिण्डर बोकिहिँडेका एक जना युवकले
अर्का युवकसँग सोधे,
“हाम्रो सरकार यस्तो के हो साथी ?”
“सरकार ? हाम्रो सरकार कठबाँसको लाठी हो ।
अझै चिन्न बाँकी छ र ?” जवाफमा अर्का युवा बोले,
म बोल्ने मुडमा थिइनँ, बोलिनँ,
घरभित्र पसेँ, मझेरीमा बिसाएँ सिलण्डर,
मेरो अगाडि उभियो रित्तो सिलिण्डर आफ्नो हाइटमा ।
फिस्स हाँस्यो सिलण्डर, त्यस हाँसोमा–
मैले बितिसकेका प्रम सूर्यबहादुर थापा देखेँ,
भारतीय दूताबासमा पसेर सही गर्दै उभिएका
प्रम गिरिजाप्रसाद कोइराला देखेँ
मादल बजाउँदै गीत गाइरहेका बाह्र बुँदेका प्रचण्ड देखेँ
हेर्दा हेर्दै मैले झुस्स दाह्रीबीच डिच्च मुखका
बिचरा प्रम सुशील कोइराला देखेँ
दिवाभोजमा रसज्ञ मुहार मुस्कानका वर्तमान प्रम देखेँ
अथात् उखानटुक्का हाल्न उद्यत का.केपी ओली देखेँ
राजनीतिक विजय मुद्रामा जुँगा मुसारिरहेका
परराष्ट्रमन्त्री कमल थापा देखेँ
हेर्दाहेर्दै मैले गेरुवा पगरी र भूषामा ऋषिमन ऋषिमन भन्दै
औँला ठड्याइरहेका नरेन्द्र भाइ मोदी देखेँ
मैले मेरो मझेरीमा उभिएको रित्तो सिलिण्डरमा
नेपाल भारत मैत्रीको महान् गौरवमय इतिहास देखेँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































