साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुराण, दन्त्यकथा र हामी

Nepal Telecom ad

१. सत्ता महात्म्य height=
सत्तामा पुगेपछि साधारण उडुसहरू रक्तपायी हात्ती बन्छन् । लामखुट्टेहरू नरभक्षी गरुड बन्छन् । {{read_more}} उपियाँहरू रामायणका सुवाहु र मारिच बन्छन् । लङ्काबाट समुद्र फड्केर दण्डकारण्य आइपुग्छन् । यसै भएर हाम्रा पुराणहरूले मुक्तकण्ठले गाएकाछन् सत्ता महात्म्य ।

‘मद’बाट ‘मादकता’ बन्छ । यौवन पनि एउटा ‘मद’ हो । ‘धनसम्पत्ति’ अर्को ‘मद’ हो । ‘सत्ता’ त्यसभन्दा कैयौं गुना चर्को ‘मद’ हो । चारौं नम्बरको अझै ‘मोहान्धकारी मद’ हो ‘अविवेकिता’ । अर्थात् विवेकहीनता । सत्तामा छ, निर्णायक ठाउँमा छ, विवेक छैन, सल्लाह रुचाउँदैन, आलोचना सुन्दा बुरुक्क बन्छ, यो अवस्था भनेको रातो देखेर जाइलाग्ने मदोन्मत्त साँढेकोभन्दा हजाराँैं गुना खतरनाक अवस्था हो  ।

यस्तो अवस्थामा अरुलाई खाडलमा पार्छु भनेर उफ्रँदा आपैm खाडलमा जाक्किन पनि सकिन्छ । यसैले पुराणविद्हरू वेन लगायत अनेकौं राजाहरूकोे उदाहरण दिछन् र भन्छन्, ‘सत्तामा हुनु र विवेक नहुनु’ स्वयम्मा एउटा ‘विष्फोटक खतराको स्थिति’ हो । विवेकहीनताको विस्फोटमा पर्दा सत्तासीन व्यक्ति स्वयम्लाई भयङ्कर हानि हुनसक्छ । यसैले जीवनका साधनामध्ये सर्वाधिक महत्वपूर्ण साधना ‘विवेकसाधना’ हो ।

अध्ययन, मनन, चिन्तन र अभ्यासद्वारा गरिने विवेकसाधना भनेको जीवनमा ‘तेस्रो आँखा उमार्ने साधना’ हो । इमानदार एवम् विश्लेषण क्षमतायुक्त सल्लाहकारहरू र आफूमा उमारिएको विवेक नै शासकका अत्यावश्यक ‘अन्तर्नयनहरू’ हुन् ।

टल्ल हेर्ने आँखा होइन झललल्ल देख्ने आँखाहरू हुन् । तत्वदर्शी आँखाहरू हुन् । मदोन्मत्तहरूमा यस्ता आँखाहरू उम्रनै भ्याउँदैनन् । मदोन्मत्तहरू त जथाभावी भिड्ने मानसिकतामा हुन्छन् । शरीरले नसके मुखले भिड्छन् । वाचाल बोलीले भिड्छन् । घमण्डका उद्दण्ड अभिव्यक्तिले भिड्छन् । ‘ल आइज तँलाई म यहीँ ढालिदिन्छु ! । आइज म तँलाई दश वर्ष पढाइदिन्छु !’ …..आदि इत्यादि शव्दहरूले भिड्छन् । श्रोताहरू सुनेर हाँस्छन् । दर्शकहरू देखेर हाँस्छन् । हामी यस्ता पुराण र पुराकथाका धनी छौं ।
 
कुनै समय थियो हाम्रो आजको थानकोटलाई शाोणितपुर भनिन्थ्यो । शोणितपुर राजा वाणासुरको राजधानी थियो । यस राज्यको सीमा कहाँसम्म थियो स्पस्ट छैन । पुराणविद्हरू भन्छन् काठमाडौको तत्कालीन देवपत्तननजिकै वाणासुरले स्थापना गरेको शिवलिङ्ग वाणेश्वर अद्यावधि छ । त्यस भूक्षेत्रको नामै वाणेश्वर अर्थात् बानेश्वर पनि अद्यावधि चल्तीमै छ । वाणासुर वाहुवली  थियो । उसका पाखुरामा हजार हातका उर्जा थिए । ऊ आफ्नो समयको बेजोड योद्धा थियो ।

हाम्रा पुराणहरूमा वाणासुरका अनेकौं कथाहरू छन् । कथाअनुसार सीतास्वयम्वरमा वाणासुर राजा जनकको राजधानी जनकपुर पनि पुगेको थियो । उसले शिवधनुषतिर हात बढाएन । वाणासुर शिवको परिपक्व उपासक थियो । यसैले ऊ त्यहाँ संयमी देखिन्थ्यो । भागवत पुराणअनुसार बुढेसकालमा वाणासुरले कृष्णलाई पनि युद्धमैदानमै भेट्यो । वाणासुरलाई भेट्न कृष्ण द्वारकाबाट शोणितपुर आइपुगेका थिए । उमेरमा वाणासुर प्रायः लडाइँमै लागिरहन्थ्यो । योद्धाहरू उसको अगाडि पर्न हिचकिचाउँथे । एक पटक आफ्ना उपास्यदेव शिवसँग उसले भनेको थियो— 
    “साँच्चै लड्न नपाई वाहुली हजार् मेरा चिलाए यहाँ । 
    जोडी छैन मलाई लड्न गरुँ के सारा त्रिलोकीमहाँ ?”
शिवले जवाफमा मुस्कुराउँदै सोधेका थिए, “त्यसोभए तिमी मसँगै लड्छौ त ?” शिवको यस सोधाइमा वाणासुर तत्काल नतमस्तक बनेको थियो । 
 
पुराणविद्हरू भन्छन्, ‘विकट ऊर्जावान् वाणासुरमा पनि आवश्यक विनम्रता थियो । ऊ आफ्ना विधाता शक्तिका अगाडि सरलतासाथ झुक्न पनि सक्थ्यो । यसैले ऊ बुढेसकालसम्म सत्तासीन रहेरै बाँच्यो ।

अहिले हामीकहाँ प्रधानमन्त्री बडो चर्चामा हुनुहुन्छ । वहाँभन्दा बढी वहाँका बोलीवचन चर्चामा छन् । वहाँ कहिले मुलुकका जागरुक महिलाहरूलाई ट्याउँट्याउँ नबोल्न सल्लाह दिनुहुन्छ त कहिले मुलुकका विद्वान् बुद्धिजीवीहरूलाई आफूसँग आमनेसामने भएर भिड्न आह्वान गर्नुहुन्छ ।

पुराणका वाणासुरलाई वाहुली चिलाएजस्तै हाम्रा प्रधानमन्त्रीज्यूलाई बुद्धि चिलाउँछ र बुद्धिजीवीहरूसँग आमनेसामने भएर भिड्ने हौसला जाग्छ । हाम्रा बुद्धिजीवीहरू पनि बढी नै विनोदप्रिय छन् । यसैले प्रमको हौसला बढाउन मिडियामा हजारौं प्रश्न गरिबस्छन् ।

लाग्छ, हामी अझै पुराणकै युगमा छौं ।

२) होचोको मुखमा घोचो
    
प्रसङ्ग मध्ययुगीन हुनुपर्छ । एउटा राजाको प्रसङ्ग । मैले यो दन्त्यकथाका रुपमा सुनेको हूँ । एकादेशका त्यस राजाका राज्यमा पनि विभिन्न किसिमका मानिसको बसोबास थियो । राजाका भाइभारदारहरूको रमझम आफ्नै थियो । साहू सामन्त जमीनदारहरू मालिकका दर्जामा थिए । बाँकी रैती थिए । रैतीलार्ई प्रजा पनि भनिन्थ्यो । प्रजाहरू सुखी थिएनन् ।  जसोतसो बाँचेका थिए । 

यसैबीच एक पटक राज्यमा केही डाँकाहरूले भयङ्कर लुटपाट र हत्याकाण्ड मच्चाए । प्रजामा हाहाकार मच्चियो । राजाकोमा बिन्ती बिसाए । राजाले अपराधीहरू पहिल्याउन र सजाय दिन प्रहरीहरू खटायो । व्यापक खोजबीनपछि प्रहरीहरूले अपराधीहरू समाते । दस्तूरअनुसार राजाका समक्ष पेश गरे । राजाले ‘यी अपराधीहरूलाई फाँसीको सजाय दिनू’ भन्ने हुकुम सुनायो ।

हुकुमबमोजिम राजाका प्रहरीहरूले अपराधीहरूलाई फाँसीका तख्तहरूमा पु¥याए । फाँसी दिन लाग्दा थाहा भयो अपराधीहरू अग्ला थिए । तिनीहरूका लागि मौजुदा तख्ताहरू होचा भए । प्रहरीहरूले राजाकहाँ गएर व्यहोरा जाहेर गरे । राजाले तत्काल अर्को हुकुम दिँदै भन्यो, यी अपराधीहरू अग्ला छन् भने यिनीहरूलाई छोडिदिनू । ठिक्कका होचा मान्छे कता छन् तिनलाई ल्याएर फाँसी दिनू । त्यसपछि प्रहरीहरूले अग्ला अपराधीहरूलाई फुक्का छोडिदिएर होचा सर्वसाधारणको खोजीमा निस्के । निरपराध भए पनि जो होचा थिए तिनले फाँसीको सजाय पाए ।

यो कथा आजको नेपालमा पनि सान्दर्भिक लाग्न थालेको छ । वहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्याका जघन्य अपराधीहरू पहिचान गर्ने र पक्राउ गर्ने क्रममा प्रहरीबाट अहिले कुखुराचोरहरू पक्राउ पर्न थालेका सुनिन्छन् । सुनचोरहरूभन्दा कुखुराचोरहरू धेरै नै होचा हुन सक्छन् । खास अपराधीभन्दा पनि यी कुखुराचोरहरू होचा भेटिएका हुनसक्छन् । समाजमा जो सत्तामा छैन, सत्ताको वरदानप्राप्त पनि छैन त्यो स्वतः होचो मानिन सक्छ ।

सत्तासीनहरू अग्ला हुन्छन् । चोरहरूमै पनि सवैभन्दा होचा चोरहरू शायद कुखुराचोरहरू नै हुन् । अनि ती पक्राउ नपरेर अग्लाहरू कसरी पक्राउ पर्ने ? ‘जो होचो त्यसको मुखमा घोचो !’ चल्तीको उखान पनि छ । उखान तुक्काले महत्ता पाएको मौसम पनि छ ।

यो सवै देख्दा सुन्दा कहिले त लाग्छ आजको हाम्रो नेपाल पनि दन्त्यकथाको एकादेश नै हो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x