साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता नेता मिलिजुली दलदल

ख्यातिप्राप्त क्षेत्रीय डन दाह्री माहिलाको छोरो गुइँठे कान्छाले पनि पाँचौं पटकमा यस वर्ष प्रवेशिका पास गर्‍यो । उसलाई पनि पार्टीखोल्ने र चुनावको च्याँखे थाप्ने चेतना जागेको छ ।

Nepal Telecom ad

अहिले मुलुकमा नयाँ नयाँ राजनीतिक ध्रुवीकरणको लहर चलेको छ । विभिन्न दलहरूमा आवतजावतको लहर चलेको छ । नयाँ नयाँ राजनीतिक दल खोल्ने लहर पनि चलेको छ । खास गरेर जगेडा वुद्धि भएकाहरू, जगेडा शक्ति सम्पत्ति भएकाहरू, नव धनाढ्यहरू, जनजीवनलाई चौतर्फी त्रास ओढाएर पैसा कुम्ल्याउन खप्पीस डनहरू, अपराधकर्मसक्षम वाहुवलीहरू डाँका लुटेरा हत्याराहरू तँछाड् मछाड् गर्दै विभिन्न राजनीतिक दलहरूमा सङ्गठित हुन दगुरेका छन् । नेताका अबीर माला र धाप पाएर मखमेल बनेका छन् । कति त नयाँ दल खोल्न पनि दुगुरेका छन् । दगुर्नेहरू जति छन् एकाध अपवाद छाडेर सवैजसो सत्ता सम्पत्तिका भोका बाघहरू नै छन् । कतिलाई आफ्नो चलनचल्तीको पेसा चलाउन पनि सत्ता चाहिएको छ । सत्ताका लागि दल चाहिएको छ ।

जुन जुन मुलुकमा संविधान सभाको चुनाव भयो, एक पटक भयो । चुनावमैत्री मुलुक नेपाल । यहाँ दोस्रो पटक पनि संविधान सभाको चुनाव हुँदैछ । चुनाव हुने भएपछि लड्नुपर्‍यो । लड्न पार्टी चाहियो । ख्यातिप्राप्त क्षेत्रीय डन दाह्री माहिलाको छोरो गुइँठे कान्छाले पनि पाँचौं पटकमा यस वर्ष प्रवेशिका पास गर्‍यो । युगसचेत भइसकेको छ । उसलाई पनि पार्टीखोल्ने र चुनावको च्याँखे थाप्ने चेतना जागेको छ ।

कसैले भन्यो, तेरो हाइट छैन कसरी दल खोल्छस् ? गुइँठेले हाजिरजवाफी शैलीमा जवाफ दिँदै भन्यो, ढिस्कामाथि उक्लेर पनि खोल्छु । संविधान सभाको पुनर्जन्म हुनलाग्दा पनि दल नखोले कहिले खोल्ने ?

दलको नेताहुँदा ठूला ठूला महलमा विराजमान हुन पाइने, चिल्ला चिल्ला गाडीमा सयर गर्न पाइने, मिठो मिठो खान पाइने, जताततै सम्मान पाइने, राज्यकोषको उपयोग गरेर देशविदेश घुम्न पाइने, सक्दो मोजमज्जा गर्न पाइने, अलिकति घाँटी दुख्यो, पेट दुख्यो, अथवा खाना अपच भएर गोटा पर्‍यो मात्र भने पनि जापान, अमेरिकाजस्ता अति विकसित मुलुकमा गएर उपचार गराउन राज्यकोषबाट लाखौं लाख रुपयाँ खर्च गर्न पाइने ! आफूलाई मात्र हो र ? स्वास्नी छोराछोरीलाई पनि उपचार खर्च पाइने, घुमफिर मोजमज्जा गर्ने खर्च पाइने, जनसाधारण हुँदा राज्यबाट सामान्य सुरक्षासम्म पनि नपाइने । यस्तो मुलुकमा दल नखोले के खोल्ने ? यथार्थ अवस्था छर्लङ्ग बुझेपछि र दोहोर्‍याइ दोहोर्‍याइकन संविधान सभाको चुनाव आउन थालेको थाहा पाएपछि पनि दल नखोल्नु त मूर्खता हो । चुनाव लड्ने र सिट हात पार्ने सुन्दर सपना हामीसित चाहिँ हुनु हुँदैन र ? यस्तै यस्तै तर्कका साथ जुर्मुराएको सिट्ठन गाउँको गुइँठे कान्छो साथी सँगाती जुटाएर अहिले नयाँ दल खोल्ने तैयारीमा जुटिसकेकोे छ ।

दल खोल्न पहिले त भरोस लाग्दो नाम चाहियो । नाम के राख्ने ? उद्देश्य के बनाउने ? अहिले सवै राज्यसंरचना भन्छन् । साज्यसंसचना कस्तो बनाउने ? सवैलाई उछिन्ने खालको त हुनुपर्‍यो नि ! अहिले गुइँठे गम्भीर छलफलमा पनि जुटेको छ ।

फोरम् पनि नाम त राम्रो हो । “नेपाल फोरम् राजनीतिक दल” बडो सुन्दर सटीक नाम बन्थ्यो । तर के गर्ने ? फोरम् अरुले राखिसकेको नाम पर्‍यो ! जनता दल अर्को राम्रो नाम हुन्थ्यो । काङ्ग्रेस कम्निष्ट सवै जनता जनता भन्छन् । राजा पनि बेला बेला जनता भन्थे । जनता नाम राख्दा सबैका जनता चोर्न सकिंदो हो । तर के गर्ने ? छिमेकी मुलुकमा त्यसै नामको दल छ । अर्काले राखिसकेको नाम राख्ने कुरै आएन । नेपालमै पनि अनगिन्ती दल खुलिसके । शब्दकोषमा भेटिने जति नाम त तिनैले राखिसके । अव नयाँ नाम के राख्ने ? तीन दिनसम्म चलेको गम्भीर छलफलमा चतुरे नामका एक नवजात राजनेताले भने हामी हाम्रो दलको नाम “जनता नेता मिलिजुली दलदल” राखौं । यो नाम कसैले राखेको छैन । अरुले दल मात्र भन्ने गरेका छन् । हामी दलदल नै भनिदिऊँ । एउटै शब्द दोहोर्‍याएर भनिदिंदा जोड पुग्छ । हैन र ? तर्क बेजोडको थियो । सवैको चित्त बुझ्यो । प्रस्ताव पारित भयो ।

अब उद्देश्य के राख्ने ? छलफल कार्यक्रममा गुइँठेले भन्यो, “हामी अरुले जस्तो ढाकछोपे उद्देश्य नराख्ने । हामी हाम्रो उद्देश्य जे हो त्यही स्पष्ट खुलाएर राख्ने । सत्तामा जाने, सम्पत्ति कमाउने । अलि अलि अरुलाई पनि दिने । अरुले फिट्टी दिएका छैनन्, हामी एक दुई प्रतिशत फाइदा जनतालाई पनि दिने । राज्यसंरचनामा पनि जसले जहाँ जस्तो जत्रो राज्य बनाउन चाहन्छन्, बनाउन दिने । जे नाम राख्न चाहन्छन् राख्न दिने । विभिन्न जात जातिको नाममा मात्र होइन, विभिन्न थर उपथरका नाममा पनि राज्य बनाउन मिल्ने संविधान बनाइदिने । एउटा गाविसमा दश दशवटा राज्य बन्छ भने पनि हामीलाई के फरक पर्छ ? बनुन् राज्य । राज्य बन्नु रमाइलो क्mुरा हो । एउटै घरमा बत्तीसवटा चुल्हो बल्यो भने पनि के फरक पर्छ ? जाडोमा पनि घर न्यानो हुन्छ । गुइँठेले गम्भीर बन्दै भन्यो, अरु कुरा जेसुकै होस्, हाम्रो दल सत्तामा पुग्नु पर्‍यो । हामीले पनि सम्मानका साथ कुस्त सम्पत्ति कमाउन र मोज गर्न पाउनु पर्‍यो । हाम्रो लागि यही हो अग्रगमन । यही हो गणतन्त्र । कसो साथी हो ? हामीसित अरु केही नभए पनि दह्रा पाखुरा छन्, जमाएर मुड्की हान्न जानेका छौं !”

“हो, हो, त्यसै हो” सहभागी राजनीतिज्ञ सवैले तररर ताली ठोके । यसरी मुलुकमा थप एउटा नयाँ राजनीतिक दल जन्मने निश्चित भयो— “जनता नेता मिलिजुली दलदल ।”

बालाजु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x