सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुम्भकर्णको भुँडी 

आज हामीकहाँ रामायणको त्यही कुम्भकर्ण त छैन तर कुम्भकर्ण राजनीति छ । नेपाली जनता आज यहाँका सत्तासीनहरूले गरेका वाइड बडी लगायतका भ्रष्टाचारका रावणायन बखान सुनिरहेका छौं ।

Nepal Telecom ad

 height=पुराना रामायणहरूमा कुम्भकर्णका भुँडीको विस्तृत चर्चा गरिएको पढ्न पाइन्छ । वेला वेला लङ्काको राजकीय सभामा रावण पनि भन्थ्यो, भुँडी हुनु त हाम्रो भाइ कुम्भकर्णको जस्तो हुनु । उसको भुँडीमा के छैन ? स्वर्गको नन्दन बन, ऐरावत हात्ती, उच्चैःश्रवा घोडा, पहेँला, हरिया, राता, सेता र छिरबिरे रङ्गका विविध खाले खाद्यपेय पदार्थ, पृथ्वीका तमाम सुनचाँदी सवै सवै उसका भुँडीमा खातका खात  भित्रिएका छन् । विश्वव्रह्माण्डका तमाम सुखसमृद्धि उसका भुँडीमा खात लागेका छन् । अटेस्मटेस् छन् । उ तृप्त छ । यसैभएर उ वर्षको ६ महिना त खोपीमा  मस्तसँग सुत्छ र सपना मात्रै देख्छ ।

रावणका ठट्यौला कुरा सुनेर सभामा बसेका सवै राक्षसहरू मुक्तकण्ठले हाँस्थे ।

एक दिन लङ्काकै राजकीय सभामा लामो निःश्वास छोड्दै रावणले भन्यो, यत्रो समुद्र पार गरेर वानरसेनाका साथ धनुर्धारी राम लक्ष्मण चढाइका लागि हाम्रो राजधानी लंङ्का पस्दासम्म पनि भाइ कुम्भकर्ण निद्रामै छ । सपनामै छ । गएर हेर, गजधम्म पल्टिएको भयङ्कर पहाडजत्रो छ उसको भुँडी । उसको भुँडी श्वासप्रश्वासमा तलमाथि गर्दाको दृश्य हेर, पहाडमा भयङ्ंकर भूकम्प जाँदाको कम्पन दृश्यसँग मिल्छ । उसका कानहरू घैंटाजस्ता छन् । कानेगुजी भरिएका छन् । केही सुन्दैनन् । पीडितका आवाज त सुन्दैसुन्दैनन् । उ आफैं कति भीषण आवाज निकालेर घुर्छ । घुर्दाका श्वासप्रश्वासमा कति गज्जव देखिन्छ उसको नाकका पोहरा । सपनामा यदाकदा हाइ गर्दा उसको मुख ओडारले आँ गरेजस्तो देखिन्छ । यो सवै भीषणता आजको हाम्रो लङ्काको लागि के काम ? के प्रयोजन ? उ ६ महिनामा एक पटक उठ्छ त भोकको भकारी बोकेर उठ्छ । आफ्नै भुँडी भर्नका लागि उठ्छ । भुँडी भछर्, फेरी सुत्छ । उसका सपना जतिसुकै सुन्दर अथवा जतिसुकै विद्रूप किन नहुन् ती हाम्रा लागि कामका छैनन् । हामी हाम्रै विपनामा छौ । विपनाको सामना गर्दैछौं । उ सपनाको रासलीलामा छ । ठीक छ । सुतोस् ! अभैm देखोस् सपना ! युद्ध घनीभूत हुँदै गएपछि उठ्न त एक दिन त्यसले पनि पर्छ ! अवश्य पर्छ !!

नभन्दै युद्ध घनीभूत हुँदै गएपछि राक्षस सेनाको र बानर सेनाको सम्युक्त कोलाहल आवाज सुनेर कुम्भकर्ण एक दिन उठ्यो । उसले उठ्ने रुटिनका दिनभन्दा अगाडि नै उ उठ्यो । “अव मैदानमा निस्की । भोक लागेको छ भने यिनै बाँदर खाएर पेट भर !” आक्रोषित  रावणको आदेश वातावरणभरि गुन्जित भयो ।

कुम्भकर्णले वरिपरि आँखा घुमाएर र्हेयो । उसलाई युद्धको वानरमय वातावरण रमाइलै लाग्यो । उसले पहिले पहिले पनि खाएको थियो बाँदर । उसले एक एक वाँदर टिपेर मुखमा फाँको मार्न थाल्यो । युद्धका कारण उसलाई अहिले चपाइरहने फुर्सत भएन । सिंङ्गै निल्दै गयो । पहिले पहिले त सिङ्ंगासिङ्ंगै निल्दा पनि पचाउँथ्यो । यस पटकका वाँदर त्यस्ता सुपाच्य परेनन् । पेृटमा पुगेका वाँदरले चिथोरेर कोपरेर कुम्भकर्णका आन्द्रा चुँडाले । एक जना बाँदरले त उसको मुटूमै लात हान्यो । बाँदरहरू भकाभक उसका भुँडी फोरेर फटाफट बाहिर निस्के । छताछुल्ल भुँडीको कुम्भकर्ण अनायास ढल्यो । ढलेपछि कहिल्यै उठेन ।

यति हुँदा पनि कुम्भकर्णका भुँडीको महिमागायन भने रोकिएन । सित्तैमा अरुको पाए, भ्याएम्म जथाभावी खाने, हसुर्ने र उकुस्मुकुस् अघाएपछि पचाउनका लागि कुम्भकर्णलाई सम्झेर भुँडी सुमसुम्याउने चलन विशेषतः पुरेत पण्डित समाजमा अद्यावधि कायमै छ

आज हामीकहाँ रामायणको त्यही कुम्भकर्ण त छैन तर कुम्भकर्ण राजनीति छ । यसका विशिष्ट कथा व्यथाहरू आफ्नै छन् । नेपाली जनता आज यहाँका सत्तासीनहरूले गरेका वाइड बडी लगायतका भ्रष्टाचारका रावणायन बखान सुनिरहेका छौं । रामायणका कुम्भकर्णको भुँडी र त्यसको मार्मिक अवसान पनि सम्झिरहेका छौं ।

यसैबीच राजनीतिक मन्चमा भ्रष्टाचारका कथालाई घामबाट तानेर छायामा आराम गराउने प्रयत्नको प्रहसन मन्चन पनि  कम उत्सुकताजनक देखिएको छैन  ।

वर्तमानका सत्तासीनहरूका तीव्र गतिमा सन्चालित  राजनीतिक विकास कार्यक्रमहरू देख्दा र भाषणहरू सुन्दा अव हामी नेपाली जनताका दुवै हातमा सुखसमृद्धि नामका भकारीहरू आइपुग्ने पक्का भइसकेको आभास पाइन्छ । बरु हामी गरीव निर्दा दुब्ला नेपाली जनताका साना साना हातले सुखसमृद्धि नामका अपरिचित सामग्रीका त्यति ठुला ठुला भकारी कसरी थाप्ने ? कसरी थाम्ने ? समस्या गम्भीर छ ।

सारसङक्षेपमा भन्नु पर्दा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तुत सुखसमृद्धिको नयाँ व्याकरण पढ्न, बुझ्न हामी सर्वसाधारण जनतालाई फलामको च्यूरा चपाउनुजत्तिकै कठिन भएको छ । किन भने यस व्याकरणमा हामीले बोलिरहेको भाषा र बाँचिरहेको जीवन छैन ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad