बद्रीप्रसाद दाहाल ‘भस्मासुर’दादावाद उर्फ डनवाद !
जूडो– लाठी, झलल खुकुरी, चुप्पी–तर्बार– भाला
नाङ्गै नाच्ने, मुसल–डनकै, बन्दछन् भव्य–शाला ।
धक्का–मुक्का, विजय पथको, गर्विलो शान मान
बाहूभित्रै, नियम–विधि ली, गर्दछन् रे कमान ।।१।।
ट्यापे–मुन्द्रे, खल–बल नयाँ, कुण्डले शुण्ड–मुण्ड
चुल्ठे–साँढे, सडक सदनै, बन्दछन् वक्रतुण्ड ।
मन्त्री–नेता, दलपति सबै, गर्दछन् जी–हजूरी
चुल्ठे बोल्दा, खरबपतिका, सुक्दछन् रुद्रघण्टी ।।२।।
हार्दै छन् रे, मुलुकभर नै, वाद–सिद्धान्त–नीति
चर्का–झर्का, डन–मन बढी, देशमा चल्छ भीति ।
लाठी गोली, बम गनसँगै, चल्छ विस्फोट ऊग्र
चुल्ठे–साँढे, सडक डन नै, बन्दछन् वक्रतुण्ड ।।३।।
विद्यावादी, धनपति कयौं, राष्ट–लुट्ने जमात
लुत्रुक्कै छन्, डन नजिकमा, आज हाम्रो समाज ।
भन्छन् बाहू–बल जफतमा, राज्य चल्छन् र ढल्छन्
आऊ हाम्रा, पछि–पछि सबै, तालुमा आलु फल्छन् ।।४।।
गर्छन् बाहू–बल शठ–गणै, राज्यको राजकाज
पाइन्नन् है, विधि–नियमले, देशको दिव्य–ताज ।
आऊ हाम्रै, डनपथ सबै, जी–हजूरी बजार
सत्ता भोग्ने, रहर छ भने, नीति–आस्था पछार ।।५।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































