साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुपिञाँ पनि उपियाँ भएछ !

Nepal Telecom ad

अन्ततिर के–कस्तो अवस्था छ, मलाई थाहा छैन । नेपालको उपियाँ चाहिँ बहु–प्रतिष्ठित प्राणी हो । उडुस भए ठुस्स गन्हाउँथ्यो । बाहिरबाट हेर्दा निकै भद्र–भलाद्मीजस्तो देखन्छ, चरित्र चाहिँ ज्यानमारा बाघको जस्तो । घुसघुसे हुन्छ उडुस । नक्कली भद्र–पुरुष र उडुसको चरित्रमा समानता पाइन्छ । आधुनिक भ्रष्टहरू भद्रताको अभिनय गर्न निकै चतुर हुन्छन् । उडुस पनि त्यसरी नै ठ्वास्स गन्हाएको हुन्छ, जसरी ती गन्हाउँछन् । भोको हुँदा हाड र छाला मात्रै बाँकी देखिने उडुस अघाएपछि काठमाडौँ मालपोत हाकिमजस्तो चिल्लो न चिल्लो देखिन्छ, भन्सारको हाकिमजत्तिकै भुँडीवाले हुन्छ । मन्त्री, प्रधानमन्त्री जस्तै हुन्छ पनि भन्थेँ होला । गन्हाउन चाहिँ उडुस नेपालका नेतालाई जितुँला झैँ गरी गन्हाउँछ, डुङडुङती । काखी चाहिँ ह्वास्स गन्हाउँछ भने उडुस ठ्वास्स गन्हाउँछ । गन्हाउनेको पनि तह हुन्छ । उपियाँ गन्हाउँदैन ।

मलाई त उपिञा कुनै टापटिपे पार्टीको सक्रिय विद्यार्थी नेता जस्तो लाग्छ । मीत लाइदिन पाए पनि हुन्थ्यो । विद्यार्थीका पनि भ्रष्ट नेता कति छन्, कति । भ्रष्टाचारमा टाउके नेताभन्दा पैतले नेता चम्मु हुन्छन् । आफ्नै घरमा जन्मिएको, आफ्नै काख–पोल्टामा हुर्किएको, आफैँले स्याहारेर उड्न र उफ्रिन सक्ने बनाएको । यसै भएर हो कि अर्काले यसलाई गाली गरेको सुन्दा पनि मुटु नै चरचरी चिरिन्छ । आफैँले पालेको पो हो त ! मलाई उडुस र उपियाँलाई समकक्षमा राखेको पटक्कै मन परेको छैन । प्रतिपक्षी र सत्तापक्षी नेता छुट्टिए झैँ, हेर्दैमा एउटा मरन्च्याँसे र अर्को थसुल्लो मोटो ! भानुभक्त बाजेले त झन् आपत्ति–जनक काम गरे । भाइरलदेखि डेङ्गोसम्म सार्दै हिँड्ने लाम्खुट्टेसँग मेरो उपियाँलाई कसरी तुलना गरियो ! औलो सार्ने लाम्खुट्टे, कालाज्वर सार्ने पनि लाम्खुट्टे । रोग सार्ने र मार्नेभन्दा बढी यसले जानेकै छैन । हेर्दा चाहिँ अमेरिकी राष्ट्रपतिजत्तिकै अग्लो देखिन्छ । तैपनि म त्यस ज्यान–मारासँग मेरो प्रिय उपिञाको नाउँ जोडिएकोमा खुसी छैनँ ।

टोक्न त टोक्ने, अघाएपछि चुप लाग्ने । उपियाँको विशेषता नै हो । लाम्खुट्टे चाहिँ टोक्ने, दार्ने र मार्ने खालको मात्रै होइन । चर्का–चर्का नारा लाएर कुनै उग्रवादी पार्टीका कार्यकर्ताले भन्दा पनि दुःख दिँदै हिँड्छ । चन्दा लिइसकेको भोलिपल्ट फेरि तथानाम गाली गर्ने, भूमिगत दलको छट्टु कार्यकर्ताजस्तो । ‘जसको जौ खायो, उसैको जुँगा मुड्ने’ भने जस्तो । रक्तदातालाई माया गरेर फर्किनुको साटो रोग सारेर हिँड्न हुन्छ त ? लाम्खुट्टे घनघोरको कृतघ्न प्राणी हो ।

बरु भूपी शेरचनले उपियाँलाई त्यति धेरै खसालेर बोलेनन् । तिनी पनि अचेल नेपाली वर्ण–विन्यासको पिरले होला दुब्लाएर हेर्नै नहुने भइसकेका रहेछन् । पहिलेका शेरचन र अहिलेका सेरचनमा आकाश पातालकै भिन्नता छ । मरेका शहीद पनि दुब्लाइसकेछन् । त्यसपछि सेरचनको पालो आएको होला । पहिलेका शहीद र अहिलेका सहिदलाई देखाएर मेरो प्रत्याशी सांसद भाइ तिलक रुवालीले शोक मनाएका थिए । अक्क न बक्क परे त के भनूँ, उनको नजिकै बसेका उनका मतियारहरूले चुनावी कोणसभामा मौन–धारण गरेका थिए । अपरिचित सहिदलाई तिनले सम्मान गर्न चाहेनन् ।

तीमध्येका एक जना भाइ सेते तामाङलाई खसखस लागेछ । मितभाषी तिनलाई समेत असह्य भएछ । भनिहाले–गाउँले दाइ, भूपी शेरचनलाई होच्याएछन् नि ! हामी जनजातिका प्रतिनिधि–कविलाई पनि बाँकी राखेनन्, विश्व–विद्यालयका बाहुन–बाजेहरूले । भुपि सेरचन बनाइदिएछन् । कठै ! यही विरोधमा भूपीको रुपिञा पनि उपियाँ उफ्रिए झैँ उफ्रिएर एकताक राष्ट्र–बैँकको रूपैयाँ भएको थियो । यिः हेर्नोस् त ! पहिलेको रूपैयाँ अहिले रुपियाँ भइसकेछ । रुपिञा, रूपैयाँ हुँदै उडेर रुपियाँको ठाउँमा पुग्यो ! सबै श्रोताहरू रुन्चे हाँसो हाँसे । म चाहिँ शहीदको सम्झनामा रुँदै बिदा भएँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x