साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउरा र आत्मनिर्भरता

Nepal Telecom ad

नेपाल सरकारले यसपालि ठूलो दया गर्यो । भात पकाई खान दाउरा दिन्छु भनेर बोलाएर सिङ्गै मूढो लडाइदियो । मूढाको दामभन्दा चार गुना बढी त्यसलाई घरसम्म ल्याउने ज्याला लाग्ने भएपछि कतै गुडाउँदै, कतै पल्टाउँदै, कतै उचाल्दै मरीतरी हामी बूढाबूढी मिलेर त्यसलाई ल्याएर घरमा हुल्यौँ र लामो सास र्फेयौँ । लामो सास फेर्न खोज्दा बूढीको प्रेसर बढेर झन्डै भित्रै सास अड्क्यो । छरछिमेकी गुहारेर बूढीलाई तन्नामा पोको पारेर अस्पताल पुर्याएको कुरा के सुनाइराखूँ ! छिमेकीहरू त अझै आत्मनिर्भरता प्रदर्शन गरौँ, झाँक्रीकोमा लैजाऊँ भन्दै थिए । धेर आत्मनिर्भर हुन खोज्दा भुतुक्कै होइएला भनेर मैले मानिनँ ।

म ढाडको हाड खिइएको मान्छेले दाउरा चिरेर खाउँला भन्ने त छैन तर पनि आत्मनिर्भरताको राष्ट्रिय अभियानमा सघाउनैपर्छ भनेर हर्क भाइको आरनमा बन्चरो बनाउन दिएँ । बन्चरो बनाउनेहरूको ताँती रहेछ, एक सातापछि प्राप्त हुने भयो । त्यतिन्जेल बूढीलाई अस्पतालले डिस्चार्ज नगरेदेखि त्यतैको क्यान्टिनमा जसोतसो चलाउने थिएँ भन्ठान्दैछु ।

उसो त हामी धेरै अगाडिदेखि नै आत्मनिर्भरताका लागि प्रयत्नरत थियौँ । नाकाबन्दी मात्र होइन, विभिन्न धक्काबन्दीहरूले हामीलाई बेलाबेलै घरबाट धक्का मारेर सडकमा पुर्याएकै हो । द्वन्द्वकालकै कुरा गरौँ । जनयुद्धका नाममा भएको हिंसात्मक द्वन्द्वले लाखौँ युवालाई खाडीका मरुभूमिमा पुर्याएर पछारेकै हो । कसैलाई उँटको गोठालो त कसैलाई बूढाबूढीको गोठालो बनाएकै हो । हामीलाई कहिले बाढीले कहिले पहिरोले घरबाट निकालेर खुला आकासमुनि पुर्याउँदा पनि हाम्रो निन्द्रा नपुगेकै हो । गत वैशाखको भूकम्पले लाखौँ नेपालीलाई घरबाट निकालेर पालमा, ओडारमा वा जंगलमा पुर्याउँदा हामी झसङ्ग भएका हौँ । त्यो झस्काबाट होसमा नआउँदै छिमेकी भारतले हाम्रो चुल्होमा चिसो पानी खन्याएपछि बल्ल हाम्रो सरकार अलिअलि ब्यूँँझिएको जस्तो देखिएको छ ।

जनतालाई आत्मनिर्भर बनाउनुपर्ने पो रहेछ भन्ने थाहा पाएर दाउरा वितरण गर्न थालेको छ । जनताले दाउरा पनि सोझै घर लगेर नबालून्, बन्चरो चलाउने सीप पनि हासिल गरून् भन्ने सरकारको इच्छा भएकाले मूढा नै उपलब्ध गराएको रे ! कत्रो दूरदर्शिता !

आत्मनिर्भरता तर्फको यो अभियानलाई अझै सशक्त बनाउनुपर्छ । सरकारले अब एउटा ‘नेपाल वायुपंखी चुल्हो एवं दाउरा मन्त्रालय’ स्थापना गरी उपप्रधान एवं दाउरामन्त्री नियुक्त गरेर नवगठित सरकारलाई बलियो बनाउनुपर्छ ।

यातायात मन्त्रालयको सट्टा ‘गोरु गाडा मन्त्रालय’ स्थापना गरी त्यतै पनि उपप्रधानमन्त्री थपेर उपप्रधानमन्त्री र इन्धन दुवैमा आत्मनिर्भर हुन सकिन्छ । जसरी पनि सरकार बलियो हुनुपर्यो र जनता आत्मनिर्भर । आत्मनिर्भरताका लागि मोटर गाडीको सट्टा गोरु गाडा, ठेला वा टाँगाको प्रयोग गर्ने अथवा पैदलै हिँडेर स्वास्थ्य सुधार गरी औषधी आयातमा हुने खर्च घटाउने, गिठ्ठा, भ्याकुर, वनतरुलहरू संकलन गरी बिक्री गर्ने, साबुनको सट्टा खरानी, माटो वा रिठ्ठाको प्रयोग गर्ने आदि अनेक उपायका बारेमा बहस चलाउनुपर्छ ।

सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्रीज्यूले आह्वान गर्नुभएको छ । नाकाबन्दी र बन्द हड्तालले स्वदेशी कपडाका कारखानाहरू बन्द भइगए । अब शरीर केले ढाक्ने ? रूखका बोक्रासम्म त के झर्नु ! बरू भारतले अति नै गर्यो भने चीन, बंगलादेश, सिंगापुर वा अरू राष्ट्रसँग हारगुहार मागेर भए पनि स्वावलम्बी र आत्मनिर्भर त हुनैपयोै । मागेरै आत्मनिर्भर हुनु सानो कुरा हो र !

‘नेपाल’ मङ्सिर ९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x