साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीलाई चार दनक

Nepal Telecom ad

१. समावेशी लाइन
नाकाबन्दी खोल्ने अनेक उपाय होलान् तर सबै गोप्य छन् । एउटा उपाय भने खुला छ, समावेशी वितरण प्रणाली । अब सरकारले नागरिकता होइन, नाक हेर्नुपर्छ । सरकारले नागरिकता हेरेर दाउरा बाँड्यो, अब ग्यास, पेट्रोल, डिजेल सबैका लागि नाकका आधारमा लाइन राख्नुपर्छ । जनजाति, मधेसी, दलितलाई लाइनमा अगाडि राख्ने । पहिले उनीहरूलाई दिने । बाँड्दा बाँड्दै सकियो भने के नै गर्न सकिन्छ र !

उब्रियो भने ती बाहेकका नाक र जातलाई पनि दिने । नाक हेरेर यो जात भनेर लगभग चिनिन्छ, अनि इन्धन दियो । अस्पतालमा उपचार गर्दा पनि समावेशी प्रणाली लगाए भारत खुसी हुन्छ र औषधी बोकेका ट्रक छाड्न सक्छ । किनभने, भारत समावेशी पक्षधर देश हो । उसले नेपालमा इन्धन निर्यात हुन रोके पनि दिल खोलेर समावेशीकरण निर्यात गरिरहेछ ।

अचेल नेपालीको मुख्य काम लाइन बस्ने हो, लाइन पनि समावेशी गरेर देखाउन सक्यौँ भने ‘ए, समावेशी आधारमा वितरण गरेछन्’ भनेर भारत खुसी हुन्छ अनि नाकाबाट इन्धनको ट्यांकर छाड्छ ।
लागू गर्ने होइन त यस्तो समावेशीकरण ?

२. नाकाबन्दी र नाक
एक जना विदेशीले ‘शौचालय कता छ’ भनेर सोधेछ । नेपालीले जवाफ दिएछ, ‘तिम्रो नाक छैन ?’ विदेशीले अर्काेलाई सोधेछ । उसले परतिर देखाउँदै भनेछ, ‘उतातिर सुँघ्दै जानूस्, भेटिन्छ ।’ शौचालय पुगेपछि त्यो विदेशीले नाक र शौचालयको सम्बन्ध छर्लंग बुझेछ । नेपालमा सार्वजनिक शौचालय सोधखोज गर्न पर्दैन, नाकले पत्ता लगाउँछ । तर, अब नाकको काम बढ्न थाल्यो । किनभने, पेट्रोलपम्प पनि नाकले पत्ता लगाउनुपर्ने भयो । नाकाबन्दीले पेट्रोलपम्प खुम्चिएर बोतल र ग्यालेन आकारको भएको छ । गल्ली गल्छेडामा पस्ने, राजमार्गको पसल छेउछाउ घुम्ने, पेट्रोलको गन्ध पहिल्याउँदै जाने अनि पेट्रोल किन्ने । अचेल यसै गर्छन् नेपाली ।

यतिमा सीमित छैन नाकको थपिएको काम । चिन्धन कि इन्धन पनि नाकले नै पत्ता लगाउनुपर्ने हुन्छ । चीनबाट आउनेलाई चिन्धन रे, शब्दकोशमै ठाउँ पाउलाजस्तो भइसकेको चिन्धनलाई नाकले चिन्न परेन त ? चिन्धन अलि गुणस्तरीय हुन्छ रे ! चिन्धन भन्दै इन्धन दिन के बेर ? अचेल सहरका मानिसले आयल निगमभित्रबाट चोरी भएर बजारमा पुगेको र सीमापारिबाट तस्करी भएर आएको इन्धन पनि नाकले नै छुट्याउन थालिसके । तस्करीमा धेरै र सरकारीमा थोरै मिसावट हुन्छ अरे ! नाकको क्षमताले मिसावट चिन्यो भने चिन्यो, नत्र सवारीको इन्जिन मर्मत ग्यारेजतिर हिँड्यो !

भारतीय नाकाबन्दीको सम्बन्ध मुखसँग मात्र नभएर नाकसँग पनि भएको तथ्य प्रकाशमा आउँदैछ ।

३. नयाँको पुरानै पारा
पुरानो अब केही छैन नेपालमा, पुरानोको जगमा सबै चीज नयाँ बन्दैछ । त्यसैले भाका पुरानै, खाका नयाँ । पुरानो आपतमाथि आयो विपत् नयाँ । नाका पुरानै, नाकाबन्दी नयाँ । माग पुरानै, आन्दोलन नयाँ । दृष्टि पुरानै, कोण नयाँ । बन्धन पुरानै, गठबन्धन नयाँ । मोटर पुरानै, चिन्धन नयाँ । चिन्ता नगरौँ, बन्दैछ नेपाल नयाँ ।

नयाँ संविधान, नयाँ सरकार, नयाँ प्रधानमन्त्री, नयाँ राष्ट्रपति, नयाँ उपप्रधानमन्त्री मण्डल । जता हेर्यो, त्यतै नयाँको बन्डल । पल्लो घरमा नयाँ दाउरे चुल्हो, वल्लो घरमा नयाँ विद्युतीय चुल्हो । नयाँ भाँडा, नयाँ वर्तन । मङ्सिरको नयाँ चामल, नयाँ मूल्य, नयाँ खाना– पहिले एक माना अहिले आधा माना । दसैँदेखि छठसम्मका नयाँ नाना, भूकम्पपछि बनाएको नयाँ छाना । निकै लामो छ है नयाँको सूची ।

पुरानै भक्ति, उही व्यक्ति । तैपनि, नयाँ शक्ति । वार्ता नयाँ, खोजेको सहमति नयाँ । नेता उही, नारा नयाँ । पारा उही, कुरा नयाँ । दाउ उही, दाउपेच नयाँ । पाउ उही, खुट्टा नयाँ । नेपालमा क्या आयो जमाना, हामीले यस्तै नयाँको गरेको हो त चाहना ?

४. सोह्र दुना आठ शिक्षा
विश्वमा सबैभन्दा धेरै विद्यार्थी भएको विश्वविद्यालय सायद ‘नेपाल विश्वविद्यालय’ हो । सारा नेपाली जहिलेतहिले पढिरहन्छन्, त्यसैले नेपाल आफैँमा एउटा विश्वविद्यालय हो । ठूलासाना घटना हुनासाथ पाठ पढिहाल्छन् । बाढीपहिरो आए पनि, खडेरी लागे पनि पाठ पढ्छन् । आपत् आए पनि पढ्छन्, विपत् आए पनि पढ्छन् । जे आउँछ पाठ पढिहाल्छन् । नेपाली जति पढन्ते अरू कोही होला त ?

भूकम्प गयो, पाठ पढिहाले । भूकम्पले सिकाएको पाठ बडे विद्वान् देखि सर्वसाधार णसम्मले कण्ठ पारेका छन् । नेताहरूले त झन् मुखाग्र नै पारेका छन् । अहिले नेपाली जनता नाकाबन्दीको पाठ पढिरहेछन् । नाकाबन्दीले ठूलो शिक्षा दियो भन्दै छन् । कति शिक्षाप्रेमी भने लाइन बस्दा पनि शिक्षा लिन्छन् ।

आज्ञाकारी विद्यार्थी हुन् क्या नेपाली जनता ! दाउरा, ग्यास, पेट्रोल थाप्न लाइन लाग्छन् अनि त्यहाँ पनि भन्छन्, पाठ सिकियो । नाकाबन्दीले जति लाइन बढाउँछ, त्यति भन्छन् पाठ पढ्दैछौँ । विचित्र छ पढाइ । होला त यस्तो पढाइ अन्त ? असाध्यै ठूलो विश्वविद्यालय भएकाले होला निश्चित कक्षा भने खासै छैन । वर्षायाममा बाढीपहिरो आएपछि पाठ पढ्छन् । हिउँदमा चर्काे लोडसेडिङ भएपछि अर्काे पाठ पढ्छन् । यी दुई विषयको पाठ निश्चित छ, अरूचाहिँ आइपरेपछि पढ्छन् ।

यति धेरै पढ्ने नेपालीले पाठलाई व्यवहारमा कसरी उतार्छन् ? ‘पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ’ शैलीमा उतार्छन् ।

‘नेपाल’ कार्तिक १०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x