सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाल लभनिष्ट पार्टी (मैयावादी)को फरेस विज्ञप्ति

Nepal Telecom ad

नेपाल लभनिष्ट पार्टी (मैयावादी)
केन्द्रीय समिति
प्रेमनगर, काठमाण्डौं ।

आदरणिय मुत्तिकामी प्रेमीप्रेमीकाहरू,
हाम्रो महान् तथा गौरवशाली पाटी नेपाल लभनिष्ट पाटी (मैयाबादी) ले सम्पूर्ण शोषित पीडित प्रेमजोडीहरूको हक र अधिकारको आवाज सयौं दिनदेखि उठाउँदै आइरहेको कुरा यहाँहरू सबैलाई बिदितै छ । संसारमा रहेका के ढुकुर के कुकुर, के मान्छे सम्पूर्ण प्राणिहरू प्रेमबिना एक सेकेन्ड पनि बाँच्न सक्दैनन् । अझ त्यसमा पनि कुखुरे बैंसमा केटाको दिलको धड्कन र कोमलाङ्गी मैयाको दिलको धड्कन एक आपसमा मिल्न पाएन भने त संसारनै बिस्फोट हुन्छ ।
जब संसारमा लभको विकास भयो तब त्यहाँ अबरोधको पनि झन विकास भयो । लभ र अवरोधको जब द्वन्द्व हुन्छ तब त्यहाँ लभको नै जित हुन्छ । यो हाम्रो पाटीको दर्शन हो । हाम्रो सिदान्त– संसारमा लभमा हुने सबैखाले अवरोधहरूको बिनास हुनुपर्छ र लभको बिकास हुनुपर्छ भन्ने रहेको छ । लभमा उत्पन्न हुने प्रतिगामी अवरोध चिर्न अब नेपालबाट एउटा लभ आन्दोलन जरुरी छ जुन आन्दोलनले प्रेम गर्दा गर्दै धोका दिने, वा बिवाह गर्न अवरोध सिर्जना गर्ने, सार्वजनिक ठाँउमा अँगालो हालेर टङ किस गर्न नदिने जस्ता तत्वहरूलाई ठूलो धक्का दिएर छक्का बनाइदिने पक्का छ ।
मुक्तिकामी प्रेमजोडीहरू,
साँच्चै लभको आँखा अन्धो हुन्छ तर लभमा अवरोध सिर्जना गर्न बाउआमाहरूका आँखा भने एकदमै तेज हुन्छन् । जसले गर्दा हामीहरूले ठूलो मानसिक तनाव खेपिरहनु परिरहेको छ । अर्कातिर गाँठवाला र दह्रो मालवाला पाएपछि केटालाई धोका दिएर बोका बनाइदिने केटीहरू पनि छन् । त्यस्तै च्वाँक–च्वाँक अरु केटीहरू भेटेपछि एकछिन अघि गाला चाटेकी मैंयालाई आँखा तर्ने र छोड्ने केटाहरू पनि छन् । यसप्रकारका महाँ पापिष्टहरूलाई कार्बाही गर्ने न नियम छ न त कानुन नै । उनीहरूलाई सजाय दिन राज्यमा प्रेम कानुनको व्यवस्था हाम्रो प्रमुख माग हो । सार्वजनिक ठाउँमा एक अर्कालाई घण्टौंसम्म किस गर्न नपाउँदा मुडनै ठिस भएर कति प्रेमी–प्रेमीकाहरू पीडित भएका छन् । सार्वजनिक ठाउँमा रोमान्स गर्ने अधिकार स्थापना गर्नु हाम्रो महान उद्धेश्य हो । वर्तमान राज्यव्यवस्था हामी प्रेमी–प्रेमिकाको बिरुद्धमा रहेकाले त्यसतर्फ बुलन्द आवाज उठाउनु आवश्यक भइसकेकाले हामी छिट्टै आन्दोलनको तयारीमा छौं । हाम्रो आन्दोलन अरुको जस्तो सडकमा टायर बालेर हैन युगल जोडी अँगालोमा बाँधिदै, चुप्पा खाँदै, कहिले चिमोट्दै, कहिले मुस्कुराउँदै सडकमा नारा घन्काउँदै शान्तिपूर्ण रुपमा हुनेछ । हाम्रो आन्दोलनका प्रमुख मागहरू यसप्रकार रहेका छन् :
– प्रेम अधिकारको सुनिश्चतताको लागि संविधान सभामा कम्तिमा दुई जोडी प्रेमी–प्रेमिकालाई सभासद मा नियुक्त गर ।
– स्कुल कलेजमा लभ सम्बन्धी पाठ्यक्रम लागू गर । साथै लभ युनिभरसिटीको व्यबस्था गर ।
– नेपालको राष्ट्रिय चाड दशैं तिहार नभएर भ्यालेन्टाईन डेलाई घोषणा गर ।
– सार्वजनिक ठाउँहरूमा लभ गर्न पार्कहरूको निर्माण तत्काल गर ।
– पे्रमी–प्रेमिकाहरूको लागि प्रेम कार्डको बितरण गरेर यातायातका साधनहरू एवम् हस्पिटल र पार्कमा ४५ प्रतिशत       डिस्काउन्टको व्यवस्था गर ।

– यदि प्रेमिका गर्भवती भए निःशुल्क एर्भसनको व्यबस्था गर ।

– धोकेबाजहरूलाई कार्बाही गर्न लभ अदालतको व्यबस्था गर ।
– प्रेमी प्रेमिकाको यौन स्वास्थ्य सुरक्षित राख्न प्रत्येक पसल–पसलमा निःशुल्क कण्डम वितरणको व्यबस्था गर ।

हाम्रा यी अत्यन्त जायज मागहरूलाई सरकारले तत्काल सम्बोधन नगरे हामी चुप लागेर बस्नेवाला छैनौं । हाम्रो शान्तिपूर्ण आन्दोलन चरणगत रुपमा एक अर्काको गालामा चुप्पा खाँदै अघि बढ्दै जाने छ । त्यसका लागि तपाई जोडीहरू अँगालोमा बाँधिएर सकेसम्म छोटा र टाईट कपडामा लास्टै सेक्सी देखिने गरी निम्न स्थानहरूमा भेला भैदिन हार्दिक अपिल गर्दछौं ।
आन्दोलन शुरु हुने स्थानहरू :

भृकुटीमण्डप, बालाजु पार्क, गोदावरी र रत्नपार्क ।
समय : बिहान भाले बासेदेखि बेलुका पोथी कर्कराउने बेलासम्म ।

लभ आन्दोलन सफल पारौं
अवरोधवादलाई तुरुन्तै मारौं ।

कामुकराज चुप्पानाथ
अध्यक्ष एवं सर्वोच्च कमान्डर
नेपाल लभनिष्ट पार्टी (मैंयावादी)
केन्द्रीय समिति, नेपाल

(दङ्गालको ब्लगबाट सुटुक्क)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad