साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा सहिदहरूको बृहत् भेला

Nepal Telecom ad

भर्खरै सहिद दिवस मनाइयो । (मनाइँदै छ ।) यताको सहिद दिवसकै अवसरमा उता स्वर्गलोकमा नेपाली सहिदहरूको बृहत् भेला आयोजना गरिएको थियो । प्रारम्भमै भेलाका लागि छनोट भएका प्रतिनिधि र पर्यवेक्षकका विषयमा विवाद भयो । पुराना सहिदहरूले नेपालबाट सहिदका नाममा जथाभावी प्रमाणपत्र बाँडेर पठाएकामा खेद व्यक्त गरे । यसबाट आफूहरू अपहेलित भएको र आफ्नो परचिय हराएकामा उनीहरूले दुःखमनाउ गरे । स्वर्गलोकमा पनि सहिदहरूका पार्टी खुल्ने खतरा बढ्दै गएकामा सहिद लखन थापाले सबैलाई सचेत गराए ।
जिउँदो हुँदा आन्दोलनको कुरा सुन्दैखेरी सुराल बिगार्ने सहिद छेरानन्द भेलाका प्रमुख अतिथि थिए । घरको चर्पीमा लुकेर आन्दोलन हेर्दै गर्दा गोली पड्केको आवाजले तर्सिएर हृदयाघात भई उनी मरेका थिए । उनका छोराहरूले चर्पीको ढोका फोरेर सडकमा लगेर सुताएपछि उनी सहिद भए । पछि छोराहरूबीच क्षतिपूर्ति बापत प्राप्त रकम बाँडफाँटमा कुरा नमिल्दा त्यो रहस्य खुलेको हो । एक जना सहिदले त खुलेरै आफूले छिमेकी महिलासँग अनैतिक सम्बन्ध राखेको थाहा पाएर तिनका लोग्नेले आफूलाई दुई टुक्रा पारेकामा आफ्नो पार्टीले सिंहदरबार घेरेर सहिद घोषणा गर्न लगाएको मन्तव्य राखे । उनका कुराले उत्साहित भएका अरूले राजनीतिक दलहरूमा राम्रो पकड भएकाले सहिदमा दर्ता हुन सफल भएको बताए । एक पैसा जग्गाको विषयमा दाजुलाई मार्न जाइलाग्दा उल्टै दाजुद्वारा मारिएका सहिदले विशेष अतिथिको रूपमा भाषण गरे । भाषण चलिरहँदा सहिद दशरथ चन्द आफ्ना दुवै कान ट्याप्प थुनेर बसेका थिए ।
नेपालमा ‘सहिदसम्बन्धी उच्चस्तरीय कार्यदल’ गठन भएको र त्यसले सहिदको परिभाषा र वर्गीकरण गर्न सुझाव मागेको विषयमा नक्कली सहिदहरू चर्को–चर्को स्वरमा विरोध गर्दै थिए । भेलामा उपस्थित चित्र–विचित्रका सहिदहरूको हूलमा गंगालाल, धर्मभक्त, शुक्रराज, रत्न वान्तवा, कृष्णसेन, सरोज कोइरालालगायतका सहिदहरू अँध्यारो कुनाबाट वाल्ल परेर मञ्चतिर हेररिहेका देखिन्थे ।
नेपालबाट भेला सफलताका लागि थुप्रै शुभकामना सन्देशहरू आएका थिए । आयोजकले प्रधानमन्त्रीको शुभकामना पढ्न लाग्दा क्रान्तिकारी युवा सहिदहरूले सबैभन्दा ठूला नेताको सन्देश सबैभन्दा पहिला सुनाउनुपर्ने कुरा उठाए । कुन नेता ठूलो भन्ने विवाद चर्को हुँदै गर्दा शान्तिपूर्ण रूपमा पेस्तोल देखाएर उनीहरूले सबैलाई सहमत गराएपछि प्रारम्भमा कमरेड प्रचण्डको सन्देश पढियो । प्रचण्डको सन्देशको सार यस्तो थियो :
‘तपाईंहरूले ऊ बेला ज्यान दिएर वा लिएर हामीलाई सत्तामा पुर्याएको हुँदा हामी पनि तपाईंहरूका सपना साकार पार्न ध्यान दिएर लागिपरेका छौँ । तर, सिपाहीहरू, स्वदेशी तथा विदेशी प्रभुहरू, दलालहरू, विषवृक्षहरू र बुख्याँचाहरूले तपाईंहरूका सपना साकार पार्न दिइरहेका छैनन् । हुँदाहुँदा पार्टीभित्रैका भारतपरस्त नेता बाबुराम र मोहन वैद्यहरूसमेत हामीसँग भएका तपाईंहरूका सपना खोस्न खोज्दैछन् । नत्र हामी तपाईंहरूका सपना उहिल्यै पूरा गरिसक्थ्यौँ । अन्तमा, तपार्इंहरू यथास्थितिवादी, प्रतिक्रियावादी र विदेशी दलाल सहिदहरूलाई भेलाबाट लखेट्न सफल हुनुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।’
त्यसपछि गिरिजाप्रसाद कोइरालाको सन्देश पढ्नैलाग्दा युथ समूहका सहिदहरूले लाठीमुङ्ग्रीसहित मञ्च कब्जा गरेर माधव नेपालको सन्देश पढ्न लगाए । नेपालको सन्देशको सार यस्तो थियो ः
‘म रातभरि बालुवाटारमा बसेर, दिनभरि सिंहदरबारमा पसेर धमाधम तपाईंहरूका सपना साकार पारिरहेको छु । निर्वाचनमा जतिसुकै ठाउँबाट हारे पनि देशी–विदेशी प्रभुहरूको कृपाले तपाईंहरूका सपना साकार पार्ने कुरामा म हारेको छैन । म तपाईंहरूका शतप्रतिशत सपना साकार पार्न चाहन्छु तर माओवादी पार्टीलगायत आफ्नै पार्टीभित्रका वामदेव, झलनाथ कमरेडहरूले बारम्बार व्यवधान खडा गर्नाले सपना साकार पार्न मुस्किल परिरहेको छ । अन्तमा, यता पनि ठिक्क, उता पनि ठिक्क पार्ने पीपलपाते नेतृत्व चयन गरी जसरीतसरी बृहत् भेला सफल पार्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।’
होहल्लाले कोइरालाको सन्देश राम्ररी सुन्न सकिएन । भेलाको सफलताका लागि एकीकृत नेकपा बाबुराम समूह, नेकपा एमाले खड्ग ओली समूह, एमाले झलनाथ–वामदेव संयुक्त प्यानल, नेपाली काङ्ग्रेस सुजाता गुट, शेरबहादुर समूह आदि विभिन्न दल, दलभित्रका दलदल, दलभित्रका गुट, गुुटभित्रका उपगुटहरूका तर्फबाट भिन्नाभिन्नै सन्देशहरू प्राप्त भएका थिए । काङ्ग्रेस पार्टीका तर्फबाट सुजाताले पठाएको सन्देशमा शेरबहादुर, सुशील र रामचन्द्र पौडेललगायत काङ्ग्रेसका प्रायः सबै पुराना नेताहरू सहिदका सपना साकार पार्ने बाटोमा बाधक रहेको कुरा उल्लेख थियो । खड्ग ओलीको सन्देशमा झलनाथ र वामदेवहरू सहिदका सपना साकार पार्न तगारोको रूपमा रहेको कुरा उल्लेख थियो । झलनाथको सन्देशमा सहिदका सपना साकार नहुनुमा मुख्य कारक ओली र माधव नेपाल रहेको उल्लेख थियो । शेरबहादुरको सन्देशमा सहिदका सपना साकार पार्नमा मुख्य बाधक गिरिजाप्रसाद रहेको बताइएको थियो । त्यसैगरी अरू–अरू विभिन्न नेताहरूले अरू विभिन्न नेताहरूका कारण सहिदका सपना पूरा गर्न नसकिएकामा अरू पार्टी र आफ्नै पार्टीका विरोधी गुटका नेताहरूको खोइरो खनिएका सन्देशहरू पठाएका थिए ।
यसरी स्वर्गलोकमा प्राप्त सबै सन्देशहरूको एउटै निष्कर्ष थियो : सहिदहरूका सपना साकार पार्नमा बाधा पुर्याउने अरू कोही नभएर गिरिजाप्रसाद, प्रचण्ड, झलनाथ, बाबुराम, माधव नेपाल, सुजाता, रामचन्द्र, शेरबहादुर, सुशील, वामदेव, नारायणकाजी, खड्ग ओलीलगायतका सबै दलका सबै मुख्य–मुख्य नेताहरू नै हुन् । जुन कुरा उनीहरू आफँैले स्वीकार गरेका छन् । भेलाले यस्तो निष्कर्ष निकालेपछि सम्पूर्ण सहिदहरू एकजुट भएर नेपाली नेताहरू विरुद्ध नारा लगाउन थाले । नारा–जुलुसको चर्को आवाजले म झसङ्ग भएर ब्यूँझिएँ र सम्झिएँ, हाम्रा प्रिय नेताहरू यस्तो सपना देख्छन् कि देख्दैनन् होला ।

फित्कौलीको टिप्पणी : गामनागेले यो खराब सपना देखेको पनि २ वर्ष नाघिसक्यो ।
‘नेपाल’ साप्ताहिकबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x