अशोककुमार शिवाविभेद गर्न चाहीं पाईन्न नि !
यो दुनियाँमा भेदहरू गर्न नपाइने भन्ने व्यवस्था छ । जातिभेद, लिङ्गभेद, रङ्गभेद, भाषाभेद वा धर्मभेद कुनै भेद गर्न पाइन्न । जसले भेद गर्छ उ कानुनको नून खानेमा पर्छ । २, ४ महिना देखि हाम्रो देशमा कालो र गोरोको भेद जताततैबाट गरिँदैछ । कालोबजारी भनेर बजारको भेद गर्ने काम भइरहेको छ । कालो धन जम्मा गर्ने काम बढेको छ भनिन्छ । यस्तो भेद गर्नेहरूलाई कानुनको नून चटाउनु पर्ने हैन ? कि हाम्रो देशमा सरकार छैन ? बजार बजारै हो धन धनै हो । किन भेद ? ठूला खुलेआम, साना कुलेलम । ग्यास बजार कालो भो रे । पेट्रोलियम पदार्थैै कालो भो रे । मानिसहरू दिन दुई गुणा रात चार गुणा कालो सम्पत्तीवाल भए रे । यसरी विभेद गर्नु राम्रो होइन । जसरी होस् धन कमाऊ । देशलाई सम्बृद्ध बनाऊ ।
नाकाबन्दी गर्नेले कदाचित नराम्रो गर्या छ भन्न मिल्ने अवस्था छैन । अब किन भन्नु होला । जनताले दिनरात रोजगारी पाएका छन् । कोही ग्यालेन बोकेर त कोही सिलिण्डर बोकेर हिड्न पाएका छन् । सेताबजारीहरू सिलिण्डर लिएर ग्यास लाइनमा हुन्छन् । भेहिकल लिएर पेट्रोलियमको लाईनमा लागेका हुन्छन् । बाटैमा सुत्छन । दिनभरी धुलोमैलो भएका हुन्छन् ।
ती कालाबजारी भनिएकाहरू क्या सफा । न धुलो न धुँवा आनन्दले ओछ्यानमा स्वाँ स्वाँ । बरु त कालाबजारीलाई बढावा दिनु प¥यो नि, रुपैयाँ अलिक बढी तिर्नुपर्ने त हो । सबै जनलाई क्रयशक्तिवान बनाउनु पो प¥यो त बरु, सरकार के हेर्छ? चाहिने काम छैन । काला काला भन्छन देख्नुछैन कालाको चाला । आन्दोलन ग¥या झै गरेर जनता ढाँट्याछन् । नाकाबन्दी गर्न ससुरालीलाई पनि सघाएकै छन् । सघाए बापत टन्न पेट अघाएकै छन । टाठाबाठा र ठूलाबडाकोमा आवश्यक सबै पुगेकै छ । नपाउने र नअघाउने त सर्बसाधारण जनता न हुन् । तिनको कसले गरोस् वास्ता । जनताको वास्ता गर्न थाल्योभने त गयो गोलखाडी ।
ग्याँसका बुलेट हुन वा पेट्रोल ट्याङ्कर आएका आएकै छन् । सेतोबजार अलिअलि कालोबजार बढी चल्या छन । अब भने देशले कोल्टो फेर्ला जस्तो छ । पहिला सेतो भारी हुन्थ्यो । अब कालो भारी भाछ अनि फेर्दैन त कोल्टे । कोल्टे फेर्नै सकेन भने पनि मुन्द्रे र जगल्टेहरूले झुण्डिएरै भए पनि कोल्टे फेराई छाड्छन् । तर विभेद गर्न भने चाहिं पाइन्न नि फेरि ।
जयहोस कालाबजारीको ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































