सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आत्मनिर्भरतातिरको यात्रा !

Nepal Telecom ad

भारतीय नाकाबन्दीले हामीलाई आत्मनिर्भरतातर्फ तीव्र गतिमा अघि बढ्न आँखा खोलिदिएको छ । हामी अघि बढ्न थाली पनि सकेका छौँ । नाकाबन्दी लागेको थाहा पाएका दिनदेखि हामी निरन्तर नाक बजाइरहेका छौँ । नाक बजाउनमा हामी पहिल्यैदेखि आत्मनिर्भर छौँ । हामीले दिल्ली गएर नाक बजायौँ, बेइजिङ गएर बजायौँ, संयुक्त राष्ट्र संघमा बजायौँ । सामाजिक सञ्जालमा त कति बजायौँ कति ! नाकाबन्दीका विरुद्ध भाषण, लेखरचना, टीका–टिप्पणी, अन्तर्वार्ता, कवि गोष्ठी, नाराजुलुस, मानव साङ्लो, अनेक गरेर हामी भारतसँगको परनिर्भरताबाट मुक्त हुँदै गएका छौँ ।

यसैबीचमा चीनसँग सम्झौता गर्न खोज्यौँ, बंगलादेशसँग व्यापार गर्न खोज्यौँ । पटक–पटक उत्तरतिरका नाका हेर्न गयौँ । गाडीको मात्र होइन, रेलकै बाटोको खाका कोर्न खोज्यौँ । १०–१२ ट्रक पेट्रोल चीनबाट ल्याएर मोदीलाई हाम्रो पाइन देखायौँ । आधा सिलिन्डर ग्यास र तीन लिटर मट्टीतेलका लागि तीन दिन तीन रात लाइन बसेर हामीले हाम्रो धीरता पनि प्रदर्शन गरिसक्यौँ । एक सय रुपियाँ पर्ने पेट्रोललाई पाँच सय तिर्न सक्ने भयौँ । घरघरमा इन्डक्सन चुलो पनि भित्र्याइसक्यौँ । हामी आत्मनिर्भरतातर्फ धेरै अघि बढिसक्यौँ ।

उहिलेका ऊर्जामन्त्रीहरू दुई वर्ष, तीन वर्ष वा पाँच वर्षमा देशबाट लोडसेडिङ हटाइसक्ने धम्की दिन्थे । अहिले त प्रधानमन्त्री स्वयंले, त्यो पनि एकै वर्षमा लोडसेडिङ समाप्त पार्ने भनिसकेपछि ओलीजीको सरकार बाँचुन्जेल हामी उज्यालोमा आत्मनिर्भर हुने पक्का भयो । संसारको जुन कुनाबाट भए पनि इन्धन ल्याएर देशलाई आत्मनिर्भर बनाउन दौडधुप गर्दा गर्दै तेलमन्त्री पसिनै पसिना भइसके । उनी मातहत कर्मचारीका टोलीहरू तेलमा आत्मनिर्भर हुन चीन, बंगलादेश, सिंगापुर वा हङकङतिरका आकाशमा फनफनी घुमिरहेका छन् । दुई वर्षमा कृषि क्रान्ति गरेर मुलुकलाई आत्मनिर्भर बनाउने मात्र होइन, दुई वर्ष पुगेको भोलिपल्टदेखि कृषि उत्पादन निर्यात नै हुने उद्घोष कृषिमन्त्रीले गरिसके ।

सिँचाइमन्त्रीले साइकल चढेको फोटो खिचाएर आत्मनिर्भर हुन जनतालाई पाठ सिकाए । उनले ‘हेल्लो सिँचाइमन्त्री’ भन्ने डेस्क नै थापेर जनतालाई सिँचाइमा आत्मनिर्भर बनाउँदै छन् । उडानमन्त्रीले वायु सेवा निगममा कुन्नि कतिवटा जहाज थपेर संसारैभरि हाम्रो राष्ट्रिय ध्वजावाहकलाई र्पुयाउने भएका छन् । परराष्ट्रमन्त्री आत्मनिर्भर हुन सघाउनुर्पयो भन्दै नयाँ दिल्ली धाएको धाई छन् । राज्य नै यसरी खनिएपछि मुलुक आत्मनिर्भर नहुन सम्भव छ ?

बन्द, हडताल, चक्काजाम, आगजनी, तोडफोड, हत्या, हिंसा इत्यादि कर्ममा हामी उहिल्यैदेखि आत्मनिर्भर छँदैछौँ । यसैबीचमा हामीले आत्मनिर्भर हुन विदेशबाट आयात गरेका सयौँ गाडीहरू जलायौँ । मोटरसाइकलहरू डढायौँ । भारतबाट लुकाइछिपाइ ल्याएको पेट्रोल बालेर आगो ताप्यौँ । हुँदा हुँदा दुई–चार लिटर पेट्रोलमा परनिर्भर हुन खोज्ने कति जना परजीवीहरूलाई पेट्रोल छर्केर जिउँदै आगो पनि लगायौँ । हामी राजमार्गका पुलहरूलाई बमले उडाएर भए पनि आत्मनिर्भर भइछाड्न दृढ छौँ ।

चार महिनासम्म बन्द, हडताल र नाकाबन्दी हुँदा पनि हामी एक जना नेपाली भोकले मरेका छैनौँ । हामी धेरै नै आत्मनिर्भर भइसकेका छौँ । नाकाबन्दी हटेर भारतबाट तेल, ग्यास, लसुन, प्याज, गोलभेडा, धान, चामल धमाधम आउन थालेपछि अलिअलि बाँकी रहेको परनिर्भरता पनि हटाएर हामी पूर्ण आत्मनिर्भर हुनेछौँ । अब हामीलाई आत्मनिर्भर हुनबाट कसैले रोक्न सक्ने छैन । हामीले अब चेतिसकेका छौँ ।

नेपाल, मङ्सिर २४, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे