प्रेम ओली ढकलपुरेतिघ्रे माइलाहरू
हलो पनि बोक्छ
कोदालो पनि बोक्छ
सुख्खा परेको भए पनि
झरी गरेको भए पनि
तिघ्रे माइलोले सधैं फरुवा ठोक्छ
तर फल्दैन खेतमा धान
त्येसैले पारीबाटै बेसाह किनेर भए पनि
धानको बोरा बोक्छ ।
विकासे भन्छ नयाँ धान हाल्दैन
लोकल भन्छ पुरानो धान फाल्दैन
घुमाइ फिराइ
उही पुरानै तरिकाले खेती गर्छ
यसपाली फल्छ कि भने पनि
तर धान फल्दै फल्दैन
यसपाली पनि पारी नगई
तिघ्रे माइलाको घर चल्दैन ।
उसले आफूलाई ठुलै कृषक ठान्छ
जति खेती गरे पनि पारीबाट बेसाएर खान्छ
दुई चार हल गुरु नार्छ दुई चार गरा फार्छ
दुई चार बोरा मल र बिऊ पनि झार्छ
हलो पनि चलाउँछ ट्याक्टर पनि चलाउँछ
के के नै गर्न लाग्यो सबलाई पार्छ
फेरि धान नफलेपछि बोरा बोक्छ
र पारिकै किसानलाई ढोक्छ
आफ्नो बारीमा पान नफले पनि
आफ्नो खेतमा धान नढले पनि
पारिकै किसानको धान देखेर दङ्ग छ
ऋण लागोस् कि दिन लागोस्
उसलाई पारिकै धान बोक्न रङ्ग छ ।
आज भोलि त झन
कृषि प्रधानका माइलाहरू
आफ्नो देशमा धान फलाउन छाडी
पारिकै धान काट्न ब्यस्त छन्
यता धान फलोस् कि न फलोस्
पारिकै धान काट्नेमा मस्त छन् ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































