उत्तमकृष्ण मजगैयाँसहर र मान्छे !
सारा सहर देखिन्छ आगलागी भएसरि
जता हेर उतै धूवाँ ढाकिएको छ बेसरी !
प्रदूषित नदी(नाला बगेरै ढल फोहर
दुर्गन्ध मलको थुप्रो गल्ली – चोक सबैतिर !
(१)
जसरी छोपिएको छ माटो कंक्रिटले यहाँ
मोटो खोल नओढेको मन त्यो पाउने कहाँ ?
प्रकृति धेर नै टाढा कृत्रिम जिन्दगी यहाँ
सधैँ शुष्क यहाँ मान्छे झुटो छ समवेदना !
(२)
ठूलो संघर्ष आस्था र अनास्थाबिचमा चली
ओठमा सिर्जिएको छ क्षीण मुस्कान नक्कली
शुद्ध त्यो मनको भाव पैसामा आज साटियो
भोको उदरका लागि खुलेरै लाज बाँडियो !
(३)
स्नेहको मूल सुक्तैछ छैन भाषा मिठासको
मात्र कागतका पुष्प कहाँ वास सुवासको ?
रङ्गिन काग नै धेरै मयूर असली कहाँ ?
हर्ष, बिस्मात औ सिंगै जिन्दगी नक्कली यहाँ !
(४)
तिम्रा सहरका केही बाध्यता छन् भने पनि
कुण्ठा र स्थितिले मान्छे बेसरी थिचिए पनि
जसरी पहरा फोडी निस्कन्छ भित्रको जल
खोज्दै छु मनमा तिम्रो रस मिल्छ कि निर्मल ?
(५)
‘तिमी नरहे देश डुब्न्या छ’ कवितासङ्ग्रहमा २०५६
Subscribe
Login
0 Comments
Oldest






































