लक्ष्मण गाम्नागेबिरामी विज्ञप्ति
डाक्टरहरूको सशक्त हडतालपछि सरकारले घुँडा टेकेर शिक्षण अस्पताल, महाराजगन्जका प्रा डा गोविन्द केसीलाई जुस खुवाएको एक सातापछि हामी सम्पूर्ण बिचरा बिरामी नेपालीको गम्भीर ध्यानाकर्षण भएको छ। त्यस बेला हाम्रो ध्यान आफ्नै ज्यानतिर आकषिर्त थियो। हामी ऐया र आत्था गर्दै अस्पतालका चौरमा लडिरहेका थियौँ। चिसा भुइँमा पछाररिहेका थियौँ। होटलका कोठामा हिरकि हिरकि गर्दै थियौँ। डोकामा डल्लो परेर बसेका थियौँ। रुँदै र आत्तिँदै यो अस्पताल र त्यो अस्पताल चहार्दै थियौँ। यिनै कारणले गर्दा तपाइर्ंहरूको त्यत्रो ठूलो र सफल हडताल कार्यक्रमप्रति हाम्रो ढिलो ध्यानाकर्षण भयो, त्यसका लागि यसै बिरामी विज्ञप्तिमार्फत क्षमायाचना गर्छौं।
तपाईं डाक्टर सा\’बहरूले बिरामी जाँच्न छाडेर सडकमा शिक्षामन्त्री कि कुन्नि कसको पुतला जलाइरहेका बेला हामी बिरामीहरूले सक्रियतापूर्वक तपाईंहरूलाई साथ दिन सकेनौँ। त्यसका लागि हामी तमाम टाउको फुटेका, खुट्टो भाँचिएका, आँखाको नानीमा प्वाल परेका, घुँडो फुक्लिएका, दमले हिरकि हिरकि भएका, हैजाले पिरकि पिरकि भएका, मेरुदण्डले ठाउँ छाडेका, घाँटीमा खानेकुरा अड्किएका, अनुहारमा ग्यास सिलिन्डर पड्किएका, आन्द्रा उदि्रएका, हृदयघातले लडेका इत्यादि सम्पूर्ण बिरामी अत्यन्त दुःखी छौँ। तपाईंहरूको यो आन्दोलनमा विघ्नबाधा होला र मुलुकमा फेर िमाफियाहरू हावी होलान् भनेर हामीले दाह्रा किटेर पीडा सह्यौँ। यदि हामीमध्ये कोही कसैले ऐया-आत्था गरेर रोए-कराएको वा चिच्याएको भए बेहोसीमा त्यस्तो भएको भन्ठानिदिनुहोला।
हामी तमाम नेपाली मधौरुहरूले प्रा डा गोविन्द केसीको ज्यान, प्रा डा हीराबहादुर महर्जनको आत्मसम्मान, प्रा डा शशि शर्माको पद, चिकित्सक संघका प्रा डाहरूको राजनीति, मन्त्रिपरिषद सम्माननीय अध्यक्षज्यूको आदेश, माननीय शिक्षामन्त्रीज्यूको निर्देशनजस्ता संवेदनशील विषयमाथि सचेत हुँदै सबै मान्यजनको प्रतिष्ठामा आघात नहोस् भनेर हडतालको अवधिभर शान्ति कायम राख्यौँ। यति गहिरो शान्ति कि यस अवधिमा हामी कतिपयले उपचार नपाई स्वर्गको बाटो समात्यौँ। कतिपय तुलसाको मोठमा ओछ्यान लगायौँ। तर, हडतालमा कुनै बाधा पुग्न दिएनौँ। बरू हामीले यो हडताल कार्यक्रमबाट धेरै महत्त्वपूर्ण शिक्षा आर्जन गर्यौँ। माफियाहरूलाई तह लगाउने, भ्रष्टहरूलाई सिध्याउने, ठूल्ठूला पदाधिकारीलाई पछार्ने र सरकारलाई घुँडा टेकाउने एक मात्र काइदा हडताल नै हो भन्ने हामीले बुझ्यौँ। डाक्टर सा\’बहरूको हडतालको सफलताबाट अब दमकल सेवाका कर्मचारीले, एम्बुलेन्सका ड्राइभरहरूले, दैवीप्रकोप उद्धारकहरूले, रेडक्रसका स्वयंसेवकहरूले, प्रहरी वा सैनिकहरूले पनि यही तरकिा अपनाउने प्रेरणा प्राप्त भएको हुनुपर्छ भन्ने हामी बिरामीलाई लागेको छ। केही राजनीतिक दलले मात्र होइन, केही ट्रेड युनियनले समेत आमहडताल वा बन्दका कार्यक्रम नगर्ने भनेर गरेका प्रतिबद्धता तुरुन्त फिर्ता लिएर हडताल, तोडफोड, आगजनी, पुतलादहन इत्यादि नै सबै समस्या समाधान हुन् भनेर आ-आफ्ना विधान एवं घोषणापत्रमा लेखून् भन्ने हामी बिरामीहरू आह्वान पनि गर्छौं। यसै अवसरमा हामी र हाम्रा आफन्तहरूबाट विगतमा भएका र भविष्यमा हुने अस्पताल तोडफोड अभियानप्रति गौरवको अनुभव पनि गर्छौं।
अन्त्यमा, पटक-पटकको अनशनबाट शिथिल भएका डा गोविन्द केसी राम्ररी तंगि्रन थाल्दा नथाल्दै हाम्रो त्रिविविले शिक्षण अस्पतालमा अर्को कुनै शर्मालाई डिनमा नियुक्त गरहिालोस्। नयाँ नयाँ मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्न थालिहालून्। अनशनको नयाँ शृंखला प्रारम्भ भइहालोस्। डाक्टरहरू पुल्ठो बोकेर टुँडिखेलमा जम्मा हुन थालिहालून्। हामी सम्पूर्ण नेपाली बिरामीले यस्ता रमिता पटक-पटक हेररिहन पाऔँ। सबैको जय होस्। सबैको विजय होस्।
\’नेपाल साप्ताहिक\’बाट
Subscribe
Login
0 Comments
Oldest






































